पूर्वी एशियाका यी ५ छिमेकी देश, जसले आर्थिकबृद्धिमा यो बर्ष मार्दैछन् लोभलाग्दो छलाङ

बिजमाण्डू
२०७३ चैत्र १३ गते १०:४४ | Mar 26, 2017
विश्व बैंकले गरेको प्रक्षेपण अनुसार पूर्वी एशियामा सन् २०१७ को ‘फास्ट ग्रोइङ इकोनोमी’का रुपमा यी ५ देशहरु रहेका छन्। विश्व बैंकलाई उद्धृत गर्दै फोर्ब्सले जनाए अनुसार उत्तरी छिमेकी चीन देखि पूर्वको लाओससम्मले यो बर्ष लोभलाग्दो आर्थिक बृद्धि हासिल गर्नेछन्।
 
लाओस्
७० लाख जनसंख्या भएको सानो देश लाओस फास्ट ग्रोइङ इकोनोमीका रुपमा उदाएको छ। लाओसले उर्जामा गरेको लगानीले यसको अर्थतन्त्रमा यस वर्ष ७ प्रतिशतको बृद्धि हुने विश्व बैंकले अनुमान गरेको छ । कट्टर कम्युनिष्ट सरकार रहेको लाओसले विकासको बाटोमा अग्रसर हुने क्रममा आफ्नो उर्जा संजाल विस्तार गरिरहेको छ। सन् २०२० सम्ममा देशभर उर्जा ब्यवस्थापनका साथै उर्जाको निर्यात गर्ने अवस्थामा पुग्ने लक्ष्यका साथ काम गरिरहेको छ। लाओसले विदेशी लगानी भित्र्याउनका लागि पनि आफुलार्इ निकै खुकुलो बनाएको छ । यसकारण लाओसले सन् २०१७ मा राम्रो फड्को मार्ने विश्वबैंकको विश्लेषण छ।
 
फिलिपिन्स
फिलिपिनी जिडिपीमा सन् २०१७ मा ६.९ प्रतिशतको बृद्धि हुने अनुमान विश्व बैंकले हचुवाको भरमा गरेको होइन। यसले जसरी जायन्ट कन्सट्रक्सनहरुमा खर्च गरिरहेको छ यसले दिने प्रतिफलले फिलिपिन्सलार्इ अग्रगामी र उदयीमान अर्थतन्त्रका रुपमा बलियो बनाइरहेको छ। फिलिपिन्समा सरकारी तवरबाटै यति धेरै संरचनाहरु बनिरहेका छन् कि विश्व बैंकको विश्षलेषण अनुसार  फिलिपिन्सका एक करोड बीस लाख जनसंख्याले देशमा द्रुत विकास अनुभव गर्न पाउने छन्।
 
कम्बोडिया
विश्व बैंकको प्रक्षेपण अनुसार १९ अर्ब ४० करोड डलरको अर्थतन्त्र भएको सानो देश कम्बोडियामा यो वर्ष ६.९ प्रतिशतको बृद्धि हुनेछ।  गार्मेन्ट सेक्टरमा प्रशस्त बिदेशी लगानी भित्र्याउन सफल कम्बोडियामा रियल स्टेटको ब्यापार पनि उत्तिकै फस्टाइरहेको छ । ठूला संरचना निर्माणमा भैरहेको तिब्र विकासले यस देशको अर्थतन्त्र मजबुत बन्ने वर्ल्ड बैंकले विश्वास लिएको हो। भियतनामबाट पनि गार्मेन्ट फ्याक्ट्रीहरु कम्बोडिया प्रवेश गरेका छन् । कम्बोडियमा ज्यालादर कम भएकोले विदेशी गार्मेन्ट कम्पनीहरु कम्बोडियामा आकर्षित भएका हुन्। कम्बोडियाले व्यापार गर्नाका लागि उदार वातावरण तयार गरेको छ जसका कारण विदेशी लगानी ओइर्याउन सफल भैरहेको छ । कम्बोडियाले निर्यातको ७० प्रतिशत गार्मेन्ट नै निर्यात गरिरहेको छ । सिंगो गार्मेन्ट क्षेत्रबाट सात लाख कम्बोडियालीहरुले  रोजगारी समेत पाएका छन्।
 
म्यानमार
५ वर्ष अघिमात्र बिदेशी लगानी खुला गरेको म्यानमारमा पनि यो वर्ष ६.९ प्रतिशतको आर्थिक बृद्धिदर हुने विश्व बैंकको अनुमान छ । लामो सैनिक शासनबाट बाहिर निस्किएको म्यानमारमा प्रचुर प्राकृतिक स्रोतहरुको उपयोगका लागि बिदेशी लगानी आउने क्रम तीब्र छ। कामका लागि युवा जनशक्ति तथा लगानी मैत्री कानुन भएकाले म्यानमारमा उर्जा, गार्मेन्ट र खाद्यान्न तथा पेय पदार्थ उत्पादनमा प्रशस्त विदेशी लगानी भित्रिएको छ । यसै कारणले म्यामारलार्इ सन् २०१७ को उदयीमान अर्थतन्त्रका रुपमा हेरिएको छ।
 
चीन
चीन लामो समयदेखि फास्ट ग्रोइङ इकोनोमीका रुपमा नै विश्वमाझ परिचित छ । तर अघिल्लो वर्ष ६.७ प्रतिशत बृद्धि भएको चिनियाँ अर्थतन्त्र सन् २०१७ मा   केही  खुम्चिने अनुमान विश्व बैंकले गरेको छ। चीनमा यो वर्ष ६.५ प्रतिशत आर्थिक बृद्धिको प्रक्षेपण गरिएको छ जन विगत २७ वर्षयताकै सबैभन्दा कम हो । तर यसले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले विकासको बाटोमा लिएको रफ्तारलार्इ अन्य पूर्वीयशियाली देशहरुले पछ्याउन सक्ने देखिदैँन। चीनले अहिले पुल सडक जस्ता पूर्वाधार तथा  ठूला ठूला परियोजनाहरुमा निकै नै खर्च गरिरहेको छ। यसका साथै निर्यातजन्य वस्तुहरुको उत्पादनमा पनि चीनले  जोड दिइ नै रहेको छ । यस वर्ष विदेशी लगानी भित्र्याउने कुरामा पनि चीन निकै नै उदार देखिएको छ । चीनमा विदेशी लगानी पनि यो वर्ष बढेर १५ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ । गत वर्ष चीनमा ४ प्रतिशत मात्र विदेशी लगानी भित्रिएको थियो।
 

Tata
GBIME
Nepal Life