मन्त्रीले आग्रह गर्दा पनि भारत मानेन, भारतले प्रमाणीकरण नगर्दा नेपाली बुलेट चल्न पाएन




काठमाडौं।आपूर्तिमन्त्री दीपक बोहोराले आयल निगम र इण्डियन आयल कर्पोरेशन(आइओसी)बीच भएको आपूर्ति सम्झौंता भएको समयमा ग्यास बोक्ने बुलेट संचालनको वातावरण मिलाइदिन आग्रह गरे।


मन्त्री बोहोराले आफ्ना समकक्षी पेट्रोलियम मन्त्री धमेन्द्र प्रधानलार्इ औपचारिक आग्रह गरेपनि भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
भारतीय बुलेट विस्थापित गरेर नेपाली बुलेट राख्ने निर्णय निगमले गरेपनि भारतको 'एक्सप्लोसिभ' विभागले 'एक्सप्लोसिभ' प्रमाणीकरण नगर्दा संचालनमा आउन नसकेको हो।

निगमका ग्यास विभाग प्रमुख दीपक बरालले  भारतीय पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताए।'हामीलार्इ अहिलेसम्म कुनै जवाफ आएको छैन। हामीले बोटलिङ प्लान्ट र ढुवानी व्यवसायीलार्इ बुलेटका लागि बुकिङ गरेको कागजात पेश गर्न भनेका छौं' उनले भने,अहिलेसम्म ६ सय ग्यास बुलेटका लागि बुकिङ गरेको कागजात प्राप्त भएको छ।'
 
यो प्रमाणीकरण नभर्इ इन्डियन आयल कर्पोरेशन(आइओसी)ले ग्यास भर्न दिँदैन।नेपाली नम्बर प्लेटको बुलेटबाट ग्यास ढुवानीका लागि भन्दै चालु आर्थिक वर्षको बजेटमार्फत भन्सार छुट समेत दिइएको थियो।तर नेपालले बुलेट बनाएर प्रमाणीकरणका लागि भारतको 'एक्सप्लोसिभ' विभागमा पठाउँदा तीन महिनादेखि कुनै जवाफ दिएको छैन।
 
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बुलेटको एक्सप्लोसिभ प्रमाणीकरण नआउँदा बुलेट बनाएर त्यतिकै राख्नुपरेको बताए।घिमिरेले दुर्इवटा बुलेट बनाएर नेपाल ल्याइसकेका छन्।गृहलक्ष्मी ग्यास उद्योगले २२ वटा बुलेट बनाउन च्यासिस भारत पठाइसकेको छ।उद्योगका संचालक धर्मराज बर्तौलाले सोमबार २२ वटा च्यासिस बुलेट बनाउन भारत पठाएको बताए।
 
नेपाल आयल निगमले नेपाली बुलेटमार्फत ग्यास ढुवानीका लागि ९ सय ७१ वटा बुलेटलार्इ अनुमति दिएको थियो। स्रोतका अनुसार ग्यास बोकिरहेका भारतीय ढुवानी व्यवसायीको दबाबमा भारतले प्रमाणीकरण रोकेका हुन्।अहिले भारतका साढे ६ सय बुलेटमार्फत ग्यास ढुवानी हुँदै आएको छ।भारतीय ढुवानी व्यवसायीले आफ्नो व्यवसाय गुम्ने भएपछि  विभागनै प्रभाव पारेर प्रमाणीकरण रोकिएको हो ।
 
स्रोतका अनुसार चालिस वर्षदेखि व्यवसाय गर्दै आएका भारतीय व्यवसायीको प्रभाव ठूलो छ। भारतीय बुलेट विस्थापित गर्ने योजनाका बारेमा सरकारी तहमै चासो राखिएको छ।विभागले आइओसीलार्इ पत्र पठाउँदै भारतीय बुलेट विस्थापित गर्न लागेको बारेमा जवाफ समेत मागेको थियो।आइओसीले नेपाली ट्या‌करले विगत केही वर्षदेखि तेल बोकिरहेको भन्दै जवाफ पठाएको थियो।
 
केही वर्षअघिसम्म भारतीय ट्यांकरले मात्रै तेल बोक्ने गर्थे।तर पछि भारतले विस्तारै नेपाली ट्यांकरलार्इ तेल बोक्न अनुमति दिएको थियो।अहिले तेल बोक्ने ट्यांकर भारतीय छैनन्। सबै नेपाली नम्बर प्लेटका ट्यांकरमार्फत तेल ढुवानी हुँदै आएको छ।
 
भारतीय ढुवानीकर्ता हुँदा नेपाललाई प्राथमिकतामा नराख्ने र ढुवानी भाडाका लागि वार्षिक चार अर्ब विदेशिने भन्दै निगमले नेपाली वुलेट राख्न टेन्डर आह्वान गरेको थियो। अहिले भारतीय कम्पनी आरपी ट्रान्सपोर्ट,अक्षय रोडलाइन्स,कार्गो सर्भिस, सीमा रोडलाइन र  कर्मवीर ट्रान्सपोर्ट लगायतले ग्यास ढुवानी गर्दै आएका छन्।यही कम्पनीका संचालकहरुको दबाबका कारण अनुमति रोकिएको स्रोतले बतायो।
 
 

Share this Story

   

मन्त्रीले आग्रह गर्दा पनि भारत मानेन, भारतले प्रमाणीकरण नगर्दा नेपाली बुलेट चल्न पाएन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.