प्राधिकरणले प्रचारका लागि बढी घर बनेको देखायो, सहरी विकास मन्त्रालय भन्छ, २४ सय मात्रै घर बने

रासस
२०७३ चैत्र ११ गते १२:४९ | Mar 24, 2017
काठमाडौँ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेभसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क राखिएको छ ।
 
 प्राधिकरणको वेभसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपीमा भूकम्पपछि पुनःनिर्माण भएका घरको सङ्ख्या ४१ हजार ३११ छ । यो सङ्ख्यामा घर पुनःनिर्माण नभएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।
 
  प्राधिकरणको वेभसाइटमा ‘पुनःनिर्माण सम्पन्न घर’ ४१ हजार ३११ र ‘बन्दै गरेका घर’ ३८ हजार ९५३ लेखिएको तथ्याङ्क आवरण पृष्ठमै छ । प्राधिकरणका प्रवक्ता यामलाल भुसाल नै त्यति घर नबनेको बताउँछन्।  
 
“वेभसाइटमा गलत तथ्याङ्क छ, त्यति घर बनेका छैनन्, अब त्यसलाई हटाइन्छ”–उनले भने।सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा बिहीबार दिउँसो ३:४५ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार निर्माण सम्पन्न घरको सङ्ख्या दुई हजार चार सय ८४ रहेको वरिष्ठ डिभिजनल इन्जिनियर सुरेशकुमार वाग्लेले बताए।
 
“आजसम्म निर्माण सुरु भएको घर सङ्ख्या ४० हजार ३५९, पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता माग गर्ने २० हजार १२, दोस्रो किस्ता भुक्तानीका लागि सिफारिस गरिएकाको सङ्ख्या पाँच हजार ७३०, तेस्रो किस्ता माग गर्ने एक हजार ८९ र तेस्रो किस्ता पाउन प्रमाणित हुने लाभग्राहीको सङ्ख्या ३३९ छ”–उनले भने
  
मन्त्रालयअन्तर्गत जिल्ला जिल्लामा खटिएका इन्जिनियरले एकाइमा पठाएको तथ्याङ्कअनुसार हालसम्म १६ हजार ५१५ पीडितले अनुदान पाउनु अगावै घर निर्माण सम्पन्न गरेका छन् । मन्त्रालयको यो तथ्याङ्कसँग प्राधिकरणको वेभसाइटमा राखिएको तथ्याङ्क मिल्दैन ।
  
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका करिब नौ लाख घर पुनःनिर्माण गर्न सहयोग गर्ने उद्देश्यले गठन गरिएको प्राधिकरणले तथ्याङ्कमै बनाएको देखाएर पीडितको घर नबन्ने खतरा बढेको प्रभावित जिल्लाका स्थानीयवासीको गुनासो छ ।
  
प्राधिकरणका कार्यकारी सदस्य डा हरिराम पराजुलीले सहरी विकास मन्त्रालयबाट आउने तथ्याङ्क नै सही भएको बताउँछन्।  “आधिकारिक तथ्याङ्क सहरी विकास मन्त्रालयबाट आउने हो, त्यस बाहेकको तथ्याङ्क गलत हो”–उनले भने।
 
प्राधिकरणजस्तो संस्थाले प्रचारकै लागि बढी घर बनेको देखाउन गलत तथ्याङ्क वेभसाइटमा राखेको छ । यो तथ्याङ्क कुन स्रोतबाट आएर राखेको त्यसको जवाफ प्रवक्ता र कार्यकारी सदस्यले दिन सकेनन्। 
 

Tata
GBIME
Nepal Life