त्रिभुवन विमानस्थलमा जहाजको बढ्दो चापले आकाशमै जहाज घुमेको घुम्यै, डेढ घण्टासम्म कुरेर उडान

बिजमाण्डू
२०७४ बैशाख १३ गते १८:४६ | Apr 26, 2017
त्रिभुवन विमानस्थलमा जहाजको बढ्दो चापले आकाशमै जहाज घुमेको घुम्यै,  डेढ घण्टासम्म कुरेर उडान


काठमाडौं।एयर ट्राफिक जामले आकाशमै जहाज होल्ड हुन थालेका छन्।त्रिभुवन विमानस्थलमा जहाजको बढ्दो चापका कारण आकाशमा जहाज होल्ड हुन थालेको छ।

Tata
GBIME
Nepal Life


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो र मौसमको कारण देखाउँदै अहिले दैनिक जसो जहाज आकाशमा होल्ड हुने र समयमा कुनैपनि जहाज उडान गर्न नसक्ने अवस्था आएको छ।पछिल्लो समयमा आन्तरिक र वाह्य उडानका नयाँ हवार्इ कम्पनी थपिएका छन्।हवार्इ जहाज थपिने र कुशल व्यवस्थापन नहुँदा समस्या थप चर्किदै गएको छ।

बुद्ध एयरका मार्केटिङ प्रमुख रुपेश जोशीले एयर ट्राफिक जामका कारण फ्लार्इट समयमा हुन नसकेको बताउँदै यसले जहाज कम्पनीको विश्वसनीयतामै प्रश्न उठ्न थालेको बताए।'एउटा जहाज एक मिनेट ढिलो हुनेवित्तिकै अरु जहाज डेढ घण्टासम्म होल्ड भएर बस्नुपर्छ'उनले बिजमाण्डूसँग भने,अहिले दैनिक जहाज होल्ड भएर कम्पनीले नोक्सानी मात्रै ब्योहोरेका छैनन्। विश्वसनीयता समेत गुम्ने अवस्था सिर्जना भएको छ।'
 

 
 केही दिनअघि तारा एयरको विमान आकाशमा एक घण्टा होल्ड हुने सूचना पाएपछि इन्धनको अभावमा डाइभर्ट गरेर रामेछापको मन्थली विमानस्थलमा अवतरण गरिएको थियो। महाप्रवन्धक देवानन्द उपाध्यायले विमान कम्पनीले पार्किङसँगै मौसममा बदलीको समस्या भोग्नुपर्ने अवस्था आएको बताए।
 
उनका अनुसार पहिलो बादल तथा पानी परेर धुम्म अवस्थामा इन्स्ट्रुमेन्ट फ्लाइट रुल (आइएफआर) र दोस्रो सफा मौसम भएको अवस्था भिजुअल फ्लाइट रुल (भिएफआर) कारण समस्या भएको छ।उनले काठमाडौंको आकाशमा एकैपटक धेरै जहाज अवतरण गर्न आउने बताउँदै रनवे खाली नहुँदा जहाज उडान र अवतरणमा ढिलाइ भइरहेको बताए। 
 
'आइएफआरमा उडान कम हुने र आकाशमा वादलको अवस्था तथा भिजिविलिटी कम हुँदा जहाज होल्ड गर्नुपर्ने हुन्छ, उपाध्यायले भने 'दोस्रो भिएफआरमा मौसम सफा हुने भएका कारण आकाशमा धेरै जहाजको चाप बढी भएर  होल्डमा बस्नुपर्छ।'हवार्इ कम्पनीले निरन्तर जहाज थप गरेकोले एयर ट्राफिक जाम भएको  उनले बताए। उपाध्यायका अनुसार विहान ६ बजेका लागि सेड्युल्ड तोकिएको फ्लाइटमा ५० वटा फ्लाइट हुन्छन्। ती जहाजहरु एकै पटक उड्न नसक्ने भएकाले कमसेकम डेढ घण्टाको कुरेर मात्रै उड्न पाउने उनले बताए।  
 
आन्तरिकमा नियमित उडान गरिरहेका यति, बुद्ध, सिम्रिक, सीता, सौर्यलगायतका वायुसेवा क्षमता विस्तार गर्न ठूला जहाज भित्र्याउँदैछन्। हालैमात्र बुद्ध एयर, श्रीएयरलाइन्स, सौर्य एयरलाइन्स र सिम्रिक एयरले साना जहाज विस्थापित गरि मध्यम प्रकारको जहाज भित्र्याउँदैछन्।यती एयरले २९ र ३० सिट क्षमताका जहाज विस्थापित गरेर एटिआर ७२ मोडेलका ठूला जहाज ल्याउँदैछ। यो कम्पनीले चार वटा जहाज ल्याउने अनुमति मागिसकेको छ। बुद्ध एयरले अझै थप २ वटा एटिआर जहाज खरीद गर्ने  बुद्धका मार्केटिङ प्रमुख जोशीले बताए।
 
हाल आन्तरिक तर्फ बुद्ध एयरका ९ वटा, यति एयरका ६ वटा, नेपाल एयरलाइन्सका चारवटा तथा अन्य एयरलाइन्सका गरी कुल ३५ वटा विमानले सेवा दिइरहेका छन्। निजी हवाई कम्पनीले अबको एक महिनाभित्र ७ वटा ५० सिट क्षमता वा त्यो भन्दा माथि क्षमताका विमान ल्याउँदैछन्।त्यस्तै हिमालय एयरलाइन्सले निरन्तरको एयर ट्राफिक जामले गर्दा कम्पनीले सेड्युल थप गर्न नपाएको जनाएको छ। कम्पनीले आकाशमा धेरै समयसम्म जहाज होल्ड गर्नुपर्ने भन्दै फ्लाइट थपको अनुमति नदिएको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए।