नेटवर्कका कारण टेलिफोन काटिए उपभोक्ताले क्षतिपूर्ति पाउने, साउनदेखि कार्यान्वयनमा आउने

बिजमाण्डू
२०७४ बैशाख ७ गते २१:२४ | Apr 20, 2017
काठमाडौं । टेलिफोनमा कुरा गर्दागर्दै काटिए उपभोक्ताले क्षतिपूर्ति पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

नेटवर्कका कारण फोन काटिए सेवा प्रदायकले क्षतिपूर्ति दिनुपर्ने प्रावधानसहितको विनियमावली नेपाल दूरसंचार प्राधिकरणले ल्याएको छ।विनियमावली प्राधिकरणको संचालक समितिले बुधवार पारित गरेको छ।टेलिफोन काटिए बराबरको क्षतिपूर्ति पाउने विनियमावलीमा छ।यो विनियमावली साउनदेखि कार्यान्वयनमा आउनेछ।
 

प्राधिकरणले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो बनाउन गुणस्तर मापदण्ड सहित क्षतिपूर्ति भराउने व्यवस्था गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए।सेवा अवरुद्ध भएर उपभोक्ताले सेवा नपाए समय बराबरको क्षतिपूर्ति दिनुपर्ने उनले बताए।टेलिकम कम्पनीले दूरसञ्चार सेवाको गुणस्तर मापन गरी प्रत्येक तीन महिनामा प्राधिकरणसमक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ।

प्रतिवेदनमा फोनकल तथा एसएमएसको अवधि, फोन कलहरूबीचको अन्तराल, सेवाको कभरेजको आधारमा व्यस्त समयमा ड्राइभ टेष्ट गरी सेवाको गुणस्तर मापन गर्नुपर्ने विनियमावलीमा छ।गुणस्तर सुधार्न प्राधिकरणले दिएको निर्देशन तीन पटकसम्म अटेर गरेमा सेवा प्रदायकको अनुमति पत्र खारेज गर्न सक्ने व्यवस्था छ। प्राधिकरणवाट खटिएका कर्मचारीलार्इ गुणस्तर सम्वन्धी विवरण अभिलेख तथा सञ्जाल व्यवस्थापन सम्वन्धी विवरणहरु उपलव्ध गराउनुपर्नेछ।

 
प्राधिकरणले कुनै समस्या देखिए सुधारका लागि निश्चित समयावधि तोकी सेवाप्रदायकलाई निर्देशन दिन सक्ने छ । निर्देशनअनुरूप गुणस्तर सुधार नगरेमा प्राधिकरणले सेवाप्रदायकलाई दूरसञ्चार ऐन बमोजिम जरीवानासहित सुधारको मौका दिने विनियमावलीमा उल्लेख छ। विनियमावलीमा नेटवर्क नआउने समय एक महिनाको समयावधिमा नचलेका सम्पूर्ण साइटको औसत १ प्रतिशतभन्दा कम हुनुपर्ने छ भने फोन डायल गरेको समय र रिङ्गटोन बज्ने समयको अन्तर ५ सेकेण्डभन्दा कम हुनुपर्नेछ। 
 
फोनमा कुरा गरिरहँदा आफै फोन काटिने दर र तारयुक्त सेवामा १ प्रतिशत र मोबाइल सेवामा २ प्रतिशत निर्धारण गरिएको छ। मोबाइल सेवाको कभरेज हुँदाहुँदै पनि ग्राहकले फोन गर्दा नलाग्ने दर पनि २ प्रतिशतभन्दा कम हुनुपर्ने विनियमावलीमा छ।यसको मापन कुनै व्यक्तिले एक महिनाको अवधिमा गरेका कलहरूको संख्यालाई आधार मानेर गरिने प्राधिकरणले जनाएको छ । इन्टरनेट तथा डाटा खरीद गरेको  चार घण्टाभन्दा सेवा सुचारु भइसक्नु पर्नेछ ।