साल्ट ट्रेडिङले वैशाखभित्रै पाँच हजार टन चिनी ल्याउने, चिनीको मूल्य ८० रुपैयाँ मात्रै

बिजमाण्डू
२०७४ बैशाख १० गते १७:४२ | Apr 23, 2017
साल्ट ट्रेडिङले वैशाखभित्रै पाँच हजार टन चिनी ल्याउने,  चिनीको मूल्य ८० रुपैयाँ मात्रै
काठमाडौं।साल्ट ट्रेडिङ कर्पोरेशनले वैशाखभित्रै चिनी आयात गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

चिनी उत्पादकले कर्पोरेशनसँग स्टक नभएको मौका छोप्दै मूल्य बढाएपछि सरकारले एक प्रतिशत भन्सारमा चिनी आयात गर्न दिने निर्णय गरेको थियो।सरकारको निर्णयसँगै कर्पोरेशनले वैशाखभित्रै पाँच हजार टन चिनी ल्याउने भएको हो।

कर्पोरेशनले आयात गरेको चिनीको ८० रुपैयाँमै उपभोक्ताले पाउनेछन्।अहिले बजारमा चिनीको मूल्य ८८ रुपैयाँदेखि ९० रुपैयाँमा बिक्री भइरहेको छ।कर्पोरेशनका प्रवक्ता कुमारराज भण्डारीले वैशाखभित्रै पाँच हजार टन चिनी नेपाल आउने बताए।

भण्डारीले भने, 'ग्लोवल टेन्डरपछि मूल्यांकन पनि सकिएको  छ।बैशाख भित्र ५ हजार टन भन्दा बढी चिनी आयात हुन्छ'।उनले आयात भएको चिनी प्रतिकिलो ८० रुपैयाँमै पाउने बताए।

 
'मूल्य एक/दुई रुपैयाँ तल माथी हुन पनि सक्छ, सके सम्म उपभोक्तालाई ८० रुपैयाँ प्रतिकिलोमै चिनी दिने कर्पोरेशनको तयारी छ', उनले  भने। 
नेपालमा करिव एक लाख ३० हजार टन चिनी उत्पादन हुने उद्योग मन्त्रालयको अनुमान छ।

नेपालको माग भने दुई लाख २५ हजार टन भन्दा बढी छ।गत वर्ष मन्त्रालयले नेपालमा एक लाख ६७ हजार टन चिनी उत्पादन हुने अनुमान गरे पनि एक लाख ३२ हजार टन चिनी मात्र उत्पादन भएको थियो। कर्पोरेशनले भने गत वर्ष ३० हजार टन चिनी भन्सार छुटमा आयात गरेर पनि बजार मूल्य नियन्त्रण गरेको थियो।