२०७३ सालमा साढे १७ अर्ब विदेशी लगानीको प्रतिवद्धता, सेवा र पर्यटनमा विदेशीको प्रतिस्पर्धा

बिजमाण्डू
२०७४ बैशाख १३ गते ११:३६ | Apr 26, 2017
२०७३ सालमा साढे १७ अर्ब विदेशी लगानीको प्रतिवद्धता, सेवा र पर्यटनमा विदेशीको प्रतिस्पर्धा


काठमाडौं।२०७३ साल मुलुकको अर्थतन्त्रमा उत्साहजनक सुधारसँगै विदेशी लगानीले पनि आशाको संचार गराएको छ।बन्द,हड्तालको कमी र राजनीतिक वातावरणमा सुधारको संकेतले विदेशी लगानीकर्तालार्इ लगानीका लागि आकर्षित गरेको छ।

Tata
GBIME
Nepal Life


केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ दशमलब ९४ प्रतिशत रहने प्रक्षेपण गरेको थियो।यही वर्ष उद्योग विभागमा दर्ता हुन आएका विदेशी लगानीकर्ताको लर्कोले लगानीको वातावरण बन्दै गएको संकेत गर्छ।
 
 गतवर्ष मुलुकभित्र  १७ अर्ब ५० करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिवद्धता आएको छ।उद्योग विभागका अनुसार यो अवधिमा विदेशी लगानीका ३ सय ८२ उद्योगबाट साढे १७ अर्बको लगानी प्रतिवद्धता आएको हो।यो अघिल्लो वर्षको भन्दा डेढ गुणा बढी हो।
 
अघिल्लो वर्ष १० अर्ब ८५ करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिवद्धता आएको थियो।गत वर्ष ३ सय २९ उद्योग दर्ता थिए।अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण पनि कम लगानी आए।

यो वर्ष बन्द,हड्तालका घट्ना कम भएकोले समेत विदेशीमा केही ‘कन्फिडेन्स’ बढेको पाइएको छ।यही वर्ष सरकारले लगानी सम्मेलन पनि गर्यो।लगानी सम्मेलनमा विभिन्न देशले झण्डै १४ खर्ब लगानीको प्रतिवद्धता समेत गरेका छन्।लगानी सम्मेलनले विदेशी लगानीकर्ताको मनोबल बढाउन सहयोग पुगेको छ।


गत वर्षपनि सबै भन्दा बढी सेवा र पर्यटन उद्योग दर्ता भएका छन्। १ सय ५७ वटा सेवामूलक उद्योग छन भने १ सय ५६ वटा पर्यटन उद्योग छन्। उत्पादनमूलक ४८ वटा उद्योग दर्ता भएका छन्। कृषि तथा वन जन्य उद्योग १८ वटा मात्रै दर्ता भएको छ। उर्जा, सूचना प्रविधि र खनिज उद्योग भने एक/एक वटा मात्र दर्ता भएका छन्।
 
सबै भन्दा बढी लगानी सेवामूलक उद्योगमा आठ अर्ब रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ। विभागका अनुसार  पर्यटनमा छ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ।  उत्पादनमूलक उद्योगमा तीन अर्ब रुपैयाँको प्रतिवद्धता आएको छ। कृषि तथा वन जन्य उद्योगमा भने ३१ करोड रुपैयाँ बराबरको मात्र प्रतिवद्धता आएको विभागले जनाएको छ।
 
१२ हजारलाई रोजगारी
यो वर्ष दर्ता भएका विदेशी कम्पनीले १२ हजारलार्इ रोजगारी दिने प्रतिवद्धता जनाएका छन्।विदेशी कम्पनीमध्ये सेवा क्षेत्रका उद्योगले पाँच हजार बढीलाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्।

पर्यटन उद्योगले करिव चार हजारलाई रोजगारी दिने प्रतिवद्धता गरेका छन्। उत्पादनमूलक उद्योगमा भने दुई हजार पाँच सय व्यक्तिलाई रोजगारी दिने प्रतिवद्धता आएको छ।गत वर्ष  पनि सबैभन्दा बढी सेवामूलक र पर्यटन उद्योगनै दर्ता भएका थिए। १३४ वटा सेवामूलक,१०६ वटा पर्यटन, ५७ वटा उत्पादनमूलक, २८ वटा कृषि तथा वनजन्य उद्योग दर्ता भएका थिए।
 

अघिल्लो वर्षको तुलनामा गत वर्ष कृषि, उत्पादन र उर्जा क्षेत्रका उद्योग घटेका छन्। अघिल्लो वर्ष तीन वटा उद्योग उर्जा क्षेत्रमा आउँदा गत वर्ष एउटा मात्र उद्योग दर्ता भएको छ।रोजगारीमा पनि अघिल्लो वर्ष सबै भन्दा बढी सेवामूलक उद्योगबाटै प्रतिवद्धता आएको थियो। सेवामूलक उद्योगमा चार हजार रोजगारीको प्रतिवद्धता आउँदा पर्यटन र उत्पादनमा दुई/दुई हजार व्यक्तीलाई रोजगारीको प्रतिवद्धता आएको थियो।
 
अघिल्लो वर्षको तुलनामा गत वर्ष कृषि तथा वन क्षेत्रका उद्योगमा लगानी घटेको छ। अघिल्लो वर्ष ३३ करोड रुपैयाँ कृषि तथा वन क्षेत्रका उद्योगमा लगानी आएकोमा गतवर्ष ३१ करोड रुपैयाँ मात्र लगानी प्रतिवद्धता आएको छ। उत्पादनमूलक उद्योगमा भने अघिल्लो वर्षको तुलनामा गत वर्ष दोब्बर लगानी प्रतिबद्धता आएको छ।

अघिल्लो वर्ष चार अर्ब रुपैयाँ मात्र प्रतिवद्धता आउँदा गत वर्ष भने आठ अर्ब रुपैयाँ भन्दा बढी लगानी प्रतिवद्धता आएको हो।

नेपालमा २०४६ को परिवर्तन पछि साना, मझौंला र ठूला सबै खाले उद्योग गरि जम्मा तीन हजार नौ सय २० वटा विदेशी लगानीका उद्योग दर्ता भएका छन्।विभागका अनुसार दुई खर्ब आठ अर्ब १९ करोड ६० लाख रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ।