महासंघ महासंग्राममा महारथीका जितका आआफ्नै तर्क, वरिष्ठ उपाध्यक्ष उमेद्वारको नजर जिल्लातिर

बिजमाण्डू
२०७३ चैत्र २१ गते १४:१४ | Apr 3, 2017
महासंघ महासंग्राममा महारथीका जितका आआफ्नै तर्क, वरिष्ठ उपाध्यक्ष उमेद्वारको नजर जिल्लातिर

नेपाल उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्वका लागि सोमबार मनोनयन दर्ताको म्याद सकिँदैछ। २८ चैतमा हुने मतदानका लागि वरिष्ठ उपाध्यक्षका प्रतिश्पर्धीहरु शेखर गोल्छा र किशोर प्रधानले प्यानल सहित मनोनयन दर्ता गरि सकेका छन्। यसपाली वरिष्ठ उपाध्यक्षमा चुनिने व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने हुँदा चुनावी सरगर्मीको पारो उच्च भइ सकेको छ। मतदाता तानातानमा दुबै पक्षको होड सुरु भएको छ। वरिष्ठ उपाध्यक्षका आकांक्षीहरु गोल्छा र प्रधानले विजमाण्डूसँग प्रस्तुत गरेको आआफ्नो जित्ने आधार

Tata
GBIME
Nepal Life
'हार्नेले प्रतिशोध साँध्ने ठाउँ बन्यो निर्वाचन'

पछिल्लो साधारण सभा पछि महासंघ आन्तरिक रुपमा ठूलो विवादमा फस्यो। तपाईंले अहिले वरिष्ठ उपाध्यक्षको रुपमा उम्मेद्वारी दिनु भएको छ। महासंघको साखलाई पुनर्जीवन दिन तपाईंका अजेन्डा के छन्?
चुनावी दृष्टिकोणले तपाईंले साख र प्रतिश्पर्धाको कुरा गर्नु भएको हो भने मलाइ लाग्छ प्रजातान्त्रिक प्रकृयामा निर्वाचन हुनै पर्छ। र, त्यस्तो प्रतिश्पर्धा स्वस्थकर हुन अनिवार्य छ। जित्नेले अहंकार र हार्नेले प्रतिशोध साँध्ने आधार निर्वाचनलाई बनाउनु हुँदैन। अहिले अहंकार र प्रतिशोध एक प्रकारले हाम्रो संस्कार बनि सकेको छ। त्यसबाट हामी बाहिर निस्किनु पर्छ। र, चुनाव भएर संस्था कमजोर हुन्छ भन्ने चाहिँ मलाई लाग्दैन।
त्यस बाहेक महासंघको साखमै समस्या आएको छ भन्ने मलाई लाग्दैन। मुलुकको परिस्थिती पनि यस्तै थियो की सबै विषयको केन्द्रमा जहिले पनि राजनीति आउँथ्यो। अर्थतन्त्रमा पुरै राजनीतिको छाँया थियो। त्यस्तो समयमा महासंघको आवाज केही मधुरो सुनिएको होला। तर, धेरै राम्रा काम भएका छन्। अहिले भएका कामहरु आगामी पुस्ताले पनि हेर्नेछ र त्यसलाई ‘एप्रिसिएट’ गर्नेछ।
जस्तो उदाहरणको लागि संविधानकै कुरा गरौँ। संविधानको पहिलो मस्यौदा आउँदा निजी क्षेत्रका लागि धेरै नकारात्मक प्रावधान थिए। उद्योगी व्यवसायीलाई धेरै तिरबाट हात बाँध्ने काम गरिएको थियो। यहि कार्यकालमा हाम्रा अध्यक्ष ज्यूले त्यसमा धेरै मेहनतपूर्वक संविधानसभाका सबै समितिहरुलाई ‘कन्भिन्स’ गरेर संविधानलाई उद्योगमैत्री बनाउनु भएको हो। र, अहिले पनि धेरै ऐन/कानुन हाम्रो सहकार्यमा आइ रहेका छन्।

कुनै समय यस्तो थियो की सरकार या विपक्षी दलले सुल्झाउन नसकेका मुद्दा समेत महासंघकोलिडमा समाधान हुन्थे, अहिले यस्ता भूमिकाबाट महासंघ टाढा भएजस्तो देखिन्छ?
मलाई त्यस्तो लाग्दैन। किनभने महासंघ अहिले पनि यस्ता भूमिकामा अहिले पनि अग्रणी नै छ। पहिला जुन तराई आन्दोलनहरु भए त्यसमा पनि हामीले आफ्नो भनाइ सशक्त रुपले राखेका थियौँ। तराई-मधेस केन्द्रित नेताहरुसँग लगातार छलफल र बहस गरेका थियौँ। कुनै समय ठूल्ठूला बन्द हड्ताललाई समेत हामीले समन्वय गरेर फिर्ता गराएकै हौँ। त्यसैले समय र सन्दर्भ फरक हुन सक्छ तर हाम्रो सकृयता र प्रभावकारिता कम भएको हो भन्ने मलाइ लाग्दैन।
 
महासंघ यत्रो ठूलो संस्था भएर पनि आन्ट्रप्रेनियरशीप विकासका लागि खास अजेन्डा बोक्न सकेन। कता कता रुमलियो भन्ने छ?
सुधार गर्ने संभावनाहरु धेरै छन्। र, अहिले पनि हाम्रा ओडीओपी, ओभिओपी जस्ता जति पनि कार्यक्रम छन् ति अत्यन्त प्रभावकारी छन्। यी कार्यक्रमबाट देखिने गरि काम भएको छ। त्यस बाहेक विभिन्न अन्तर्राष्ट्रिय निकायहरुसँग समन्वय गरेर क्षमता बिकासका लागि जिल्ला जिल्लामा कार्यक्रम समेत लगि रहेका छौँ। र, यो क्रम भविश्यमा पनि निरन्तर हुनेछ। जस्तै, आइएलओको कार्यक्रममा पनि कसरी हाम्रो क्षमता बढाउने भनेर काम गरि रहेका छौँ। सरकारको प्राथमिकता आर्थिक क्षेत्रमा नभएको कारण पनि महासंघको प्रभावकारिता कम भएको हो की भन्ने प्रश्न उठेको पाइयो। तर, सरकारले आर्थिक मुद्दामा कम ध्यान दिए पनि हाम्रो सकृयता भने निरन्तर बढ्दो छ। आगामी दिन हामी अझ बढि गर्न सक्छौँ र गर्छौँ।
 
तपाईंले भन्नु भयो राजनीतिले आर्थिक मुद्दा ओझेल पार्न खोज्यो। तपाईंहरुको आफ्नै चुनाव पनि राजनीतिबाट मुक्त भने देखिँदैन। राजनीतिक दलसँग गएरै मत माग्ने परिदृष्य समेत देखिएको छ?
हेर्नुस्, राजनीति नछिरेको क्षेत्र छैन। हाम्रो जिल्ला तहमा पनि राजनीति छ। तर, म तपाईं जब उद्योग बाणिज्य महासंघको सदस्य या पदाधिकारीको रुपमा उक्त छाता भित्र छिर्दा भने कुनै राजनीतिक अजेन्डा बोक्नु हुन्न भन्ने मेरो भनाइ हो। राजनीतिलाई उद्योग वाणिज्य क्षेत्रमा न्यूनीकरण गर्दै लैजाने अभियान अन्तर्गतनै मैले यसो भनेको हुँ। हामी सबै पदाधिकारी सदस्य मिलेर राजनीतिलाई महासंघ भित्र न्यूनीकरण त गर्नै पर्छ। किनभने यस्तो छाता संगठन भित्र राजनीति हावी भयो भने चाहिँ साँच्चिकै यसको प्रभावकारीता घट्न जान्छ।
 
तपाईंले चाहिँ दलका नेताकहाँ पुगेर राजनीतिक आशिर्वाद माग्नु भयो की भएन?
मैले कुनै पनि दलसँग आशिर्वाद मागेको छैन। म विशुद्ध उद्योग व्यवसायी मान्छे हुँ र मैले आफ्ना व्यवसायीक अजेन्डालाई मात्र अघि राखेर भोट मागेको छु।
 
तपाईं अहिले निर्वाचित हुनु भयो भने पनि तीन बर्षपछि मात्र कार्यकारी नेतृत्वमा पुग्नु हुन्छ। त्यस अनुरुप आगामी छ बर्षका लागि तपाईंले महासंघमा देख्नु भएका सपना के हुन्?
वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएँ भने अध्यक्षको रुपमा भवानी राणाको कार्यकाल सफल बनाउनु नै मेरो पहिलो कर्तव्य हुनेछ। त्यस बाहेक मैले ४/५ क्षेत्रमा सपनाहरु बोकेको छु। अहिले जतिपनि ऐन कानुन आउन बाँकी छन् तिनलाई निजी क्षेत्रमैत्री, लगानीमैत्री बनाउन काम गर्छु। उपाध्यक्षको रुपमा पनि मैले यो काम गरि रहेको थिएँ। वरिष्ठ उपाध्यक्ष चुनिएपछि पनि त्यसलाई निरन्तरता दिन चाहन्छु।

अर्को कुरा सचिवालय सुधारको योजना बनाएको छु। सूचना प्रविधिको क्षेत्रमा भएको पछिल्लो विकाससँग महासंघको सचिवालयलाई जोड्ने र हाम्रा सदस्यहरुलाई चाहिएको सूचना र सेवा तत्काल उपलब्ध हुने वातावरण बनाउने मेरो योजना छ।
मेरो तेस्रो अजेन्डा अन्तर्राष्ट्रिय समन्वय हो। म नेपालमा केही गरौँ भन्ने बिभिन्न अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय गरेर काम गर्नेछु। चाहे त्यो वैदेशीक लगानीमा होस्, क्षमता अभिबृद्धिमा होस्। जिल्लाका साथीहरुलाई एक्सपोजर दिने कुरामा पनि बिभिन्न अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वयमा काम गर्नेछु। यसबाहेक हाम्रा नियमित कामहरुलाई अझ प्रभावकारी बनाएर लैजाने मेरा योजना छन्।
 
चुनाव एक रणनीतिक प्रतिस्पर्धा पनि हो। तपाईंको नजरमा तपाईंले जित्ने आधार के के हुन्?
मैले जित्ने केही प्रष्ट आधार छन्। म अर्थतन्त्रको एक गम्भिर स्टेक होल्डर पनि हो। त्यस हिसाबले उद्योग र बाणिज्य क्षेत्रको पीडा के हो भन्ने राम्रोसँग बुझेको छु। जिल्ला जिल्लामा पुगेर त्यहाँका साथीहरुको समस्या सुनेको छु। देश दौडाहाको क्रममा मैले के देखेँ भनें साना, मझौला या ठूला जस्ता उद्योग हुन्, ८० प्रतिशत जस्तो पिडा एकै खालको हुँदो रहेछ। र, त्यो पिडा मैले राम्रोसँग बुझेको छु। नेतृत्वमा पुगेपछि त्यसलाई समाधान गर्न सक्छु भन्ने आत्मविश्वास छ।
यस बाहेक मेरो एउटा पारिवारिक पृष्ठभूमी पनि छ। उद्योग वाणिज्य महासंघको जग बसाउँदा पनि मेरो स्वर्गीय बुवाले पनि तदर्थ समितिको सदस्यको रुपमा काम गर्नु भएको थियो। र, त्यस बेला बिधान बनाउने जिम्मेवारी उहाँलार्इ दिइएको थियो। त्यसअघि पछि पनि बुवा लगायत हाम्रो परिवार नै चेम्बर अभियानमा निरन्तर लागि रह्यो। दाइ पनि महासंघको उपाध्यक्ष बन्नु भयो। पूर्व (बिराटनगर)को चेम्बर अभियानमा हाम्रो परिवारका बिभिन्न सदस्यले लामो समय नेतृत्वदायी भूमिका नै निभाउनु भएको छ। यो पारिवारिक पृष्ठभूमीको कारण पनि मलाई चेम्बर अभियान र आन्दोलनबारे राम्रोसँग थाहा छ। त्यसैले प्रभावकारी ढंगले महासंघलाई नेतृत्व गर्न सक्छु भन्ने विश्वास छ।
 
चुनावी माहोल हेर्दा चाहिँ तपाईं कहाँ कहाँ आफ्नो सवलता देख्नु हुन्छ?
एशोसिएट क्षेत्रमा मैले काम गरि सकेको छु। त्यसलाई साथीहरुले पनि देख्नु भएको छ। र, एप्रिसिएट पनि गर्नु भएको छ। उहाँहरुले अहिले निर्वाचनमा मलाई भोट दिएर विश्वास गर्नु हुन्छ भन्ने आश छ।
जिल्लामा पनि ५० भन्दा बढी जिल्ला नगर घुमें। उहाँहरुको समस्या बुझें। उहाँहरु पनि मैले क कस्तो काम गरि रहेको छु भनेर जानकार हुनुहुन्छ। उहाँहरुले जुन एस्योरेन्स दिनु भएको छ, त्यसप्रति म ढुक्क छु। वस्तुगतका साथीहरुसँग पनि मैले निरन्तर अन्तर्कृया र छलफल गरेको छु। उहाँका समस्याबारे पनि जानकार छु। र, अहिले निर्वाचनमा उहाँहरुले पनि मलाई ठूलो भरोसा दिनु भएको छ। त्यसैले म मा पुरा आत्मविश्वास छ की यो निर्वाचन जित्छु। राम्रो मतप्रतिशत सहित जित्छु।

'अहिलेको फुरफुर पैसाको धाकमा'

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनले छोपिसकेको छ। निर्वाचनमा तपार्इले प्यानलसहित उम्मेदवारी समेत दर्ता गरिसक्नु भएको छ। महासंघभित्र तपार्इले छुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा किन गर्नुपर्यो?
म एउटा सशक्त व्यक्ति हो, जसले आफ्नो जीवनको २१ वर्ष नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न पदमा वितायो। जिल्लाको अध्यक्षदेखि क्षेत्रको अध्यक्ष भइसकेको छु। महासंघमा १८ वर्ष केन्द्रीय सदस्य र तीन वर्ष` उपाध्यक्ष भएर बसिसकेको व्यक्तिले नेतृत्वमा किन भन्ने सवाल छैन। नेतृत्व मेरो आवश्यकता हो र  महासंघलार्इ मेरो आवश्यकता छ। आजको मध्यम तथा मझौंला उद्योगीलार्इ मैले ठूलो उद्योगी  बनाउँनु छ। महासंघमा ८७ प्रतिशतको साना तथा मझौंला हामी उद्योगी सदस्य छौं। महासंघमा १३ प्रतिशतको हाराहारीमा ठूला उद्योगीहरु छन्। १३ प्रतिशतको हाराहारीबाट मात्रै समग्र  देशको आर्थिक विकास हुन नसक्ने र दिशानिर्देश गर्न नसक्ने भएकोले  मध्यम वर्गीय उद्योगीको हैसियतले सबैको चाहना बुझेको र ठूला उद्योगीसँग सहकार्य गरेको आधारबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न अघि बढेको हुँ।
 
महासंघको निर्वाचनमा राजनीतिक दलको आग्रह वा पूर्वाग्रहका बारेमा सधै वहश हुन्छ।विधानमा दलीय विषय निषेध गरिएको छ तर निर्वाचनमा दलको आशिर्वाद लिने होड चल्छ। दलको सहयोग माग्नु विधान विपरित होइन र?
हाम्रो संस्था भनेको विधान अनुसार राजनीतिबाट मुक्त रहनुपर्छ। महासंघभित्र कुनैपनि राजनीतिक दलको सदस्यता हुनुहुँदैन भन्ने सही हो। तर, बीस वर्षसम्म निर्वाचन कुर्नुपर्ने अवस्था मुलुकमा आयो। स्थानीय निकायको निर्वाचन बीस वर्षसम्म नहुँदा जनता प्रजातान्त्रिक मूल्य र मान्यता पालना गर्ने संस्था खोजे र त्यो संस्था महासंघ बन्यो। हामी निर्वाचन गरिरहने तर देशमा निर्वाचन नहुने परिस्थिती आएपछि मान्छेहरुले आफ्नो 'पोलिटिकल एजेण्डा' हाल्न थाले। निर्वाचन नभएपछि जनता जाने ठाउँनै भएन। जनताले भनेको आफ्नो 'पोलिटिकल एजेण्डा' लार्इ स्थापित गराउने हो। त्यसपछि त्यहाँ कांग्रेस, एमाले, माओवादी सम्पूर्ण राजनीतिक दल हाम्रो महासंघको सेरोफेरोमा घुसे।

स्थानीय निकायको निर्वाचन नहुँदा विभिन्न प्रकियाबाट कोही दलको अध्यक्ष भएर आए, कोही बरिष्ठ उपाध्यक्ष भएर आए। बीस वर्षको यो धुमिल राजनीतिमा राजनीतिक दलको पकड हुन गयो। यस्तो अवस्थामा उद्योग वाणिज्य महासंघ अछुत रहन सक्दैन। अहिले सीधा सवाल गर्दा कुनैपनि उद्योगी व्यवसायी राजनीतिको परिप्रेक्ष्यभन्दा वाहिर देखिएको छैन। म कटिबद्ध भएर राजनीतिभन्दा वाहिर बस्न चाहे पनि वातावरण यस्तो बन्यो चारैतिरबाट कतै न कतै जोडिनु पर्ने वाध्यात्मक अवस्था आयो। यो वास्तविकता हो। कसैले  बास्तविकता लुकाएर लुक्ने अवस्था छैन। मेरो प्रतिद्धन्द्धीले होइन भन्नुहुन्छ भने गलत भन्दै हुनुहुन्छ। राजनीतिक दलसँग गुहार माग्न सबैभन्दा पहिला उहाँ नै जानुभएको हो। यस्तो राजनीति भएको ठाउँमा कसरी निष्पक्ष हुन्छ?
 
त्यसो भए तपार्इ पनि चुनाब जित्न राजनीतिक दलसँग सहयोग माग्न जानुभएको छ?

म त्यसरी राजनीतिक दलसँग सहयोग माग्न गर्इँन्। हो, जसजसलार्इ भेटे र अगाडि देखे, मेरै अध्यक्षहरु कुनै न कुनै 'पोलिटिकल एलाइन्स' का हुनुहुन्छ र भोट माग्न जाँदाखेरी उहाँहरुलार्इ देखे। उहाँहरुकै सेरोफेरोबाट आएको विचारहरुबाट राजनीतिक 'एलायन्स'  रहेँछ भन्ने जानकारी भयो। अहिले महासंघ नयाँ परिवेशबाट जानुपर्छ। अब सरकारले निर्वाचन गराउँदैछ। धेरै महासंघभित्र नै रहनुभएका व्यक्तिहरु मेयर उपमेयरमा उमेद्वारी दिने तयारीमा हुनु हुन्छ। यो अवस्थालाई ध्यानमा राखेर अब आउने दिनहरुमा महासंघबाट राजनीतिक प्रभाव विस्तारै हट्दै जान्छ र यो स्वच्छ हुन्छ जस्तो लाग्छ। महासंघ भनेको उद्योगी व्यवसायीको मात्र संस्था हो, यसलाई त्यस्तै बनाउनु पर्छ।
 
तपार्इले चुनाब जित्नु भयो भने तीन वर्षपछि महासंघको अध्यक्ष बन्नुहुन्छ। निर्वाचन जित्नकै लागि राजनीतिक दल गुहार्दा राजनीति झन् हाबी हुँदैन र?

म कुनैपनि राजनीतिक दलमा गएको पनि छैन र जाँदा पनि जान्न। मेरो सेरोफेरोमा सबै हुनुहुन्छ। व्यक्तिगत रुपमा म सबैको हुँ। म उद्योगी व्यवसायीको हितको लागि हुँ। उद्योगी व्यवसायीको हितको लागि 'एलायन्स' छ भने त्यो पनि मेरा साथीहरुनै हुन्। उहाँहरु मेरा आफ्नै मान्छेहरु हुनुहुन्छ। उहाँहरुको हित र व्यवसायीको हितका लागि हामफालेको व्यक्ति हुँ। अध्यक्ष हुनेसम्मको प्रकियामा कुनैपनि उद्योगी व्यवसायीलार्इ अन्याय नहोस् भन्ने मान्यता राख्छु। उद्योगी व्यवसायी के चाहन्छ? सरल, प्रत्यक्ष सम्पर्क हुने नेतृत्व चाहन्छ। घरदैलोमा पुग्ने अध्यक्ष चाहिएको छ की फोन नउठाउने अध्यक्ष चाहिएको छ? हामीलार्इ संस्था बलियो बनाउन अनुभव चाहिएको छ की कुर्सी चाहिएको छ? यो समग्र विषयलार्इ ध्यान दिनुपर्छ। को योग्य छ? को योग्य छैन? आफ्नो ठाउँमा छ,  तर, कसको अनुभव तिखारिएको छ? कसले महासंघ चलाउन सक्छ? भन्ने निर्णय गर्नुपर्ने अवस्था अहिलेको हो।

महासंघलार्इ कसरी अगाडी बढाउनुहुन्छ?
मैले महासंघलार्इ हाँक्ने स्पस्ट एजेण्डा लिएर आएको छु। मैले १५ बुँदे आफ्नो घोषणापत्र नै तयार पारेर महासंघलार्इ अगाडि बढाउने खाका ल्याएको छु। म महासंघको नेतृत्वमा आएपछि त्यसलाई कार्यान्वयन गर्नेछु। देशको अर्थतन्त्रको विकासका लागि अत्यन्तै आवश्यक छ। उद्योगी व्यवसायीहरुको सम्मान र हकहितको रक्षा गर्ने मेरो पहिलो एजेण्डा हो। मुलुकको अर्थ व्यवस्थामा योगदान पुर्याउने उद्योगी व्यवसायीप्रति राज्यले मर्यादित र सम्मानित व्यवहार गर्नुपर्छ र यसलार्इ संबोधन गर्नेतर्फ म लाग्नेछु।
 
दोस्रो एजेण्डा भनेको उद्योगी व्यवसायीको मनोबल बढाउने हुनेछ। मुलुकको राजनीतिक अस्थिरता, नाकाबन्दी, बन्द हड्ताल र चन्दा आतंकले उद्योगी व्यवसायिक क्षेत्र कमजोर छ। उद्योगी व्यवसायीको मनोबल उच्च राख्नेतर्फ पहल गर्नेछु। महासंघको प्रतिष्ठा उच्च राख्ने र आर्थिक उन्नतिको सशक्त सम्वाहक बनाउन लाग्नेछु। महासंघको सांगठनिक सुधारदेखि सचिवालय सुदृढीकरण मेरो प्राथमिकतामा रहनेछ। यो मेरो एजेण्डाले ठूलो र साना व्यवसायीका समस्यालार्इ संबोधन गर्ने छ। सरकारसँग सहकार्य गरेर यो कार्यान्वयन गराउने प्राथमिकता मेरो हुने छ।

प्यानल बनाएर निर्वाचनमा जानु भयो। तर प्यानल बनाएपनि तपार्इको समूहले एशोसिएटमा उम्मेदवारी नै दिन नसक्ने अवस्था आयो नि?
हाम्रो मधेशमा एउटा कहानी छ। 'अचलत गदरी छलकत जाये'  भन्ने कहानी छ। जो फूरफूर गर्छ नी त्यो तलतिर झर्छ। अहिले जो फूरफूर गरिरहेको छ त्यो उसले पैसाको धाकमा हो। उसले मान सम्मान कसैको लिन सकेको छैन। जति पनि सम्मान पाउने व्यक्तित्वहरु हुनुहुन्छ मुख  देखाउने उतापट्टि र काम (भोट हाल्ने) यहाँ गर्नुहुनेछ भन्ने मेरो विश्वास हो। आजको दिनमा साथीहरुलार्इ विश्वास दिलाउन सकिन भने उद्योग वाणिज्य महासंघले धेरै पछाडि फर्किनुपर्ने अवस्था हुन्छ।
अहिले साथीहरुले हाम्रो सम्मान तपार्इसँग छ भनेका छन्। छोराछोरीहरु आमाबाबुभन्दा साथीसँग बढी रमाउँछन्। म महासंघलार्इ बचाउन आमाबाबुको रुपमा उभिएको व्यक्ति हुँ। आवश्यकता त्यो छोरालार्इ मैसँग पर्छ र छोरीलार्इ मैसँग पर्छ तर दिनभरी साथीसँग बस्छ। अहिलेको जति पनि सदस्य साथीहरु छन् दिनभरी बस्न दिनुस घर यही हो।

तपार्इसँग धेरै ठूलो आत्मविश्वास देखिन्छ। त्यो आत्मविश्वास र निर्वाचनमा जित्ने वास्तविक आधार चाँही के हो?
मेरो आत्मविश्वास भनेको ७० प्रतिशत मत जिल्ला तथा नगरबाट ल्याउँछु भन्ने नै हो। ५० प्रतिशत भन्दा बढी मत बस्तुगतबाट ल्याउँछु र म २५ प्रतिशत मत एशोसिएटबाट ल्याउँछु। एशोसिएटमा उनीहरुको दाबी म तोड्छु। जुन मान्छेलार्इ आफ्नो व्यवसायसँग समय हुँदैन त्यो मान्छेले संस्थामा के काम गर्छ? जुन मान्छे सरकारसँग कर राजश्वलगायतका समस्यामा घेरिएको हुन्छ त्यो मान्छेले कसरी काम गर्छ? जो मान्छेको प्रशस्त कारोबार छ र कारोबारमा हजारौ कर्मचारी छन् त्यो मान्छे कसरी हाम्रो समस्या समाधान गर्छ?
 
अहिले महासंघले जोगाउने समय हो। संस्थामा संकट आइसकेको छ। यो जोगाउने दायित्व सबै उद्योगी व्यवसायीको हो। तीन वर्षमा हामीले धेरै ठूलो संकट ब्योहोर्यौ। तीन वर्षमा हाम्रो निर्वाचित अध्यक्ष पदच्यूत हुनुपर्यो र अर्कोलाई जर्वजस्ती निर्विरोध गराउनुपर्यो। विधान संशोधन गरेर नयाँ खुड्किलो थप्नुपर्यो। नाकाबन्दी, राजनीतिक अस्थिरता, संविधान जारी पछिको अवस्था र प्रादेशिक संरचनामा जाने लगायतका समस्या यही बेलामा भयो। यो सबै समस्या झेल्ने क्षमता किशोर प्रधान बाहेक अरु कसैसँग पनि छैन। आजको दिनमा मेरो प्रतिद्धन्द्धीले सक्दैन मैले ठोकेर भन्छु। आवश्यकता अनुसार टेबल ठोकेर काम गराउनसक्ने क्षमता अथवा सहकार्य गरेर मनाएर गराउने क्षमता मसँग मात्रै छ।