Snickers

शेखरले पूरा गरे गोल्छा समूहको तीन दशकको सपना, परिवारसहित विराटनगरमा खुशीयाली


विराटनगर। नेपालकै जेठो औद्योगिक घराना गोल्छा अर्गनाइजेसनको तीन दशक पुरानो सपना पूरा भएको छ।



उद्योगी व्यवसायीको सबैभन्दा बढी संजाल रहेको नेपाल उद्योग वाणिज्य महासंघको सर्वोच्च पदमा पुग्ने गोल्छा परिवारको सपना पूरा भएको छ।महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भए।उनी अबको तीन वर्षपछि महासंघको कमाण्ड सम्हाल्नेछन्।
 

अर्गनाइजेसनका संस्थापक स्वर्गीय रामलाल गोल्छाका कान्छा छोरा हुलासचन्द गोल्छा यसअघि २०४८ मा महासंघको वरिष्ठ उपाध्यक्ष थिए । 
अर्गनाइजेसनका सञ्चालक दिनेश गोल्छाका अनुसार २०५० को निर्वाचनमा हुलासले नोमिनेशन फिर्ता लिएपछि विनोद चौधरी निर्विरोध अध्यक्ष भएका हुन् ।

अध्यक्षको पदमा उम्मेदवारी दर्ता गरेपछि एक्कासि हृदयाघात भएकाले हुलासले नोमिनेशन फिर्ता लिनुपरेको थिए। केही समयपछि गोल्छा र चौधरी परिवारका बिचमा मनोमालिन्य सुरु भयो । दुबै औद्योगिक घरानाको चिसोपनले दिवाकर गोल्छाले अध्यक्ष पदमा उम्मेदवारी दिएनन् । दिवाकर पनि महासंघको उपाध्यक्ष बने तर अध्यक्षको रेशबाट वाहिरिए।
 
गोल्छा समूहकै असहयोगका कारण चौधरीले दोस्रो अध्यक्षमा चयन हुन सकेनन् र पद्मज्योति अध्यक्ष भए । त्यसबेलामा गोल्छा अर्गनाइजेसनले पद्मज्योतिलाई खुलेर समर्थन गरेको थियो ।दिवाकरले दोस्रो पटक पनि अध्यक्षका लागि कसरत नगरेका होइनन् । ‘तर महासंघभित्रको राजनीति कति फोहरी भइसकेको थियो भने’, दिनेशले भने, ‘दिवाकर दाइको व्यक्तित्वसित त्यहाँभित्रको राजनीति ‘सुट’ भएन र अन्तमा उम्मेदवारी दिने इच्छै गर्नु भएन ।’
 
आफ्ना दाजु र स्वर्गीय बुबाको सपनालाई साकार तुल्याउने जिम्मा अब शेखरमा आइपरेको छ । उनी तीन वर्षपछि महासङ्घको अध्यक्ष स्वतः हुनेछन् ।
गोल्छा हाउसमा आफूभन्दा जेठा सदस्यलाई अत्यन्त आदर र सम्मान गर्ने परम्परा छ । यो चलनको सुरुआत स्वर्गीय रामलालले नै गरेको बताइन्छ ।
विराटनगर जुट मिल्स र रघुपति जुट मिल्समार्फत् नेपालमा औद्योगिकीकरणको श्रीगणेश गर्ने रामलाल गोल्छा नै हुन् ।
 
‘म यति बेला भावुक भएर मेरा पूज्य हजुरबा रामलालजी र बुबा हुलासचन्दज्यूसित मनमनै आशीर्वाद मागिरहेछु’, नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष शेखरले भने, ‘उहाँहरूको सपना र मार्गनिर्देशनलाई मैले सदैव सम्झनु मेरो कर्तव्य हुनेछ ।’पारिवारिक घरानाका आधारमा संख्यात्मक  रूपमा अहिले पनि गोल्छा अर्गनाइजेसनसित सम्बन्धित उद्योग नै नेपालमा धेरै छन् ।
 
खुसीको लहर 
वरिष्ठ उपाध्यक्षमा विजयी भएसँगसँगै विराटनगरको गोल्छा हाउस र विराटनगरको मारवाडी समुदायमा पनि खुसीको लहर छाएको छ ।

मङ्गलबार राति अबेरसम्म विराटनगरको मेनरोडमा पर्ने अतिथि सदनअगाडि मारवाडी समुदायका प्रतिष्ठित व्यक्तिहरू जम्मा भएर खुसी साटासाट गरिरहेका थिए ।
 
‘विराटनगरको मारवाडी समुदायको अभियन्ता रहेको गोल्छा परिवारका सदस्य महासंघको नेतृत्वमा पुग्दैछन्’, विराटनगरमा मारवाडी समुदायका अग्रज एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष ताराचन्द खेतानले भने, ‘यो खबरले विराटनगरको व्यावसायिक समुदाय खुसी छ ।’
 
 
 

Share this Story

   

शेखरले पूरा गरे गोल्छा समूहको तीन दशकको सपना, परिवारसहित विराटनगरमा खुशीयाली को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.