प्रचण्ड र चिनियाँ उपप्रधानमन्त्रीबीच भेट, रसुवादेखि लुम्बिनीसम्मको रेल निर्माण बारे छलफल

रासस
२०७३ चैत्र ११ गते १७:५० | Mar 24, 2017
काठमाडौँ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  चिनियाँ उपप्रधानमन्त्री झाङ गाओलीसँगको भेटमा 'वान बेल्ट वान रोड'मा नेपालले साझेदारी गर्ने प्रतिबद्धता जनाएका छन्। 
 

भेटमा प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङले अगाडि सारेको परियोजनामा हस्ताक्षर गर्ने नेपाल तयार रहेको बताएका हुन्।
 
प्रचण्डले नेपाल सरकारको तर्फबाट यसअघि चीनसँग भएका सम्झौता र सहमति कार्यान्वयनको प्रतिवद्धता व्यक्त गरेका थिए। 
 
प्रधानमन्त्री प्रचण्डको सचिवालयले जारी गरेको प्रेस नोटमा नेपाली भुमीबाट चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने दृढता प्रचण्डले व्यक्त गरेको उल्लेख छ। 
 
प्रचण्डले नेपालले राजनीतिक परिवर्तनलाई संविधान निर्माणमार्फत् संस्थागत गरेको उल्लेख गर्दै स्थानीय तहको चुनाव हुँदै संविधान कार्यान्वयन गरेर राजनीतिक स्थायीत्व हासिल गर्ने बाटोमा नेपाल रहेको बताएका हुन्। 
 
प्रधानमन्त्रीले रसुवा, काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेलवे निर्माण, इनर्जी कनेक्टीभिटी, टान्जिट प्रोटोकल, पूर्वाधार विकास, पेट्रोल भण्डारण, टान्समिसन लाइन, इकोनोमिक जोनसहितका विभिन्न विषयमा दुई पक्षीय सहमति जरुरी रहेको भेटमा उल्लेख गरेका थिए। प्रधानमन्त्रीले तातोपानी नाका तत्काल खोल्न आग्रह गर्दै पूर्व पश्चिमका विभिन्न चीनसँग जोडिएका स्थानमा नाकाहरु खोल्न पनि आग्रह गरेका छन्। 
 
चीनका उपप्रधानमन्त्री झाङ गाओलीले कुटनैतिक सम्बन्ध स्थापना भएको ६२ बर्षदेखि नेपाल र चीनबीच धेरै नजिकबाट सहकार्य हुँदै आएको उल्लेख गरेका थिए। उनले प्रचण्डसँग विगतमा भएको भेटवार्ताबारे समेत स्मरण गराएका थिए। 
 
प्रधानमन्त्री प्रचण्डको केही समय पहिले भारतको गोवामा भएको चिनिँया राष्ट्रपतिसँगको भेट तथा चीन भ्रमणका क्रममा राष्ट्रपतिसँग हुने भेट धेरै महत्वको रहेको उपप्रधानमन्त्रीले प्रचण्डलाई बताएका थिए। 
 
उनले प्रचण्डले अघि रेका रेलवे, ट्रेड, कनेक्टिीभिटी, पूर्वाधार विकास लगायत सबै विषयमा चीन सकारात्मक रहेको बताएका थिए। उनले अरनिको राजमार्ग खोल्नेबारे सकारात्मक रहेको बताएका थिए। 
 
नेपालले संविधान निर्माण गरेर निर्वाचनमा जुटेकोमा उपप्रधानमन्त्री गाओलीले खुशी व्यक्त गर्दै नेपालका राजनीतिक दलहरु एकताबद्ध भएर जुनसुकै आन्तरिक समस्या समाधान गर्न सक्ने बताएका थिए।

Tata
GBIME
Nepal Life