गन्तब्य कोरिया: अनलाइन फारमका लागि बैंकमा शुल्क बुझाउने लाइन छिचोलेपछि फारमको पालो

बिजमाण्डू
२०७३ चैत्र ११ गते १५:४७ | Mar 24, 2017

काठमाडौं : चैत ९ गतेदेखि खुलेको कोरिया भाषा परीक्षाका लागि फाराम भर्ने काम अनलाइनमा मात्रै हुने भए पनि लाइनको दुःख अझै घटेको छैन।

Tata
GBIME
Nepal Life

तलब राम्रो हुने भएकोले  रोजगारको आकर्षक गन्तव्य बनेको कोरिया जान चाहनेले अनलाइन फाराम भर्नका लागि सुरुमा बैँकमा रकम बुझाउनु पर्छ र त्यहाँबाट पाएको कोड राखेपछि बल्ल अनलाइन फाराम भर्न पाउँछन्।

रकम बुझाउनु पर्ने ग्लोबल बैँकका सुकेधारा, चाबहिल, सानो गौचरणका शाखाहरुमा शुक्रबार बिहान साढे सातै बजे पुग्दा पनि लाइन लामो भएको देखिन्थ्यो। जबकि बैँक १० बजे बल्ल खुल्थ्यो।

लाइन बस्नेहरुमा विद्यार्थीदेखि जागिरेसम्म भेटिए। इच्छुकहरुले चैत १८ गतेसम्म अनलाइन फाराम भर्न सक्नेछन्। अनलाइन फाराम भर्न पासपोर्टको स्क्यान कपि चाहिने हुनाले सर्वसाधारणले आफै भर्न गाह्रो हुन्छ।

बजारमा अनलाइन फाराम भर्न सहयोग गर्ने पसलहरु प्रशस्त खुलेका छन्। उनीहरुले लिने शुल्कमा एकरुपता छैन। कतै २५० छ भने कतै ५ सयसम्म लिने छन्।

बैँकमा लाइन बसिसकेकाहरु अनलाइनमा फाराम भर्न पुनः यस्ता फाराम भर्ने पसलमा लाइन बस्नुपर्ने स्थिति छ।   

कोरिया भाषा परीक्षा भने आउँदो जेठ २७ र २८ गते हुने भएको छ। अर्को वर्षका लागि १० हजार २ सय नेपाली कामदार कोरिया जाँदैछन्। ४ हजार उत्पादनमूलक क्षेत्र र ६ हजार २ सय कृषि क्षेत्रमा कामदारको माग भएको छ।

भाषा परीक्षामा सहभागी हुन १८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेको हुनुपर्छ। आवेदन फाराम भर्नु एक दिनअघि बैंकमा शुल्क बुझाउनुपर्छ। ग्लोबल आइएमर्इ बैंकमा गएर २४ अमेरिकी डलर बराबरको रकम तिरेपछि अनलाइनमा फाराम भर्नुपर्नेछ।