सेयर बजारमा उछाल, ७७ अंकको बृद्धि, एक्सपर्ट भन्छन्- बैंक ऋण खुकुलोसँगै चुनावी माहौलले तान्यो

बिजमाण्डू
२०७३ चैत्र १५ गते १५:४४ | Mar 28, 2017
सेयर बजारमा उछाल, ७७ अंकको बृद्धि, एक्सपर्ट भन्छन्- बैंक ऋण खुकुलोसँगै चुनावी माहौलले तान्यो


काठमाडौँ। चुनावी माहौल बन्दै गएका बेला बैंकहरुले पनि लिमिट भएकाहरुलाई मार्जिन लेन्डिङ कर्जा चलाउन दिएपछि सेयर बजार चैतयता बढ्न थालेको छ। मंगलबार भने बजारमा बढेर  तीन पटकसम्म सर्किट ब्रेकर लागेको।

Tata
GBIME
Nepal Life

११ बजेदेखि खुलेको सेयर बजार ७६.७९ अंकको बृद्धिसहित दुई बजे नै बन्द भयो। तेस्रो पटक पाँच प्रतिशतको बृद्धि भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बंगलबारका लागि कारोबार बन्द गरेको हो। दिनभरीमा १४४ कम्पनीका एक अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

चैत १ गते सुचक १३४७.०९ अंकमा थियो। त्यसयता निरन्तर २६३.५३ अंकले बढेर १६१०.६२ अंकमा उक्लिएको हो।

'बजारमा अरु बेला नियमित कारोबारहरु थिए, आज भने नयाँ लगानीकर्ताहरुबाट पनि 'वाइङ अर्डर' आइरहेको थियो' ब्रोकर संघका उपाध्यक्ष भरत रानाभाटले भने 'बजारमा भइरहेका लगानीकर्ता पनि २/३ प्रतिशत भाउ बढेपनि किन्ने रणनीतिमा वाइङ पोजिसनमा थिए।'

१३५३.९० अंकबाट सुरु भएको शेयर बजारमा कारोबारको २३ मिनेटमै तीन प्रतिशतको बृद्धिसहित पहिलो सर्किट ब्रेकर लाग्यो। बजारको किनबेच १५ मिनेटका लागि रोकिएको थियो। ११ बजेर ३८ मिनेटमा खुलेको बजारले पुन दोस्रो घण्टा १२ बजेर ५६ मिनेटमा चार प्रतिशतको वृद्धिपछि अर्को सर्किट ब्रेकर लाग्यो। यसले गर्दा आधा घण्टालाई कारबार फेरि रोकियो।

एक बजेर २६ मिनेटमा खुलेको बजार एक बजेर ५९ मिनेट जाँदा पाँच प्रतिशतको वृद्धिसँगै तेस्रो पटक सर्किट ब्रेकर लागेर मंगलबार कारोबार पुरै बन्द भयो। चार घण्टाको कुला कारोबारमा जम्मा दुई घण्टा १५ मिनेट मात्र बजार खुल्यो।

शेयर बजार निश्चित प्रतित घट्दा वा बढ्दा नेप्सेले सर्किट ब्रेक लगाउने गर्छ। कारोबार सुरु भएको एक घण्टाभित्र तीन प्रतिसत घटे वा बढे १५ मिनेट, कारोबार सुरु भएको दोस्रो घण्टा भित्र चार प्रतिशत घटे वा बढे आधा घण्टा र कारोबार समय अबधिभर कुनै पनि बेला पाँच प्रतिशत घटे वा बढे त्यो दिनको सम्पूर्ण शेयर कारोबार रोकिने व्यवस्था छ।

लामो समयदेखि बजार घटिरहेको अबस्था थियो जसले धेरै कम्पनीका शेयर मूल्य तल आएको थियो। बजार घटिरहेकाले लगानीकर्ताको मनोबल कमजोर भएको थियो।

केही दिनयताको बृद्धिसँगै चुनावी माहौल बन्दै गएकाले बजारमा सकारत्मक प्रभाव परेर सुचक उक्लिएको सिद्धार्थ क्यापिटलका कार्यकारी प्रमुख ध्रुव तिमिल्सिनाले बताए। चुनाबी बाताबरणले आउने दिनमा देशको अर्थतन्त्र सुदृढ हुने आसामा पनि लगानीकर्ता बजारप्रति आस्वस्थ भएको उनको भनाइ छ।

सेयरको मूल्यहरु तल आइसकेको, तरलतामा सुदृढसँगै मार्जिन कल आउन छाडेको, ब्याज दरको चाप सामान्य बन्न थालेको र ठूलो हकप्रद र लिलाम सेयर नआएकोका कारण बजारलाई त्यसले सपोर्ट गरेको तिमिल्सिनाले जानकारी दिए।

'देशमा चुनाबी माहौलले थप टेवा दिँदा बजारमा गति देखिएको हो,' ब्रोकर संघका पूर्व अध्यक्ष अन्जनराज पौडेलले बताए।

मंगलबार १४४ कम्पनीका २५ लाख ८१ हजार कित्ता शेयर किनबेच भएका छन्। सबैभन्दा बढि नेपाल बंगलादेश बैंकको नौ करोड ४४ लाख रुपैयाँको खरीद बिक्रि भएको छ। कारोबार रकमकै आधारमा सानिमा बैंक दोस्रो भएको छ। बैंकको सात करोड ५७ लाख रुपैयाँ बराबरका शेयर खरीद बिक्रि भए।

मंगलाबार बिमा कम्पनीहरुमा उछाल आएको छ। आठ समुहको कारोबारमा सबैभन्दा बढि बिमा समूह बढेको छ। बिमा ५०३.११ अंकको बढोत्तरी भएको छ। जलविद्युत १०६.५१, विकास बैंक ८२.९७, बैंकिंङ ७५.०९, होटेल ७१.०९, फाइनान्स ३८.९४ र अन्य १०.१२ अंकले बढोत्तरी भएको छ। उत्पादनमुलकमा भने आज कुनै हेरफेर भएन।

मंगलबार ६ कम्पनीले १० प्रतिशत र २४ कम्पनीले करिब १० प्रतिशत हाराहारी कमाएका छन्। आजको कारोबारमा करिब १० प्रतिशत कमाउने ३० कम्पनीमा अधिकांस बिमा र लघुवित्त कम्पनी छन्। तीन कम्पनीको भने मूल्य घटेको छ। एनएमबी माइक्रोफाइनान्स, जेबिल्स फाइनान्स र किसान माइक्रो फाइनान्सको सेयर मूल्य झरेको छ।