लगानीकर्ताको टाउको दुखाइ बन्यो – क्लोज आउट, एकै दिन सवा करोड रुपैयाँसम्म जरिवाना

बिजमाण्डू
२०७४ बैशाख १५ गते १२:४७ | Apr 28, 2017
लगानीकर्ताको टाउको दुखाइ बन्यो – क्लोज आउट, एकै दिन सवा करोड रुपैयाँसम्म जरिवाना


काठमाडौं । करिब दुई महिना अघि महेशकुमार दाहालले जनता बैंकको ३७ सय कित्ता शेयर बेचे। तर, उनले बेचेको शेयर खरीद कर्ताले पाउन सकेनन्। उनले आफ्नो नामको शेयर एनआइसी एसिया बैंकमा राखेर धितो कर्जा लिएका थिए। 
 
ऋण तिर सकेपछि फुकुवा भएको मौखिक जानकारी पश्चात उनले आफूसँग भएको शेयर बिक्री आदेश दिए। तर, राफसाफ हुने बेला मात्र थाहा पाए आफ्नो शेयर त क्लोज आउट भएछ।  ‘मैले पहिला बैंकलाइ सोद्धा खुल्ला भएको जानकारी पाएँ बेची सकेपछि रोक्का नै छ भनिदियो’ उनले भने। अनाहकमा तीन लाख ९५ हजार रुपैयाँ जरिवाना तिर्नु परेको उनको गुनासो छ।
 
गणेश पन्तले एक महिना अघी नेपाल बंगलादेश बैंकको ५०० कित्ता शेयर बेचे। उनको खातामा शेयर रहे पनि सिडिएसको सिष्टमले काम नगर्दा नकाटिएको ब्रोकरले जानकारी दिए। त्यस बापत वित्थामा आफुले ६३ हजार रुपैयाँ जरिवाना तिर्नु परेको उनको गुनासो छ।
 
अर्का लगानीकर्ता सुमन रिजाल भने चाँडो फाइदा लिन्छु भन्दा क्लोज आउटमा परे। उनले कुमारी बैंकको शेयर किनेको चार दिनमै बिक्री आदेश दिएका थिए। तर,  त्यतिन्जेलमा उनको खातामा किनेको शेयर आएकै रहेनछ।  ‘खै चार दिनमा त शेयर आउनु पर्ने हो। खै किन त्यस्तो भयो!, उनले सुनाएर। रिजालले अहिलेसम्म जरिवाना भने तिरि हालेका छैनन्। ब्रोकरले मिल्ला की भनेको कारण पर्खि रहेको उनले बताए।
 
क्लोज आउट भएमा शेयर बिक्रेताले क्रेतालाई जरिवाना स्वरुप २० प्रतिशत रकम तिर्नु पर्ने हुन्छ। 
 
क्लोज आउटमा पर्ने थुप्रै कारण हुने ब्रोकर संघका पूर्व अध्यक्ष नरेन्द्रराज सिजापतीको भनाइ छ।  ‘चाँडो नाफा कमाउन डिम्याट खातामा नआइ शेयर बेच्ने, बैंकमा रोक्का भएको शेयर बेच्ने, उनले भने- आफ्नो डिम्याट खातामा नहेरी शेयर बिक्री आदेश दिने जस्ता थुप्रै कारणले क्लोज आउटको समस्या हुने गरेको छ।’ अघिल्लो दिननै बिकेको शेयर झुक्किएर भोली पनि बिक्री आदेश दिँदा समेत क्लोज आउटको समस्या आएको उनले बताए।
 
अहिले कारोबार भएको दिन लगानीकर्ताले औषत छ लाख ६९ हजार रुपैयाँ क्लोज आउट जरिवाना तिर्दै आएका छन्। केन्द्रीय निक्षेप प्रणाली  (सिडिएससी)का अनुसार अहिलेसम्म क्लोज आउटमा परी लगानीकर्ताहरुले एक दिनमा कम्तिमा १८५ रुपैयाँ देखि एक करोड २६ लाख ५५ हजार रुपैयाँसम्म जरिवाना तिरेका छन्।
 
यो समस्या निराकरणका लागि अक्सन मार्केट सुरुवात गर्नु पर्ने दीपशिखा धितोपत्र कारोबार कम्पनीका निर्देशक बिष्णु राज ओझाको भनाइ छ। अक्सन मार्केट हुने हो भने क्लोज आउटमा परेका मान्छेलाई नपुगेको शेयर बोल कबोलमा किनेर सेटलमेन्ट गर्न सकिने उनले बताए।
 
भौतीक प्रमाणपत्र खारेज गरेर डिम्याट प्रणालीमा गएसँगै पछिल्लो समय क्लोज आउटको समस्या बढ्न थालेको छ। केही लगानीकर्ताले नियतबश समेत क्लोज आउट गराएको भन्दै केन्द्रीय निक्षेप प्रणाली  (सिडिएससी)ले त्यसो गरेको पाइए कालो सूचीमा राख्ने चेतावनी दिएको छ। 
 
शेयर बेचेको तीन दिन भित्र राफसाफ गरि सक्नु पर्ने हुन्छ। यो अवधिमा कुनै कम्पनीको शेयर मूल्य २० प्रतिशत भन्दा धेरैले बढ्दा लगानीकर्ताले नियतबश स्टक आउट गराएको सिडिएससीको आशंका छ। तीन दिन भित्र २० प्रतिशत जरिवाना तिरेर थप नाफा कमाउने अवस्था आए बिक्रेताले क्लोज आउट गराउने प्रबृत्ति बढ्नेमा सिडिएससी चिन्ता समेत व्यक्त गरेको छ। 
 
शेयर बजार घट्दा क्लोज आउट समस्या कम हुने र बजार उकालो लाग्ने बित्तिकै बढ्ने प्रवृत्ति देखिएपछि सिडिएससी लगानीकर्ताको नियतमा आशंका गरेको हो। बजार बढ्न थालेपछि दुई महिना यता यो समस्या बढ्न थालेको सिडिएससीकी सुचना अधिकारी सबिना पुजारीले बताइन्।     
 

Tata
GBIME
Nepal Life