फोरजी लाइसेन्स लिन तीब्र लविङमा स्मार्ट टेलिकम, अहिलेसम्म प्राधिकरणका सबै शर्त पुरा

बिजमाण्डू
२०७४ बैशाख ४ गते १६:२३ | Apr 17, 2017
फोरजी लाइसेन्स लिन तीब्र लविङमा स्मार्ट टेलिकम, अहिलेसम्म प्राधिकरणका सबै शर्त पुरा


काठमाडौं । निजी क्षेत्रका मोवाइल सेवा प्रदायक कम्पनीबीच चौथो पुस्ताको फोरजी सेवाका लागि चर्को प्रतिस्पर्धा सुरु भएको छ।

Tata
GBIME
Nepal Life

स्मार्टसेल र युटिएलले फोरजी सञ्चालनको अनुमति माग्दै नेपाल दूरसञ्चार प्राधिकरणमा लविङ बढाएका हुन्।फोरजी सेवा सुरु गर्न आफूहरु योग्य रहेको भन्दै दुई कम्पनीले ६ महिना अगाडि नै प्राधिकरणसमक्ष विस्तृत 'रोलआउट प्लान' बुझाएका थिए।

नेपाल टेलिकमले फोरजी सुरु गरिसकेको छ भने युटिएल र स्मार्ट टेलिकम सहित एनसेल अनुमतिको पर्खाइमा छन्। २६ अर्ब रुपैयाँ बढी लाभकर नतिरेपछि सार्वजनिक लेखा समितिको निर्देशनमा एनसेललाई फोरजी दिने प्रकृया रोकिएको छ भने अरु दुई कम्पनीबारे अध्ययन भइ रहेको प्राधिकरणले जनाएको छ।

 
के गर्दैछ स्मार्ट?
स्मार्टले अहिले देशैभरी जिएसएम टुजी र थ्रीजीका लागि बिटिएस टावर विस्तारलाई तीब्र बनाएको छ।

उसले काठमाडौं, पोखरा, स्याङ्जा, भैरहवा, बुटवल, चितवन, हेटौंडा वीरगन्ज र नेपालगञ्जमा स्मार्टको सेवा विस्तार गरिसकेको छ। कम्पनीले हालैमात्र काठमाडौंमा थप एक सय बिटिएस टावर निर्माण सुरु गरेको छ।
 

स्मार्टले आफ्नो डेटा सेन्टर तथा अन्य ठाउँमा जडान गरेका प्रविधीसमेत फोरजी मैत्री रहेको दावी गरेको छ। नयाँ सेवा र प्रणाली सुरु गरे लगत्तै ग्राहक संख्या कम्तीमा दोब्बर बनाउने उसको लक्ष्य छ। अहिले ग्राहक संख्याको आधारमा स्मार्ट तेश्रो स्थानमा छ।
 
अन्तर्राष्ट्रिय स्तरको डेटा सेन्टर निर्माणको काम समेत अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ। कम्पनी डेटा सेन्टर अपरेसनका लागि चाहिने सबै उपकरण र औजार आयातका लागि अनुमति लिइसकेको छ । कम्पनीले सन् २०१३ मा युनिफाइड लाइसेन्स पाएको थियो।प्राधिकरणले हालै स्मार्टको सेवाविस्तार बारे अध्ययन गरेको थियो। त्यस क्रममा कम्पनीले अहिलेसम्म दिएका विवरण सही फेला परेपछि थप अध्ययनको काम भइरहेको प्राधिकरणले जनाएको छ।
 
स्मार्टले सबै काम चुस्त ढंगले गरि रहेको हुँदा उसले फोरजी सेवा पाउने संभावना बढेर गएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए। 'अब एनसेलभन्दा पहिले नै स्मार्टले फोरजी पाउने सम्भावना बढेर गइरहेको छ, झाले विजमाण्डूसँग भने- वैशाखदेखि जेठसम्म स्मार्टले फोरजी सञ्चालनको लाइसेन्स प्राप्त गर्छ।'
 
युटिएलको गति सुस्त
युटिएलले गत असारमा युनिफाइड लाइसेन्स पाएको थियो। उसले प्राधिकरण समक्ष पेश गरेको रोलआउट प्लान अनुसार आगामी असारसम्ममा देशका ४० जिल्लामा नेटवर्क तथा जिएसएम सेवा विस्तार गरिसक्नुपर्छ। तर, कम्पनीले अहिलेसम्म त्यस बारे ठोस काम अघि बढाएको छैन।


उसले रोलआउट प्लानमा उल्लेख गरे अनुसार काम नगरेको भन्दै प्राधिकरणले दुईपटक सचेतपत्र समेत पठाइसकेको छ। कम्पनीले कागजमा सबै काम देखाउने गरेको तर फिल्डमा केही नगरेको हुँदा तत्काल सेवा थप गर्न नसकिने प्राधिकरण अध्यक्ष झाले बताए।
 
'युटिएलले रोलआउट प्लानमा सोलिड वर्क देखाएको थियो तर अहिलेसम्म त्यो सबै कागजी मात्र देखिएको छ, उनले भने- टुजी विस्तार गर्छु भनेको तर अहिलेसम्म केही गरेको छैन।'