महानगर मेयरको उधारो रेल सपना- डिपिआर गर्नै दुई वर्ष लाग्ने देशमा कसरी कुद्ला तीन बर्षमा रेल?

बिजमाण्डू
२०७४ बैशाख २२ गते १९:२२ | May 5, 2017
महानगर मेयरको उधारो रेल सपना- डिपिआर गर्नै दुई वर्ष लाग्ने देशमा कसरी कुद्ला तीन बर्षमा रेल?


काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले ३ वर्षमा मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेका छन्।
नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार राजुराज जोशीले पनि ५ वर्ष भित्र मेट्रो रेल चलाउने घोषणा गरेका छन्।
 
विवेकशिल पार्टीबाट मेयरकी उम्मेदवार बनेकी रञ्जु दर्शनाले पनि ढिलो चाँडो मेट्रो रेलको सपना देखेकी छिन् तर समय भने तोकेकी छैनन्। 
 
यसरी रेल सपना देखाउनेहरुमा साना ठूला सबै राजनीतिक दलका उम्मेदवारहरु छन्। सामान्य कुरा पनि नबुझेरै ‘३ वर्षमा मेट्रो रेल’ भन्दै सपना बाँढेका उम्मेद्वारले हाम्रो देशको व्यवस्था अनुसार दुई वर्ष अघि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत बनाउन नसकिने यथार्थ समेत मतलव गरेनन्।

Tata
GBIME
Nepal Life


 

नेपालमा छ महिना कन्सल्ट्यान्ट नियुक्त गर्न र डेढ वर्ष डिपिआर गर्न समय लाग्ने रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायले बताए।
 
हचुवाको तालमा रेल सपना देखाएको भन्दै विज्ञले समेत उम्मेद्वारहरुलाई व्यंग्य गरेका छन्। ‘विश्वमै समय र लागत दुवैमा अगाडीनै काम सकेको दिल्ली मेट्रोको पनि पहिलो लाईन तयार पार्न सम्भाव्यता अध्ययन सुरुगरेको मितिले ७ वर्ष लागेको थियो, पूर्वाधार विज्ञ सुर्यराज आचार्यले भने- नेपालमा तीन बर्षमा रेल कुदाउने भन्दा कसरी पत्याउनु!’ 
 
१९९५ मा अध्ययन सुरु गरेको दिल्ली मेट्रोले २००२ मा पहिलो लाईन अन्तरगत ६५ किलोमिटर रेल सञ्चालन गरेको थियो। ‘विश्वका कुनै पनि देशमा मेट्रो रेल नत अनुमानित बजेटमा बनेका छन्, नत अनुमानित समयमानै सकिएका छन्। दिल्ली मेट्रो मात्र अपवाद हो, उनले भने- यदि दिल्ली मेट्रोको जसरीनै काम गर्ने ठेकेदार कम्पनी पाईयो भने पनि नेपालमा २०८०/०८२ साल भन्दा अघि मेट्रो रेलको सम्भावना छैन।'
 
मेट्रो रेल बनाउने एजेण्डा मेयर नभइ सरकारकै हुनुपर्ने उनको भनाइ छ। ‘मेयरले त पहलकदमी मात्र गर्ने हो, विश्वमा कहि पनि सम्भव नभएको कुरा नेपालमा कसरी सम्भव हुन्छ? उनको प्रश्न छ- तीन वर्षमा मेट्रोरेल बनाउने घोषणा गरेर चुनावमा जानु भनेको गैर जिम्मेवार अभिव्यक्ती मात्र हो।’ राजनीतिक प्रतिवद्धता र प्राविधिक शक्ती नभएको देशमा तीन वा पाँच वर्षमा मेट्रो चलाउँछु भन्नु सरासर जनता झुक्याउनु अभिव्यक्ति रहेको उनको भनाइ छ। 
 
भारतको दिल्लीमा लक्ष अनुरुप काम भए पनि अरु शहरमा मेट्रो निर्माणमा धेरै ढिला भएको दृष्टान्त आचार्यसँग छन्। सन् १९८० मा पाँच बर्ष भित्र सक्ने लक्ष साथ कलकत्ता मेट्रो रेल आयोजना सुरु भएको थियो। तर, आयोजनाको काम हुन २० वर्ष समय लाग्यो। लागत पनि ५ गुणा धेरै लागेको थियो। 
 
मेट्रो रेल निर्माण सबैभन्दा जटिल पुर्वाधार विकासमा पर्छ। नेपाल जस्तो भूगोल भएको देशमा यो अझ कठिन हुने विज्ञको भनाइ छ। ‘डिपिआर तयार भइ सकेको अवस्थामा कुनै उम्मेद्वारले तीन या पाँच बर्षमा मेट्रोरेल बनाउने सपना देखाएको भए पत्याउने आधार हुन्थ्यो’ उनी भन्छन्।
 
कति खर्च लाग्छ मेट्रो रेल चलाउन?
मेट्रो रेल जमिन मुनी या सतह भन्दा माथि निर्माण गरिन्छ। व्यस्त शहरमा सतहमा अरु काम हुन सकोस् भनेर मेट्रो रेल तल या माथि बनाइएको हो। जमिनमा पिलर गाडेर माथि कुद्ने मेट्रो निर्माण गर्दा प्रति किलोमिटर लागत पाँच अर्ब रुपैयाँ पर्ने आचार्यको अनुभव छ। अण्डर ग्राउन्ड मेट्रो बनाउन भने प्रतिकिलोमिटर १० देखि १५ अर्ब रुपैयाँ खर्च हुने उनी बताउँछन्। चालु आर्थिक बर्षको काठमाडौं महानगरको बजेट तीन अर्ब ६६ करोड रुपैयाँ छ। यसरी महानगरको अहिलेको बार्षिक बजेटले एक किलोमिटर 'ओभरहेड मेट्रो' समेत निर्माण हुन नसक्ने देखिएको छ। 


 

मेट्रो सञ्चालन गर्दा एक किलोमिटर मात्र निर्माण गरेर पुग्दैन। कम्तिमा २० किलोमिटरको एउटा लाईन बनाउँदा पनि एक खर्ब रुपैयाँ हाराहारी लगानी आवश्यक पर्छ। जुन महानगरको बजेटले धान्दैन। त्यसैले मेयर उम्मेद्वारले देखाएको मेट्रो सपना ‘गफ’मै सिमित हुने देखिन्छ।
 
उपत्यकामा करिव ७८ किलोमिटर मेट्रो रेल चलाउने सरकारले घोषणा गरिसकेको छ। यो सबै रेल मार्ग सडक माथीनै बनाउने हो भने पनि चार देखि पाँच खर्ब रुपैयाँ खर्च लाग्नेछ। जुन अहिलेको नेपालको बार्षिक बजेटको करीब आधा हो।
 
समय लम्बिँदै जाँदा प्रतिकिलोमिटर लागत पनि महङ्गो पर्ने रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायको भनाइ छ। 
 
लागत जुटाएर दिल्ली मेट्रो जसरी अपवादकै रुपमा रुपमा तिब्र काम गर्दा पनि सात बर्ष अघि मेट्रद्य रेल निर्माण सम्भव नहुने अवस्था त छँदैछ।
रेल विभागका ईन्जिनियर नवराज भट्ट मेट्रो रेल भन्दा मोनो रेल सञ्चालन गर्न समय र लागतको हिसाबले सहज हुने बताउँछन्। मोनो रेल एउटा लिकमा मात्र गुड्ने, विस्तारै गुड्ने र थोरै यात्रु बोक्ने भएकाले सानो प्रोजेक्ट हो। मेट्रो रेल मोनो रेलको तुलनामा धेरै ठूलो प्रोजेक्ट हो।
 
महानगरमा मेट्रोरेल निर्माणको घोषणा सरकारले गरिसकेको हुँदा उम्मेद्वारले चर्चाका लागि उक्त विषयलाई चुनावी नारा नबनाएको भए उचित हुने उनी बताउँछन्।