विदेशी डिग्री होल्डर खेमको खेतीपातीबाट लोभलाग्दो छलाङ

बिजमाण्डू
२०७३ चैत्र १४ गते १६:०५ | Mar 27, 2017
विदेशी डिग्री होल्डर खेमको खेतीपातीबाट लोभलाग्दो छलाङ
काठमाडौँ । भारतको बेङ्लोरबाट बिबिए सकेका पर्वतका ख्यामनारायण पौडेल (खेम)लार्इ पढाइ अनुसारकै काम गर्ने मुड चलेको भए उनी सुटटाइमा ठाँटिएर कुनै कम्पनीको प्रवर्द्धन गरिरहेका हुन्थे। तर, यतिबेला उनी खनजोतमा रमाइरहेका छन्। 
 
बिबिए सकेपछि खेमलार्इ पैसा धेरै कमाउनु थियो। करियरको सुरुवातमा उनले बिभिन्न कम्पनीमा काम पनि गरे तर धेरै कमाउन सकिन्छ जस्तो लागेन। देशमा बसेर सोचे अनुसार पैसा कमाउन नसक्ने ठानेपछि उनी मलेशिया हान्निए। 

Tata
GBIME
Nepal Life


 

बैदेशिक रोजगारीमा जाने आम युवाहरुको जस्तै सपना थियो उनको पनि। तर आठ घण्टामात्र काम गरेर १२ सय रिङगेट तलब पाइने आकर्षणमा मलेशिया पुगेका उनी त्यतिबेला निरास भए जतिबेला १६ घण्टा काम गरेर ११ सय रिङगेट मात्र तलब पाए। काम असाध्यै गार्ह्रो तर पैसा थोरै भएपछि छ महिनामै उनी नेपाल फर्किए।  
 
नेपाल आएपछि फेरि बिदेश मोहले तान्यो रे उनलार्इ। धेरै कमाउने लालसाले उनी पुगे कतार। तर कतारको तातो घाम र कामको तापले उनलार्इ यसरी गाल्यो कि डेढ वर्ष जसोतसो बिताएर उनी नेपाल फर्किए। कतारमा उनले न समयमा तलब पाए न राम्रो ब्यबहार। उनले काम गर्ने कम्पनीका हाकिमले गरेको रुखो ब्यवहारले अहिले पनि मन अमिलो हुने उनी बताउँछन्। 
 
बिदेशिनु र पैसा कमाउन नसक्नुको पीडा बोकेर नेपाल फर्किएका खेमले दुर्इ वर्षमै कायापलट गरे। यतिबेला उनले तरकारी खेतीबाटै मासिक ६० हजारसम्म कमाइरहेका छन्। 


 

पोखराको लेखनाथमा दश रोपनी जमिन भाडामा लिएर तरकारी खेती सुरु गरेका खेम अहिले दिनहुँ ४ हजार भन्दा बढिको तरकारी बेचिरहेका छन्।  
६ लाख रुपैयाँ लगानी गरेर ब्यावसायिक तरकारी खेती सुरु गरेका खेम अहिले फुलटाइम कृषक हुन्। अहिले उनी वार्षिक १ लाख ८० हजार त जमिनको भाडा नै तिर्छन्। 
 
भर्खरै ३२ वर्ष लागेका खेम ब्यावसायिक खेतीमा होमिएका छन् र उनका कृषक बाबुको हौसलाले नै उनको आत्मबल बढाइरहेको गर्वसाथ सुनाउँछन्। 
 
‘कृषि प्रधान देश भएपनि धेरै खानेकुरामा बिदेशको भर पर्नुपर्ने मन परेन’-खेम भन्छन्–‘बिदेशमा प्लेनमा माटो बोकेर लगेर खेती गरेको देखेकाले मलार्इ पनि तरकारि खेतीले तान्यो।’   
 
अहिले उनको बारीमा दुइवटा टनेलमा काँक्रा फलेका छन्। तीनवटा टनेलमा टमाटर राताम्ये छन्। एउटा टनेलमा हरियो धनियाँ मगमगाइरहेको छ।


 

दुइ रोपनीमा जुकिनी फर्सी लगाएका छन्। आधा रोपनी जतिमा गाँजर रोपेका छन्। उनले मौसम अनुसारका विभिन्न लहरेबालीहरु लगाएका छन्। यी बाहेक उनले सेलरी,सलाद पत्ता, बन्दा काउलीको पनि राम्रो उत्पादन छ।
 
झण्डै ७० प्रतिशत तरकारीहरु बारीबाटै बिक्री हुन्छ । बाँकी तरकारी उनी नजिकैको बजारमा लगेर बेच्नेगरेको बताउँछन्।
 
खेमका अनुसार अहिले उनी महिनाको १ लाख ९० हजारसम्म कमाउँछन् । खर्च कटाएर ४० हजारदेखि ६०/७० हजार त बचत हुन थालेको छ ।
 
देश र परिवार नछोडेरै कमाउने सपना पूरा गर्न पाएकोमा खेम खुशी छन्। 
 
एक छोरी र श्रीमतीका साथ खेतीकिसानीमा रमाइरहेका खेमलार्इ माटोको जस्तो मिठो सुगन्ध केहीमा छैन जस्तो लाग्छ । नहोस् पनि किन माटोमै रमाएका कारण यतिबेला उनी कमाउन विदेशिनु पर्दैन भन्ने गतिला उदाहरण बनेका छन्।