फेसबुक र टुइटरमा लाग्यो स्थानीय निकाय चुनाव, इन्टरनेटमा चुनावी प्रचारमा प्रतिष्पर्धा

बिजमाण्डू
२०७४ बैशाख १५ गते १२:३४ | Apr 28, 2017

Tata
GBIME
Nepal Life

काठमाडौँ । प्रदेश ३, ४ र ६ मा निर्वाचनका लागि ठिक पन्ध्र दिन बाँकी रहँदा दलहरुले प्रचार तीव्र पारेका छन्। संसदमा रहेका प्रमुख दलहरु मध्येका नेपाली कांग्रेस र राष्ट्रिय  प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने प्रचार समेत बढाएका छन्। 

 
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टीले भने घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन्।
 
निर्वाचनको समय निकै छोटो र उम्मेद्वारले प्रचारका लागि अत्यन्तै कम समय पाउने भएकाले दलहरुले निर्वाचन प्रचारलाई बढी भन्दा बढी सामाजिक सञ्जाल केन्द्रीत गरेका छन्। युट्युबमा गीतहरु, सामाजिक सञ्जालमा फोटोहरु राखेर दलहरुले प्रचार अगाडि बढाएका छन्। चुनाव चिन्हसँगै आफ्नै फोटो जोडेर मत माग्न कतिपय उम्मेद्वार आफैँ क्रियाशिल छन्। केन्द्रीय स्तरका नेताहरु भने अन्य नेताहरुको धारणा खण्डन समेत सामाजिक सञ्जाल मार्फत गरिरहेका छन्। 
 
के छ इन्टरनेटको पहुँच
नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार नेपालमा अहिले ५४ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको छ। सहरी क्षेत्रमा भने इन्टरनेटको पहुँच असी प्रतिशत माथि छ। यस्तोमा निर्वाचनको प्रचारका लागि राजनीतिक दलहरुले इन्टरनेटको प्रयोग गरिरहेका छन्।


 
कतिपय स्थानमा दलहरुले उम्मेद्वार टुङ्गो लगाइसकेका कारण उम्मेद्वारहरु प्रचारमा जुटेका छन्। निर्वाचन आयोगले तयार गरेको कार्यतालिका अनुसार १९ गते मात्र मनोनय दर्ताको कार्यक्रम छ। यस्तोमा उम्मेद्वारले प्रचारका लागि केवल १० दिनको समय पाउँदैछन्। 
 
प्रचारमा सामाजिक सञ्जालको साहारा
बुधबार होटल हिमालयमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दा राप्रपाका अध्यक्ष कमल थापा हाइटेक देखिए। थापाले आफ्नो ट्विटर अकाउन्टमा पेरिस्कोप मार्फत घोषणापत्र सार्वजनिक कार्यक्रमको लाइभ गरे। 


 
'स्लाइड शो' प्रदर्शन गर्दै थापाले घोषणापत्रको व्याख्या गरे। उनी टेलिभिजनको कार्य्रक्रम प्रस्तोता शैलीमा इयरफोन सहितको एट्याच्ड माइक प्रयोग गर्दै रिमोट मार्फत स्लाइड परिवर्तन गरि ब्यख्यामा जुटे।
 
नेपाली कांग्रेसले मंगलबार नै पार्टीको घोषणापत्र सार्वजनिक गर्‍यो। फेसबुक र ट्विटरमा लाइभ गरिएको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम भने पुरानै शैलीको थियो। 


 
रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र विवेकशिल दलले पनि सामाजिक सञ्चालमा प्रचार तीव्र पारेका छन्। साझा पार्टीका उम्मेद्वार किशोर थापा र अध्यक्ष मिश्र उम्मेद्वारको पक्षमा आएका धारणाहरुलाई रिट्विट गर्दै अन्य मतदाता प्रभावित तुल्याउने प्रयासमा छन्। 
 
विवेकशिल पार्टीले फेसबुकमा भिडियोहरु पोस्ट गर्दै मत मागेको छ। २१ वर्षिय रञ्जु दर्शनालाई काठमाडौँको मेयरमा उम्मेद्वार बनाएको विवकेशिलले इन्सटाग्राममा समेत स्पोन्सर गरेर विज्ञापन गर्न भ्याएको छ। 
 
नयाँ शक्ति पार्टीले उपेन्द्र यादव नेतृत्वको पार्टीसँग मिलेर 'मशाल चिन्ह' लिएर निर्वाचनमा सहभागिता जनाउँदैछ। सामाजिक सञ्चालमा सक्रिय पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई दलको चिन्ह 'आँखा' नपाएपछि यतिबेला मशाल चिन्हमा ट्विट गरेर मत माग्दैछन्। 
 
त्यसो त नेपाल बाहिर रहेका कतिपय कार्यकर्ताहरुले आफ्नो पार्टीका लागि बाहिरबाटै मत मागिरहेका छन्। फेसबुक र ट्विटर अनि युट्युबमा समेत कभर गीत गाएर उनीहरुले मत मागिरहेका छन्। सामाजिक सञ्जालमा 'मोन्टाज' गरिएका तस्वीर र क्लिप्सहरु समेत आइरहेका छन्। 
 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रचार विभागको कार्यक्रममा अन्य दलहरुले प्रचारका लागि विदेशी आइटी एक्सपर्ट मगाएको उल्लेख गर्दै उनीहरुसँग प्रतिष्पर्धा गर्न सुझाए। 


 
सामाजिक सञ्जालमा निर्वाचन प्रचारमा यतिबेला सबैभन्दा अगाडि भने कांग्रेस देखिएको छ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गगन थापाले सोमबार साँझ ७ देखि ८ बजेसम्म फेसबुक मार्फत अन्तरक्रिया गर्दैछन्। कांग्रेसले घोषणापत्रको प्रचारका लागि थापाको लोकप्रियतालाई साथमा जोडेको हो। 
 
पुराना तरिका यथावत्
राजनीतिक दलहरुले निर्वाचनको प्रचारका लागि र्‍याली, सभा लगायतका कार्यक्रम गर्ने गरेका छन्। स्थानीय स्तरमा र्‍याली र सभाका कार्यक्रमहरु भएका छन् भने भेला र भेटघाटका कार्यक्रम बढेका छन्। अधिकाशं सांसदहरु निर्वाचन क्षेत्रमा दौडधुप गरिरहेका छन्। नेताहरुलाई भाषण गर्ने कार्यक्रमको भ्याई नभ्याई छ।