ऋणको ब्याज एक झमट फेरि बढ्दै, बैकर भन्छन्- बचतको प्रतिस्पर्धाले ऋण १६/१७% स्वभाविक

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७४ बैशाख ५ गते १३:४९ | Apr 18, 2017
ऋणको ब्याज एक झमट फेरि बढ्दै, बैकर भन्छन्- बचतको प्रतिस्पर्धाले ऋण १६/१७% स्वभाविक


काठमाडौं। बैंकहरुले कल डिपोजिट टिकाउन बचतको ब्याज बृद्धि गरेपछि ऋण थप महँगिने भएको छ। बचतको ब्याज बृद्धिले बढेको खर्च ब्यवस्थापन गर्दा ऋणको ब्याज थप महँगिने भएको हो। 
 
बचतको ब्याज बृद्धिका कारण ऋण महँगिन्छ। १७/१८ प्रतिशत ऋणको ब्याज पुग्नु अब स्वभाविक हुन्छ। ब्याज बृद्धिका कारण औद्योगिक उत्पादन तथा सेवा महँगिएर मूल्य बृद्धि पनि उकालो लाग्छ।
नेपाल राष्ट्र बैंकले कल डिपोटिको ब्याज दर बचत खाताको तल्लो दरभन्दा माथि हुन नहुने व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाले वैशाख १ गतेबाट लागू हुने गरि बचतको ब्याजमा पुनरावलोकन गरेका छन्।
 
'कल डिपोजिट टिकाइराख्न बचत खाताको ब्याज दरमा केही बृद्धि गर्नुपर्ने वाध्यता बैंकहरुलाई छ' बैंकर्स संघका उपाध्यक्ष किशोर महर्जनले आइतबार बिजमाण्डूसँग भने, 'त्यसैका लागि बैंकहरुले अहिले बचत खाताको ब्याज दर बढाउन थालेका छन्।'
 
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका महर्जनका अनुसार, बचतको ब्याज बृद्धिको असर ऋणको ब्याज दरमा पर्छ। 'तरलता थपिएर सहज अवस्था भयो भने ठिकै छ, नत्र ऋणको ब्याज केही माथि जान्छ' उनले भने।
 
बैंकहरुले बचत खाताको ब्याज दर एक प्रतिशत बिन्दुले बढाएका छन्। बैंकहरुसँग कुल १९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप छ। कुल निक्षेपमा बचत खाताको हिस्सा ३५.४५ प्रतिशत अर्थात ६ खर्ब ७८ अर्ब रुपैयाँ छ। 
 
फागुनको तथ्यांक अनुसार, बैंकहरुले साबिकमा एक प्रतिशत बिन्दुले बचतको ब्याज बढाउँदा पनि ब्याज खर्च ६ अर्ब ७८ करोड रुपैयाँले बृद्धि हुन्छ। यही खर्च 'मेकअप' गर्न बैंकहरुले ऋणको ब्याज महँग्याउने भएका हुन्।
 
'बचतको ब्याज बृद्धिका कारण ऋण महँगिन्छ। १७/१८ प्रतिशत ऋणको ब्याज पुग्नु अब स्वभाविक हुन्छ' प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने। उनले ब्याज बृद्धिका कारण औद्योगिक उत्पादन तथा सेवा महँगिएर मूल्य बृद्धि पनि उकालो लाग्ने बताए।
 
कल डिपोजिट टिकाउन बचतको ब्याज बृद्धि गरेपछि बैंकहरुको ब्याज खर्च उक्लिन्छ। अब ऋणको ब्याज घट्दैन। कम्तिमा १३ प्रतिशत हुन्छ।
बचतको ब्याज दरमा बृद्धि गर्दा खर्च बढेर ऋणको ब्याज अझ महँगिने भन्दै बैंकहरुले मुद्दति र कल डिपोजिटको मात्र ब्याज बढाएका थिए। राष्ट्र बैंकले बचतको ब्याज भने कम भएको भन्दै बढाउन दबाब दिँदै आए पनि बैकहरुले जाँगर देखाएका थिएनन्।
 
अहिले भने कल डिपोजिट टिकाउन बैंकहरुले बचत खाताको ब्याज बृद्धि गरेका हुन्। बचत खाताको ब्याज बढाउँदा बैकहरुको ब्याज खर्च उच्च दरले बढ्छ। खासगरी नयाँभन्दा  पुराना बैंकहरुको खर्च ब्यापक रुपमा बृद्धि हुन्छ। उनीहरुसँग बचतको हिस्सा धेरै हुन्छ।
 
'कल डिपोजिट टिकाउन बचतको ब्याज बृद्धि गरेपछि बैंकहरुको ब्याज खर्च उक्लिन्छ' एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बिजमाण्डूसँग भने, 'अब ऋणको ब्याज घट्दैन। कम्तिमा १३ प्रतिशत हुन्छ।'
 
यद्यपी ब्याज दरमा राष्ट्र बैंकले 'क्लोज मनिटरिङ' गर्ने हो भने ब्यापक रुपमा ब्याज दर भने बढ्न नसक्ने तर्क पनि बैंकहरुको छ। विगतमा जस्तै एउटा बैंकको निक्षेप तान्न अर्को बैंकले संस्थागतलाई वढि ब्याज दिएजस्तो अहिले पनि बचतमार्फत कल डिपोजिट टिकाउन त्यही खेल हुन सक्छ।
 
'राष्ट्र बैकले क्लोज मनिटरिङ गर्छु भनेको छ' सिभिल बैकका महर्जनले भने, 'यदि प्रभावकारी अनुगमन भएमा ब्याज दर धेरै नवढ्न पनि सक्छ।'

Tata
GBIME
Nepal Life