कल डिपोजिट टिकाउन बैकहरुबीच बचत खातामा 'ब्याज दर वार', ब्याज खर्च उच्च दरले बढ्ने




काठमाडौं। नेपाल राष्ट्र बैंकले कल डिपोटिको ब्याज दर बचत खाताको तल्लो दरभन्दा माथि हुन नहुने व्यवस्था गरेपछि बैंक तथा वित्तीय संस्थाले वैशाख १ गतेबाट लागू हुने गरि बचतको ब्याजमा पुनरावलोकन गरेका छन्।
 
कल डिपोजिट टिकाइराख्न बचत खाताको ब्याज दरमा केही बृद्धि गर्नुपर्ने वाध्यता बैंकहरुलाई छ। 'त्यसैका लागि बैंकहरुले अहिले बचत खाताको ब्याज दर बढाउन थालेका छन्।'
 ---
कुनै बैंकसँग बचत खातामा ३० अर्ब रुपैयाँ निक्षेप छ। बैंकले यो निक्षेपको ब्याज दर १ प्रतिशत बिन्दुले मात्रै बढाउँदा पनि ब्याज खर्च ३० करोड रुपैयाँले बृद्धि हुन्छ। 
---

संस्थागत निक्षेपकर्तासँग हुने ठूलो रकम बराबरको कल डिपोजिट टिकाइ राख्न बैकहरुले पहिलो चरणमा बचत खाताको ब्याज दर बृद्धि गरेका छन्। सबैभन्दा बढि ब्याज दर एनआइसी एसियाले तोकेको छ। बैंकले बचतको अधिकतम ब्याज ८ प्रतिशत तोकेको छ भने न्युनतम दर ६ प्रतिशत छ।
 
'कल डिपोजिट टिकाइराख्न बचत खाताको ब्याज दरमा केही बृद्धि गर्नुपर्ने वाध्यता बैंकहरुलाई छ' बैंकर्स संघका उपाध्यक्ष किशोर महर्जनले आइतबार बिजमाण्डूसँग भने, 'त्यसैका लागि बैंकहरुले अहिले बचत खाताको ब्याज दर बढाउन थालेका छन्।'
 
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका किशोर महर्जनले गत फागुनमा बढाएको ब्याज दर अहिले फेरि एक प्रतिशत बिन्दुले बृद्धि गरेका छन्। उनको बैकले बचतको अधिकतम ब्याज दर ७ प्रतिशत तोकेको छ भने न्युनतम ५ प्रतिशत बनाएको छ। 
 
बैंकहरुले विगतमा निक्षेप आकर्षित गर्न र  कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशतभन्दा तल कायम गर्न मुद्दति निक्षेप र कल डिपोजिटको ब्याज दर बढाएका थिए। बैंकहरुको कुल निक्षेपमा मुद्दतिको हिस्सा ३७.५३ प्रतिशत छ। बचत खाताको हिस्सा ३५.४५ प्रतिशत र कल डिपोजिटको १८.६९ प्रतिशत छ। फागुनसम्म बैंकहरुसँग कुल निक्षेप १९ खर्ब १५ अर्ब रुपैयाँ छ। 
 
बैंकहरुले मुद्दति र कल डिपोजिटको ब्याज बढाउँदा पनि बचत खाताको भने बृद्धि गरिरहेका थिएनन्।राष्ट् बैंकले बचतको ब्याज भने अझै कम रहेकाले बढाउन दबाब दिँदै आए पनि बैकहरुले जाँगर देखाएका थिएनन्।
 
अहिले भने कल डिपोजिट टिकाउन बैंकहरुले बचत खाताको ब्याज बृद्धि गरेका हुन्। बचत खाताको ब्याज बढाउँदा बैकहरुको ब्याज खर्च उच्च दरले बढ्छ। खासगरी नयाँभन्दा  पुराना बैंकहरुको खर्च ब्यापक रुपमा बृद्धि हुन्छ।
 
उदाहरणका लागि, कुनै बैंकसँग बचत खातामा ३० अर्ब रुपैयाँ निक्षेप छ। बैंकले यो निक्षेपको ब्याज दर १ प्रतिशत बिन्दुले मात्रै बढाउँदा पनि ब्याज खर्च ३० करोड रुपैयाँले बृद्धि हुन्छ। यही कारण बैंकहरुले बचत खाताको ब्याज बढाउन चाहेका थिएनन्। बचतको ब्याज बढ्दा ऋणको ब्याज बढाउन दवाव पर्छ भने बढेको ऋणको ब्याज घटाउन गाह्रो हुन्छ।
 
'कल डिपोजिट टिकाउन बचतको ब्याज बृद्धि गरेपछि बैंकहरुको ब्याज खर्च उक्लिन्छ' एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बिजमाण्डूसँग भने, 'अब ऋणको ब्याज घट्दैन। १३ प्रतिशत हाराहारी ऋणको ब्याज बस्छ।'
 
राष्ट्र बैकका अनुसार, बाणिज्य बैकहरुको सबै निक्षेपको औषत ब्याज दर ५.०४ प्रतिशत छ। आधार दर ८.३ प्रतिशत छ। बैंकहरुको औषत ऋणको ब्याज दर १०.६ प्रतिशत छ। यो फागुनको तथ्यांक हो, जुन बेला बचत खाताको ब्याज दर बढेको थिएन। अब बचतको ब्याज दर बृद्धिपछि औषत ब्याज दर १३ प्रतिशत हाराहारी पुग्ने बैकरहरुको अनुमान छ।
 
आजबाट बैंकको कल डिपोजिटको अधिकतम ६ प्रतिशत ब्याज पुगेको छ। सबै बैंकलाई यो ब्याज दर लागू हुँदैन। अरु बैंकहरुलाई पनि निक्षेपको अभाव भयो भने बचतको ब्याज दर बढाएर कल डिपोजिट तान्नु पर्ने अवस्था आएमा ब्याज अझै चुलिन्छ। यद्यपी पुराना र ठूला बैकको बचतको अधिकतम ब्याज दर ४ प्रतिशत मात्र छ। यसको अर्थ हो, न्यूनतम दुई प्रतिशत ब्याजमा कल डिपोजिट लिनुपर्छ।
 
चैंतसम्म कल डिपोजिटको प्रकाशित दर जति भएपनि बोलकबोलमा जति पनि दिन पाइँन्थ्यो। अब भने बचतको न्यूनतमभन्दा माथि जाने स्पेस बैकसँग छैन।
 
'कल डिपोजिट टिकाउनु पर्ने वाध्यता छ। केही बैंकले ६ देखि ८ प्रतिशतसम्म बचतको ब्याज पुर्याएपछि अरु बैकले पनि केही न केही पुनरावलोकन गर्नुपर्ने हुन्छ' सानिमा बैकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, 'ब्याज नवढाएर सानिमामा भएको पैसा अर्को बैंकमा सर्ने संभावना हुन्छ।'
 
दाहालको सानिमा बैकले अहिले बचतमा तीनदेखि पाँच प्रतिशत ब्याज दिँदै आएको थियो। उनले आफूसँग कल डिपोजिट टिकाइ राख्न बचतको ब्याज पाँचदेखि सात प्रतिशत पुर्याउने बारे आन्तरिक छलफल थालिसकेका छन्।

Share this Story

   

कल डिपोजिट टिकाउन बैकहरुबीच बचत खातामा 'ब्याज दर वार', ब्याज खर्च उच्च दरले बढ्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.