सोल्टी होटल- १० रुपैयाँको शेयर देखि ७२ करोडको कारोबारसम्म

बिजमाण्डू
२०७४ बैशाख १७ गते १०:४५ | Apr 30, 2017
सोल्टी होटल- १० रुपैयाँको शेयर देखि ७२ करोडको कारोबारसम्म
काठमाडौं । २५ अप्रिल १९७६ को न्युयोर्क टाइम्समा बोरिस लिसानोभिचका विषयमा समाचार छापिएको छ। काठमाडौं डेटलाइनको समाचारको पहिलो लाइनमै लेखिएको छ,  बोरिस लिसानोभिच 'अ कलरफुल रेष्टुरेण्टर एण्ड अ पार्टी गिभर'।
 
युक्रेनका बोरिस पेशाले व्याले डान्सर थिए। नाच्दै हिंड्दा उनी फ्रान्सको मोन्टे कार्लो पुगे , त्यहाँबाट दक्षिण अमेरिका हुँदै लण्डन र मिलान पुगे। त्यहाँबाट उनी बम्बई, सांघाई, मलेसिया हुँदै कलकत्ता आइपुगे। कलकत्तामा बोरिसले 'थ्री हण्ड्रेड क्लव' खोले। 


 

२००१ सालमा राजा त्रिभुवन आफ्नो पहिलो विदेश भ्रमणका लागि दिल्ली हुँदै कलकत्ता पुगे। कलकत्तामा त्रिभुवनलाई नाइट क्लवमा लगियो। राणाहरुको उठबस हुने यही हाइप्रोफाइल क्लवमा त्रिभुवन र बोरिसवीच भेट भयो।
 
नेपालमा प्रजातन्त्र स्थापनापछि राजा त्रिभुवनले बोरिसलाई नेपाल आउन निम्ता दिए। बोरिस पनि श्रीमती छोराछोरीसहित नेपाल मात्र आएनन, उनले आफ्नो व्यवसायिक सिप पनि लिएर आए। 
 
 
बोरिसले अहिले निर्वाचन आयोग बसेको बहादुर भवनमा होटल रोयल खोले। काठमाडौंमा होटल रोयल, स्नोभ्यु, नटराजसहित चार वटा होटल सञ्चालनमा थिए। भन्न त नेपालमा चार वटा होटल थिए, तर ती सबै स्तरीय थिएनन, नेपालको होटलका पायोनियर प्रभाकर राणाले ती दिनलाई सम्झिए।
 
बोरिसका विषयमा राणाको टिप्पणी पनि न्युयोर्क टाइम्सकै जस्तो छ, बोरिस कलरफुल थियो, उसलाई आफ्ना पाहुनालाई कसरी खुशी राख्नुपर्छ भन्ने ज्ञान थियो, फुड र ड्रिङ्कसमा राम्रो उ रेष्टुरेण्टर थियो तर होटेलिएर थिएन्। 
 

किनकि होटलिएर बन्नका लागि हिसावलाई कितावमा राख्न जरुरी हुन्थ्यो, तर बोरिस होटलको बिल तिर्न विदेशी पर्यटकबाट प्राप्त भएका ट्राभरल चेक पनि क्रिम क्रयाकर बिस्कुटको डब्बामा जम्मा गर्दथ्यो। 
 
राजा त्रिभूवनको निधनपछि सत्तामा राजा महेन्द्र आएका थिए। उनको पनि बोरिससँग उत्तिकै राम्रो सम्वन्ध थियो। बोरिसले महेन्द्रलाई भनिरहन्थे अब नेपालमा पर्यटक ल्याउने बेला भयो। राजा महेन्द्र भन्थे, नेपालको धुलो हिलो हेर्न किन आउने? बोरिस भन्थे, नेपालसँग जे छ त्यो विश्वसँग छैन्न्।
 
विश्वको नजरमा नेपाल परिसकेको थियो, पर्यटकसँगै डलर र ट्राभलर चेक नेपाल आउन थालिसकेका थिए। तर उनीहरुलाई ठूलो 'स्केल'मा स्वागत गर्न नेपालको राजधानी काठमाडौं मै स्तरीय होटलको अभाव थियो।
 
विश्वका ठूला ट्राभल एजेन्सीमध्ये पर्ने अमेरिकन एक्सप्रेसले नेपालमा पर्यटक पठाउन थालेको थियो। अमेरिकन एक्सप्रेससँगै डलर र ट्राभलर्स चेकहरु नेपाल आउन थालिसकेका थिए। 
 
यसबाट अब होटलमा महेन्द्रको पनि रुची जाग्न थाल्यो। उनले भाई हिमालयलाई होटल खोल्न प्रोत्साहन गरे। युवराज हिमालय शम्सेर उनकी श्रीमती प्रिन्सेस राज्यलक्ष्मीले सन् २०२२ सालमा सोल्टी होटल स्थापना गरे। यो होटलमा प्रभाकर राणा पनि जोडिए। यसरी ५० वर्ष अघि होटल सोल्टी स्थापनाको आधारशिला तयार भयो। 
 

काठमाडौंमा अहिले दर्जनौं होटल सञ्चालनमा छन्। आधा दर्जनभन्दा बढी पाँच तारे होटल काठमाडौंमै छन्। तीन वटा पाँच तारे होटल नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत छन्। त्यसमध्ये सोल्टीको अहिले बजार पुँजीकरण २० अर्व रुपैयाँभन्दा माथि पुगेको छ।
 
दश रुपैयाँ फेस भ्यालु भएको होटल सोल्टीको सेयर अहिले ३५८ रुपैयाँमा कारोवार हुन्छ। अर्थात त्यो सेयरको फेस भ्यालु सय रुपैयाँ हुन्थ्यो भने सोल्टीको एउटै सेयरको मूल्य अहिले साढे तीन हजार रुपैयाँभन्दा माथि कारोवार भैरहेको हुन्थ्यो।
 
१० मंसिर २०२३ सालमा खुलेको सोल्टी होटल १२ एकड जग्गामा फैलिएको छ। होटलमा एउटा हिमालय विंग छ भने अर्को प्रिन्सेस विंग छ। यी दुई वटा विंगमा अहिले २८२ भन्दा बढी स्तरीय रुम छन्। सात वटा प्रेसिडेन्सिएल भिभिआइपि स्वीट छन्। मेगामलहार  बैंक्वेट छ भने यसको व्यवस्थापन अन्तराष्ट्रिय ब्राण्ड इन्टरकन्टिनेन्टल होटल ग्रुपले सम्हालिरहेको छ।
 
सोल्टीले आफ्नै सञ्चालक रविभक्त श्रेष्ठको कम्पनी शिवविक्रमसँग मिलेर सोल्टी ब्राण्डमै पोखरा र नेपालगञ्जमा दुई वटा चार तारे होटल सञ्चालन गर्दैछ। 

Tata
GBIME
Nepal Life


 

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७२ करोड रुपैयाँको कारोवारबाट दश करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरिसकेको छ। र सोल्टी देशमा सबैभन्दा बढी विदेशी मुद्रा कमाउने होटल समेत बनेको छ। होटलबाट लाखौं विदेशीले मात्रै होइन् लाखौं नेपालीले पनि सेवा पाएका छन्। 
 
तर सोल्टी होटलले आज तय गरेको यो यात्रा ५० वर्षको बीचमा संधै सहज भने थिएन। सोल्टीले अति कठिन दिनहरु पनि पार गर्नुपर्यो। 
 
यी कठिन दिनले देशलाई एउटा शक्तिशाली होटल ब्राण्ड सोल्टी दिएको छ। यही सोल्टीले संस्थापक लगानीकर्तालाई पुँजी जुटाउने नयाँ स्रोतहरु दियो, नयाँ लगानीकर्तालाई लगानीको अवसर दियो, प्रभाकर राणा जस्ता थुप्रैलाई म्यानेजमेन्ट स्किल दियो। होटलमा काम गर्ने पायोनिएर कर्मचारी मार्फत नेपाली पर्यटन आज एउटा उद्योग बन्यो। 
 
 
डेढ वर्षभन्दा बढी समय लगाएर तयार पारिएको १०४ कोठाको सोल्टी होटलको १० मंसिर २०२३ मा राजा महेन्द्रले उद्घाटन गरे। यो अधिराजकुमार हिमालयको प्रोप्राइटरसिपमा सुरु गरिएको बिजनेश थियो।
 
यसका लागि हिमालयले २० लाख रुपैयाँभन्दा बढी पुँजी जुटाएका थिए भने एनआईडिसी बैंकले सोल्टीलाई ६० लाख रुपैयाँभन्दा बढी ऋण लगानी गरेको प्रभाकर राणाले जानकारी दिए।
 
होटलमा काम गर्नका लागि सोल्टीले तीन जनालाई तालिम लिन स्वीजरल्याण्ड पठाएको थियो। उनीहरु फर्किएपछि विभिन्न विभागको प्रमुख बनाइयो। प्रभाकर राणा आफैले पनि पर्चेज एण्ड पर्सेनल म्यानेजरको रुपमा काम थाले। 


 
तर निक्कै मेहनत साथ काम गर्दा पनि ठूलो लगानीमा खोलिएको सोल्टी चल्न सकेन्, राणा सम्झन्छन्, सबैले होटल होटल त भने, तर त्यो कसरी चलाउने कसैलाई थाहा थिएन।
 
राणा भरखर ३० वर्ष मात्र पार गरेका थिए। उनी आफैले पनि व्यवस्थापन विषय अध्ययन गरेका थिएनन्। त्यतिवेला म्यानेजमेन्ट कोर्ष हुँदैन्थ्यो, कमर्स हुन्थ्यो, मैले त्यो पनि पढेको थिइनँ। राणाले इतिहास पढेका थिए, होटल व्यवस्थापनमा त्यसको कुनै साइनोसम्म थिएन्।
 
निर्माणकै क्रममा सोल्टी होटलको कस्ट 'ओभर रन' भैसकेको थियो। एक त परियोजना समयमा सकिएको थिएन, दोस्रो होटल निर्माणको डिजाइनदेखि निर्माणसम्म अपेक्षाभन्दा बढी समय र लगानी लागेको थियो। 
 
होटलको डिजाइन शंकर रिमालले गरेका थिए। पुलका इन्जिनियर रिमालले पहिलोपटक ठूलो आकारको बिल्डिङ डिजाइन गरेका थिए। राणा भन्छन्, डिजाइनकै कारण प्रोजेक्ट डिरेल भएको थियो भने लगानी पनि बढेको थियो।
 
कतिसम्म भने लगानीकर्ताले रिमाललाई ब्रिज इन्जिनियरलाई भवन डिजाइन गर्न दिएर हुन्छ भन्नेसम्मको कटाक्ष गरे। तर रिमालले ५० वर्ष अघि गरेको डिजाइनले दुई वर्ष अघिको महाभुकम्पलाई पनि मज्जासँगै थेगिदियो। राणा भन्छन्, दुई वर्ष अघि त्यत्रो ठूलो भुकम्प जाँदा म यहीं बिल्डिङमा थिएँ, बाहिर भाग्नुपर्ने आवश्यकता पनि महसुस गरिन्। 


 
सोल्टीका लागि सुरुको लगानी जुटाउन समेत निक्कै कठिन भएको प्रभाकर राणा स्मरण गर्छन्। राजा महेन्द्रको इन्ट्रेष्ट पछि सोल्टी खोल्ने कुरा त भयो, तर त्यत्रो ठूलो परियोजनाका लागि पैसा कसरी जुटाउने समस्या सुरु भयो। सुरुमा ऋणका लागि नेपाल बैंकसँग अप्रोच गरिए पनि बैंकले परियोजनामा रुची देखाएन्। 
 
विकल्प एनआइडिसि बन्यो। नेपालमा अमेरिकी सहयोग सुरु हुँदै थियो। त्यही सहयोगको एक हिस्सा थियो, एनआइडिसी बैंकको स्थापना। यो बैंक स्थापना गर्न नेपाल बैंकले पनि आफ्नो जग्गा दिएर सहयोग गरेको थियो। 
 
नेपाल बैंकमा भरतबहादुर प्रधान थिए, उनी र बैंक स्थापनामा सहयोग गरिरहेका अमेरिकनले एनआइडिसिबाट ऋण लिन सोल्टीका लगानीकर्तालाई सुझाए। साँच्चिकै होटल बनाउने हो, होटललाई एउटा इन्डष्ट्रि बनाउने हो भने ऋण लिनुपर्छ उनीहरुको सुझाव थियो। 
 
एनआइडिसिले ऋण लगानी गर्ने भएपछि जग्गाको खोजी भयो। वाफलको जग्गा किन्ने काम भयो। राणा भन्छन, त्यो बेला होटलका लागि अहिले सोल्टी बसेको ठाउँ 'बेस्ट ल्याण्ड' थिएन।
 
होटल अन्नपूर्ण र सोल्टी सँगसँगै सुरु भएका थिए। त्यसले पनि प्रतिश्पर्धा सिर्जना गरेको थियो। सँगै अन्नपूर्णभन्दा सोल्टीको ऋण बढी थियो भने सोल्टीभन्दा अन्नपूर्णको लोकेसन धेरै राम्रो थियो। 
 
दुवैको व्यवस्थापन भने करिव करिव उस्तै, ठूलो लगानी, धेरै ऋण र प्रोपर्टी पनि सही ठाउँमा नहुँदा सोल्टीले अलि बढी 'सफर' गर्यो, सोल्टी होटलमा लामो समय अध्यक्ष रहेका र अहिलेका इमिरेट्स चेयरम्यान प्रभाकर राणाले भने।
 
हामीले बोरिसलाई देखेका थियौं, हामीलाई लाग्थ्यो राम्रो डाइनिङ रुम भयो र त्यसमा बार खोल्यौं भने पाहुनाको कुनै कमि हुँदैन्। शाहा र राणा परिवार यो भ्रमबाट छिट्टै बाहिर निस्क्नुपर्यो। 
 
होटल सञ्चालनमा आएको दुई वर्ष मात्रै भएको थियो, राजा महेन्द्र बीचबीचमा सोल्टी आउँथे। उनले प्रभाकरलाई सोध्थे, खै होटलको त मेन्टिनेन्स भएकै छैन्। अब सरकारलाई के भन्ने, पैसा छैन कहाँबाट निकालौं भनेर कसरी सोध्ने।
 
'पैसा मात्रै होइन हामीसँग नलेज पनि भएन, होटलबाट राम्रो परिणाम नआएपछि हामीले एउटा जनरल म्यानेजर चाहिन्छ भन्ने ठान्यौं। बाहिरबाट लिएर पनि आयौं तर काम त एउटाले हुँदैन् टीम नै चाहिन्छ। हामीसँग टीम नै थिएन', राणाले  सोल्टीका कठिन दिन सम्झिए।  


 
'यही ढाँचा हो भने सोल्टी 'सिन्क' गर्छ म त्यसमा कन्भिन्स भैसकेको थिएँ', राणाले भने, 'त्यसपछि मैले सरकारलाई जाहेर गरें, सरकार यो त भएन हामीले यो होटल चलाउन अन्तराष्ट्रिय होटल खोज्नुपर्छ। होटलमा हामी कसैको पनि नलेज पुगेन।' 
 
त्यसपछि अन्तराष्ट्रिय होटल चेन खोज्न थालियो, सुरुमा हिल्टन र इन्टरकन्टिनेन्टलसम्म कुरा पुग्यो। सँगसँगै राजा महेन्द्रको भारतका ओबोरोय परिवारसँग कलकत्तादेखि नै चिनजान थियो। ओबोरोय परिवारकै सदस्य बिकिसँग मेरो पनि राम्रो सम्वन्ध थियो, राणाले भने। हामीले होटलमा पाटर्नर खोजिरहेका छौं भन्ने थाहा पाएपछि बिकीले आफ्नो एक आफन्तलाई नेपाल पठायो। 
 
हिल्टन र कन्टिनेन्टल ल्यायौं भने १०४ कोठाका लागि हामीलाई उनीहरुको फिस महँगो पर्ने भो। फिसबाट उनीहरु त पैसा कमाउँथे तर  हामीले के गर्ने? 
 
संयोग के भने ओवरोयका लागि भारतभन्दा बाहिर म्यानेज गर्न लागेको सोल्टी पहिलो होटल हुन्थ्यो। यो उनीहरुका लागि पहिलो अनुभव पनि थियो, त्यही लोभले उनीहरुले कम शुल्क लिएर हाम्रो होटल चलाउन राजी भए। तर फेरी सरकारले कुरा उठाइबक्स्यो, होटल चलाउन पनि अरु नभेटेर भारतीय नै चाहिने। त्यसमा मैले कन्भिन्स गरें, राणाले सुनाए, भारत र नेपालको समस्या उस्तै हो, हामीले बेलायतबाट मान्छे त लिएर आउँला तर समस्या समाधान भएन भने के गर्ने? किनभने हाम्रो समस्या एउटा हुन्छ उनीहरु कुरा अर्कै गर्छन्। 
 
मैले कन्भिन्स गरेपछि किंग महेन्द्र र प्रिन्स हिमालयबाट आदेश भयो, 'गो अहेड'। ओबोरयले व्यवस्थापन लिन बित्तिकै रायबहादुर ओबरोय आफै नेपाल आए। उनी यहाँ चार महिना बसे। उनले सोल्टीका लागि चाहिने सबै मान्छेलाई काठमाडौंमै बोलाए। 
 
उनले प्रभाकरलाई होटल व्यवस्थापनको गुरु मन्त्र पनि सिकाए। मलाई उसले भनेको थियो, हेर प्रभाकर तिमी अरु केही पनि नगर म जहाँ जान्छु तिमी त्यहीं आउ। एउटा डेस्क बेञ्च राख म सिकाइदिन्छु, 'आइ लर्न फरम द बेस्ट।'


 
हामीलाई लागेको थियो, हामीले बनाएको सबै राम्रो छ। तर रायबहादुरले विस्तारै विस्तारै भन्न थाले, यहाँ यो चेञ्ज चाहिन्छ, यहाँ यो चेञ्ज चाहिन्छ। ओबोरोयले होटल चलाएको पहिलो वर्षमै सोल्टी नाफामा गयो। हामी नाफामा गए पनि नाफाको 'मार्जिन' ठूलो थिएन। किनभने हाम्रो ऋण ठूलो थियो। 
 
रायबहादुरले प्रभाकरलाई भने, म त होटल चलाउने हो, फिस लिन्छु गैहाल्छु। तर हामीले जति मेहनत गरे पनि नाफा बढाउन गाह्रो छ। 'मार्जिन' बढाउनका लागि हामीसँग होटलको क्षमता दुई/तीन गुणाले बढाउनेवाहेक विकल्प छैन। हामीले हाम्रो खर्चलाई थोरै कोठामा होइन धेरै कोठामा बाँडेर मुनाफाको आकार बढाउनुपर्छ। तर त्यसका लागि त फेरी ऋण थप्नुपर्छ। 
 
रायबहादुरले प्रतिक्रिया दिए, तिमीले ऋण त लिनुपर्छ तर पहिलो जस्तो धेरै लिनुपर्दैन्। सकेसम्म कम ऋण लिएर 'डिभाइड द क्रेडिट अन तीन हण्ड्रे रुम'। मैले प्रश्न गरें, अनि त्यति धेरै कोठा थपेर गेस्ट कसरी भर्ने, रायबहादुरले जवाफ दिए, यो कुरा मलाई छाडिदेउ। 
 
सोल्टीका लागि फेरी अर्को संयोग जुर्यो। विश्व बैंकले नेपालमा अफिस खोल्यो। उनीहरु बस्न सोल्टीमा आइपुगे। विश्व बैंकका अधिकारीसँग राणाको मित्रता पनि बढेर गयो।  विश्व बैंकको प्राइभेट सकेटर आर्म आइएफसी थियो।
 
आइएफसिले सोल्टीमा ऋण लगानीका लागि १० प्रतिशत इक्वीटी माग्यो। सुरुमा 'प्रपराइटरसिप'मा खुलेको सोल्टी एआइडिसिले ऋण लगानी गर्दा 'प्राइभेट' बनेको थियो, आइएफसिले सेयर लगानी हाल्ने भएपछि पब्लिक लिमिटेड कम्पनी बन्यो।
 
आइएफसिले ऋण लगानी गरेपछि सोल्टी २१० रुमको बन्यो। त्यो बेलासम्म सोल्टी लोकप्रिय भैसकेको थियो तर पनि रुम भर्न भने सजिलो थिएन। ओबरोयको दिल्लीमा सबैभन्दा राम्रो होटल थियो। ट्राभल एजेण्टले रुम माग्यो भने ओबोरोयले वेटिङ लिस्टमा राख्थ्यो। उसले भन्थ्यो, यदी ओबोरोयमा रुम लिने हो भने तिमीले सोल्टीको रुम पनि किन्नुपर्छ। 


 
ओबोरोय सोल्टीमा सफल भएपछि नयाँ-नयाँ ठाउँमा होटल खोल्न र व्यवस्थापन गर्न थाल्यो। सोल्टीमा गेस्ट भर्न ओबोरोयले जे सुत्र लगाएको थियो, सोल्टीलाई देखाएर अन्य होटल भर्न थाल्यो। 
 
रायबहादुरसँग मैले जानेको कुरा यही हो, तपाईंका इन्ष्टिच्युसन सफल बनाउने हो भने भाई, छोरा नातालाई राखेर चल्दैन्। राजा वीरेन्द्रको समयमा नेपालमा  सार्क समिट हुने भयो। राजाले सोल्टीमा प्रेसेडेन्सियल स्वीट बनाउन निर्देशन दिए, सार्क समिटका लागि उस्तै आकार र उस्तै सुविधाका सात वटा  प्रेसेडेन्सियल स्वीट तयार भए।  
 
आइएफसि आउने भएपछि सोल्टी पब्लिक कम्पनी भयो। पब्लिकलाई सेयर बेचेर कम्पनीले बैंकेट फ्यासिलिटी थप्यो। पब्लिकमा सेयर विक्रि गर्दा अमरराज सिंहले प्रस्पेक्ट्स बनाए। यही बेला सोल्टीका संस्थापक लगानीकर्ताहरुले आफ्नो सेयर सोल्टी इन्टरप्राइजेज नामको होल्डिङ कम्पनीमा सारे। यही सोल्टी इन्टरप्राइजेजले सोल्टीसँगै सूर्य नेपालमा पनि लगानी गर्यो। राजाको स्वामित्व रहेको हिमालय टि गार्डन पनि यही सोल्टी इन्टरप्राइजेजले चलाउँछ। 
 
तर सोल्टी जति लोकप्रिय ब्राण्ड बन्यो, उसले यसलाई अरु ठाउँमा विस्तार गरेर छिट्टै क्यास गर्न भने चाहेन। हामी कन्जरभेटिभ थियौं, राणाले भने किनभने हामीले डाउन पनि देखेका थियौं। फेरी आउने डाउनलाई ध्यानमा राखेर हामीले होटलको रिजर्भ बढाउनेमा ध्यान दियौं, राणा भन्छन्, त्यसैले त द्वन्द्वको कठिन समयमा पनि सोल्टीले धेरै ठूलो सफर गर्नुपरेन। भुकम्प जस्ता ठूला प्राकृतिक विपत्तीलाइ पनि सजिलै पन्छाइदियो।