भारत: क्यासलेस अर्थतन्त्रले मालामाल बने पेटिएमका कर्मचारी, ४७ जनाले बेचे डेढ अर्बमा शेयर

बिजमाण्डू
२०७३ चैत्र १० गते १५:०४ | Mar 23, 2017
भारत: क्यासलेस अर्थतन्त्रले मालामाल बने पेटिएमका कर्मचारी, ४७ जनाले बेचे डेढ अर्बमा शेयर
नयाँदिल्ली । प्यारेन्ट कम्पनी वान ९७ को सेयर बेचेर डिजिटल पेमेन्टस् सेवा प्रदान गर्ने पेटिएमका कर्मचारी करोडपति बनेका छन्। पेटिएममा स्वामित्व भएको  वान ९७ मा चीनियाँ कम्पनी अलिबाबाको शेयर लगानी छ। अलिबाबाले अहिले वान ९७ मा आफ्नो शेयर स्वामित्व बढाइरहेको छ।

Tata
GBIME
Nepal Life

भारतलाई क्यासलेस अर्थतन्त्रमा रुपान्तरण गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासपछि पेटिएमको भ्यालुएशनमा ठूलो वृद्धि भएको छ। नोयडामा प्रधान कार्यालय भएको यो कम्पनीका ४७ कर्मचारीले केही सातामा झण्डै एक अर्ब भारतीय रुपैयाँ (एक अर्ब ६० करोड रुपैयाँ)को शेयर बेचिसकेका छन्। गतवर्ष यो कम्पनीको मूल्यांकन चार अर्व ८० करोड डलर गरिएको थियो।


प्यारेन्ट कम्पनीमा शेयर हिस्सा भएका पेटिएममा पाँच सयभन्दा बढी कर्मचारी छन्। उनीहरुसँग कम्पनीको चार प्रतिशत शेयर हिस्सा छ। 
कर्मचारीले शेयर बेचेपछि अलिबाबाको वित्तीय सहयोगी कम्पनी एन्ट फाइनान्सलाई आफ्नो हिस्सा बढाउन सहयोग पुगेको छ। वान ९७ मा एन्ट कम्पनीको ४५ प्रतिशत शेयर साझेदारी छ।

अलिबाबाले यही महिना वान ९७ मा २५ करोड डलरको लगानी थपेको छ। यो लगानी उसले वान ९७ का सुरुवाती लगानीकर्ता रिलायन्स क्यापिटल, सामा क्यापिटल र एसएपि भेञ्चर्सको शेयर खरिद गर्नका लागि गरेको हो।

यसबाट अनिल अम्बानी नेतृत्वको रिलायन्स क्यापिटलले २७ गुणा मुनाफा पाएको छ। सामा क्यापिटलले ५२ गुणा मुनाफा लिएको छ।

कर्मचारीले इम्पलोयी स्टक अप्सनमार्फत यो शेयर पाएका थिए। केही महिना अघि प्रधानमन्त्री मोदीले गरेको नोटवन्दीको फैसलाबाट यो कम्पनीलाई निक्कै फाइदा पुगेको थियो। 

गतवर्ष पनि केही कर्मचारीले आफ्नो हिस्साको शेयर कम्पनीको एक्सटर्नल बोर्ड मेम्बरलाई बेचेका थिए। यी मेम्बरमा गुगल र उबरका पूर्व कार्यकारी अमित सिंघल, वाट्सएपका निरज अरोडा र फेसबुककी पहिलो महिला इन्जिनियर रुची सांघवी थिइन्।