चिया टिप्न कामदार पार्इदैन, उचित पारिश्रमिक नपाएपछि चिया पत्ती टिप्ने कामदार लागे विदेश

रासस
२०७४ बैशाख ३० गते १५:५८ | May 13, 2017
चिया टिप्न कामदार पार्इदैन, उचित पारिश्रमिक नपाएपछि चिया पत्ती टिप्ने कामदार लागे विदेश
लाम। पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना (हरियो पत्ती) टिप्छिन्। करिब ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैं खट्नुपर्ने उनको बाध्यता छ।

Tata
GBIME
Nepal Life


कन्यामकी गुडिया आले एक दशकअघि गाउँबाट लर्को लागेर सीमापारी मिरिक क्षेत्रका चिया बगानमा काम गर्न गएको अझै सम्झिन्छिन्। । तर पछिल्लो समय चिया बगानमा काम गर्ने मान्छे भेटिन छाडेका छन् ।
 
चियामा मात्रै होइन अन्य खेतीबारीमा पनि कामदारको अभाव छ । उचित  पारिश्रमिक नपाएपछि मजदुरले चियाको पत्ती टिप्न छाडेका हुन् । बढ्दो चिया बगान र वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढ्दा कृषि क्षेत्रमा काम गर्ने श्रमिक पाउन छाडेको छ । 
 
जिल्लाका पूर्वी भेगमा घर/घरमा चिया बगान हुनथालेपछि श्रमिकको अभाव भएको छ । “बस्ने, खाने सबै व्यवस्था गरेर समेत मजदुर पाउन सकेको छैन,” कन्यामका काजीमान कागतेले भने – “बगान थपिदै गएपनि काम गर्ने जनशक्ति घटेको छ ।”
 
चिया रोप्नेदेखि टिप्ने र काँटछाटका लागि पर्याप्त जनशक्ति आवश्यक हुन्छ । वैशाखयता जिल्लामा दैनिक एक लाख किलो हरियो चियापत्ती उत्पादन भइरहेको छ । चिया किसानले यतिबेला आकर्षक पारिश्रमिकसहित कामदार खोजिरहेका छन् । अन्तुका इन्द्रबहादुर दर्लामी आफ्नै बगानमा दिनभर पत्ती टिप्नुहुन्छ । “चिया टिप्ने मजदुर खोज्दा कोही पाइँदैन्,” उनले भने।
 
मजदुर अभावका कारण कतिपय बगानमा हरियोपत्ती हुर्किएर जान थालेको छ । केन्द्रीय चिया सहकारी सङ्घका अनुसार अहिले जिल्लामा साना ठूला गरी ३० हजारको हाराहारीमा चिया किसान छन् । निजी बगानमा मात्र होइन नेपाल चिया विकास निगमअन्तर्गतका बगानमा पनि चिया श्रमिकको सङ्ख्या घट्दो छ । 
 
त्रिचालीस लाख राजस्व सङ्कलन
 
जिल्ला ट्राफिक कार्यालयले चालु आवको नौ महिनामा सवारी नियम उल्लङ्घन गर्ने सवारीचालकबाट रु ४३ लाख राजस्व सङ्कलन गरेको छ ।
 
ट्राफिक प्रमुख पदमबहादुर राईका अनुसार मोटरसाइकलबाट रु १५ लाख तीन हजार, जिप तथा भ्यानबाट रु १४ लाख ३४ हजार, ट्रकबाट रु आठ लाख ५० हजार, ट्रयाक्टरबाट रु तीन लाख तथा बसबाट रु एक लाख ५३ हजार राजस्व सङ्कलन गरेको हो ।

ट्राफिक प्रहरीले सात हजार ७०० वटा सवारीसाधनका चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । गत आवमा ट्राफिक कार्यालयले रु ५१ लाख ७० हजार राजस्व सङ्कलन गरेको छ ।