तीन दिनसम्म ठप्प एयरपोर्ट भन्सारको कार्गोबाट आयात निर्यात सुरु, बढेको शुल्क १ साउन देखि

बिजमाण्डू
२०७४ बैशाख १४ गते १६:०८ | Apr 27, 2017
काठमाडौं । तीन दिनसम्म अवरोध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अन्तर्गतको कार्गो सेवा बुधवारबाट सुचारु भएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणले सामाग्री आयात निर्यातमा लाग्ने करको दर एक्कासी बढाएको भन्दै व्यवसायीले आयात निर्यात ठप्प पारेका थिए।

Tata
GBIME
Nepal Life


 

प्राधिकरण, व्यवसायी र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड तीनै पक्ष बसेर बढेको मूल्य तत्काललाई कार्यान्वयन नगर्ने सहमति भएको हो। 'अहिलेलाई साविकको भाडा तिर्ने सहमति भएको छ, प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले भने- आगामी साउन एक गतेदेखि भने बढेको भाडादर पूर्ण रुपमा लागु गर्न सवै पक्ष सहमत भएका छन्।'
 
आयात निर्यातमा लाग्ने शुल्क बृद्धि गर्न प्राधिकरण धेरै बर्ष देखि प्रयासरत थियो। उसले नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडलाई त्यसबारे पत्राचार समेत गरेको थियो। शुल्क उठाउने जिम्मा पाएको कम्पनीले सम्झौता बमोजिम काम नगरेको भन्दै प्राधिकरणले चेतावनी दिएपछि भाडादर बढाइएको थियो।
 
उक्त निर्णयलाई प्राधिकरणले २०६७ साल भदौमा नेपाल सरकारबाट स्वीकृत विमानस्थल सेवा शुल्क नियमावलीमा उल्लेखित करको दरलाई कार्यान्वयमात्र गरेको दावी गरे पनि आयात निर्यातमा सम्लग्न कम्पनी विरोधमा उत्रिएका थिए। त्यसपछि तत्काललाई पछि हटेर नयाँ आर्थिक बर्ष देखि नियमावलीमा तोके बमोजिम शुल्क लिने निर्णय भएको श्रेष्ठले जानकारी दिए।
 
तीन दिनदेखि बन्द रहेको आयात निर्यातको कामलाई सुचारु गर्न प्राधिकरण सञ्चालक समितिका सदस्य सुकचन्द्र झाको संयोजकत्वमा पाँच सदस्यिय समिति गठन भएको थियो।