बेंसीसहरमा पानीको अभाव हटाउन उपभोक्ता कस्सिए, २८ करोडको लागतमा बन्दैछ आयोजना

रासस
२०७३ चैत्र १० गते १४:२८ | Mar 23, 2017

लमजुङ (बेँसीसहर)। सदरमुकाम बेँसीसहरमा पानीको अभाव हुन थालेपछि दीर्घकालीन सोचका साथ २८ करोड रुपैयाँको लागतमा सहलगानी खानेपानी योजना सञ्चालन गरिने भएको छ ।

बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहलमा खानेपानी आयोजना सञ्चालन गर्न लागिएको हो ।

Tata
GBIME
Nepal Life

समितिले खानेपानी तथा सरसफाइ मन्त्रालय र ढल निकास विभागको सहकार्यमा सहलगानी खानेपानी योजना सुरु गर्न लागेको जनाएको छ ।

उक्त योजना सम्पन्न गर्नको लागि उपभोक्ताले श्रमदानसहित ३० प्रतिशत लगानी गर्ने समितिका अध्यक्ष कृष्णलाल प्रधानले बताए ।

खानेपानी योजनाको लागि प्राविधिक तयारी गरी मुहानको
लागि जग्गा खरिद गरिसकिएको अध्यक्ष प्रधानले जानकारी दिए।

खानेपानी योजना निर्माणको लागि नेपाल सरकारको सहलगानी सिद्धान्तअनुसार ३० प्रतिशत अनिवार्य लगानीमा १० प्रतिशत रकम नगद नै नेपाल सरकारको खातामा जम्मा गर्नुपर्ने हुन्छ । सहलगानीको लागि उपभोक्ताबाट रकम सङ्कलन गरिने अध्यक्ष प्रधानले बताए।

हाल बेँसीसहरमा विभिन्न आठवटा मूलबाट खानेपानी ल्याई वितरण गरिएको छ । सबै मूलको पानी जम्मा गर्दा प्रतिसेकेन्ड २८ लिटर पानी आउने गरेको छ। बेँसीसहरमा दैनिक २० लाख लिटर पानी आवश्यक पर्ने गरेकोमा अहिले भएको पानी पर्याप्त छैन।

“खानेपानीका धारामा नियमित पानी नआउँदा स्थानीय उपभोक्ताले पनि थप सास्ती बेहोर्नुपरेको छ” अध्यक्ष प्रधान भन्छन् “अब समस्यासँगै दीर्घकालीन विकल्प सोचेर यो सहलगानी योजना सुरु गरेका हौँ ।”

सहलगानी खानेपानी योजना तीन वर्षमा सम्पन्न हुनेछ । योजना अनुसार खानेपानी परियोजनाबाट थप २५ लिटर प्रतिसेकेन्ड पानी आउने छ ।
पछिल्लो समय पानीको अभाव हुन थालेपछि बेँसीसहरका उपभोक्ता वरपरका मूल तथा कुवाबाट खानेपानी ल्याउन बाध्य भएका छन् । पानीको माग बढेको तर मुहान तथा पानीका स्रोत सुक्दै गएकाले अहिले बेंसीसहरबासीले मागअनुसार पानी पाइरहेका छैनन्।