ब्याज बारे राष्ट्र बैंकको नयाँ निर्देशन: आधार दरमा प्रिमियम थपेर ऋण, स्प्रेड ५% नाघ्न नपाइने




काठमाडौं। नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याज दरमा ठूलावढाकै पक्षमा निर्णय लिएको छ। राष्ट्र बैंकले संस्थागत मुद्दति निक्षेपमा प्रकाशित ब्याज दर लागू नहुने ब्यवस्था गरेको छ।
 
'बोलकबोल (बिडिङ) को आधारमा संकलन हुने संस्थागत मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याज दरको व्यवस्था लागू हुने छैन' राष्ट्र बैंकको निर्देशनमा भनिएको छ। बोलकबोल गरेर पैसा राख्ने क्षमता ठूलावडा संस्थाहरुसँग हुन्छ। सर्वसाधारणले भने प्रकाशित ब्याज दरमै चित्त बुझाउनु पर्छ।
 
कल डिपोजिटको ब्याज दर साधारण बचत खाता (न्यूनतम ब्याज दर बराबर) जति नै हुने ब्यवस्था गरिए पनि अन्य निक्षेपको हकमा भने प्रकाशितभन्दा ०.५  प्रतिशत बिन्दु बढिसम्म ब्याज दिन पाइन्छ। पैसा हुनेले वार्गेनिङ गरे मात्र यो ब्याज पाउँछन्।
 
ग्राहकले चाहेको समयमा जहिले पनि झिक्न पाउने गरी मुद्दति खातामा पैसा राख्न नपाउने व्यवस्था गरिएको छ। 
 
ऋणको ब्याज दर निर्धारण आधार दरका आधारमा गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। पुनरतालिकीकरण वा पुनर्संरचना गरिने कर्जाको ब्याज दरसमेत आधार दरलाई आधार मानेर निर्धारण गर्नु पर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको हो।
 
आधार दरमा प्रिमियम दर थपेर ब्याज दर निर्धारण हुने छ। तर कति प्रिमियम थपिएको हो त्यो भने स्पष्ट खुलाउनु पर्छ। 
 
आधार दर जतिले परिवर्तन हुन्छ त्यही बराबरले मात्र कर्जाको ब्याज दर समायोजना गर्नु पर्ने हुन्छ। ब्याज दर अब त्रैमासिक रुपमा मात्र समायोजन गर्न पाइन्छ। 
 
कर्जाको प्रकार र भुक्तानी अवधिका आधारमा छुट्टाछुट्टै प्रिमियम दर तय गर्न बैंकलाई स्वतन्त्र छाडिएको छ। ऋण दिँदा आधार दरमा थप हुने प्रिमियम दरका बारेमा निर्णय गरी त्यो दर ऋणलाई अफ लेटरमा स्पष्ट खुलाइ दिनु पर्छ। प्रिमियम दर जुन बेला ऋण दिइएको हो त्यो बेला कायम दरलाई नै पछिसम्म निरन्तरता दिनु पर्छ। पछि प्रिमियम दर बढाउन पाइँदैन।
 
अब ब्याज बढाउँदा ऋणीसँग पूर्व स्वीकृति नै लिनु पर्छ। तर ऋणीले समयमा साँवा ब्याज नतिरेको, उद्देश्य अनुसार ऋणको प्रयोग नगरेको, धितो सम्पति हानी नोक्शानी पुर्याएको अवस्थामा भने जरिवाना तिराउन बैंकहरु स्वतन्त्र हुने छन्।
 
ऋणीले लिने थप कर्जा वा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने नयाँ कर्जाको हकमा नयाँ प्रकाशित प्रिमियम दर लागू हुने छ।
 
प्रिमियम उल्लेख नभएको पुरानो कर्जाको हकमा अफर लेटरमा तोकिएको ब्याज दर र कर्जा प्रवाह गर्दा कायम रकेको आधार दर बीचको अन्तर नै प्रिमियम दर हुने छ। तर ऋणीसँग बैंकहरुले प्रिमियम दर कायम गर्न छुट्टै सम्झौता भने गर्न सक्ने छन्।
 
राष्ट्र बैंकले ब्याज दरलाई स्प्रेड दरसँग समायोजन गर्न खोजेको छ। अहिले ब्याजको स्प्रेड दर पाँच प्रतिशत तोकिएको छ। बैंकहरुले आधार दरभन्दा तल गएर भने ऋण दिन पाउँदैनन्।
 
फागुनसम्म बैंकहरुको औषत आधार दर ८.३ प्रतिशत छ। बैंकहरुको कस्ट अफ फण्ड करिव ५ प्रतिशत छ। यो हिसावले उनीहरुको स्प्रेडमा बाँधिँदा अधिकतम ब्याज १० प्रतिशतभन्दा माथि जान पाउँदैनन्।

Share this Story

   

ब्याज बारे राष्ट्र बैंकको नयाँ निर्देशन: आधार दरमा प्रिमियम थपेर ऋण, स्प्रेड ५% नाघ्न नपाइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.