ठुला औद्योगिक आगलागीले सिकाएको सबक: फोमले आगो निभाउने दमकल

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७३ चैत्र ९ गते १६:४७ | Mar 22, 2017
ठुला औद्योगिक आगलागीले सिकाएको सबक: फोमले आगो निभाउने दमकल


विराटनगर । यस वर्ष मोरङको औद्योगिक क्षेत्रमा आगलागीका दुई भयानक दुर्घटना भए ।

Tata
GBIME
Nepal Life

टङ्कीसिनवारीको दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स नामको कारखानामा कात्तिक २४ गते साँझ ६ बजेदेखि भीषण आगलागी भयो । पूर्वाञ्चलका विभिन्न स्थानका सात दमकललाई यो आगो निभाउन सात दिन लाग्यो ।

उद्योगका सञ्चालक मोती दुगडका अनुसार आगलागीबाट औद्योगिक कच्चा पदार्थ र तयारी मालसमेत गरी ३० करोडको नोक्सानी भएको छ ।
टङ्कीसिनवारीमै अर्को आगलागी चैत ४ गते भयो । विराटनगरको म्याजिक ग्रुपको सञ्चालनमा रहेको जयश्री पियु टेक, जयश्री कम्पनी र आनन्द सप्लायर्स गरी तीन उद्योगका नाममा रहेका तीन कारखाना आगलागीबाट ध्वस्त भए ।

यो आगलागीबाट कारखाना र मेसिनमात्र नभई दुई वटा मालवाहक गाडी, करोडौँका कच्चा पदार्थ र तयारी मालसमेत गरी ४५ करोड बराबरको भस्म भएको म्याजिक ग्रुपका सूचना प्रमुख महेश बाहेतीले बताए ।

आगलागीको कारण एउटै ‘विद्युत् सर्ट’
दुबै उद्योगका सञ्चालकले आगलागीको कारण विद्युत् सर्ट नै भएको बताएका छन् ।

तर कारखाना क्षेत्रमै काम गरिरहेका विशेषज्ञ इन्डस्ट्रियल इन्जिनियर अच्युत खतिवडा भन्छन्– ‘कारखानाका मालिकले होस पुर्याउने हो भने उद्योगमा विद्युत् सर्ट हुँदैन । प्राविधिक पक्षलाई चुस्त राखिएको छ भने कहिल्यै विद्युत् सर्ट हुँदैन ।’

किन हुन्छ विद्युत् सर्ट
इन्जिनियर खतिवडाका अनुसार कमसल खालका तार र स्विच गियरको प्रयोग हुनु सर्ट हुनुको एउटा कारण हो ।

कारखाना यस्तो ठाउँ हो, जहाँ हजारौँ वाटको विद्युत्को प्रवाह भइरहन्छ तर त्यो प्रवाहलाई थेग्ने खालका स्विच गियर र तारको प्रयोग गरिएको हुँदैन ।
अर्को कारण, वस्तुको विक्री र लोकप्रियतासँगसँगै उद्योगले उत्पादन बढाउँछ । यसका लागि उपकरणहरू थपिन्छन् तर विद्युत् क्षमता थपिन्न । तार र स्विचको भार क्षमता पहिलेकै जस्तो हुन्छ तर विद्युत् प्रवाह बढी हुन्छ । यस्तो अवस्थामा पनि सर्ट हुन्छ र आगलागीको खतरा आउँछ ।

‘अर्को मुख्य कुरा मेन्टेनेन्स र रेगुलर मोनिटरिङ छैन’, इन्जिनियर खतिवडा भन्छन्, ‘मुसाले भित्रभित्र तार खाइसकेको हुन्छ । तर उद्योगले विशेषज्ञलाई ल्याएर कारखाना ‘भिजिट’ नगराएको महिनौँ भइसकेको हुन्छ । वायरिङमा प्रयोग गरिएका कुन सामान पुराना भए भन्नेतर्फ ध्यान नै दिइएको हुन्न । कारखानाको विद्युतीकरणको छुट्टै लगबुक हुँदैन ।’

अच्युतका अनुसार धेरै कारखानाले अर्थिङ गरेका छैनन् र गरे पनि विशेषज्ञ नराखी सामान्य मिस्त्रीका भरमा झारा मात्र टारेका छन् । थ्री पिन टपको सिद्धान्त भनेकै एउटा प्वाल अर्थिङका लागि हो । तर नाम मात्रको अर्थिङ गरेका कारण विद्युत् सर्ट र आगलागीको सम्भावना धेरै हुन्छ ।

सिलिन्डर त राखिएको हुन्छ तर…
सबैजसो कारखानाका भित्ता–भित्तामा अग्नि नियन्त्रक सिलिन्डर त राखिएका हुन्छन् । दुगड र म्याजिक ग्रुप दुबैका कारखानामा सिलिन्डर राखिएका थिए तर तिनले काम गरेनन् ।

सम्बद्ध स्रोतका अनुसार यी सिलिन्डर वीमा कम्पनीलाई देखाउन मात्र राखिएका हुन् । यस्ता अग्नि नियन्त्रक सिलिन्डर नराखी वीमा कम्पनीले कतिपय केसमा वीमा नै गर्दैनन् ।

दुगडको स्वीकारोक्ति थियो, ‘ठूलो आगलागीमा यस्ता सिलिन्डरले काम गर्दा रहेनछन् ।’

फोमले आगो निभाउने दमकल चाहियो
यसैबिच मोरङका उद्यमीले फोमले आगो निभाउने दमकलको माग गरेका छन् । मोरङ व्यापार सङ्घका अध्यक्ष एवम् सांसद् पवनकुमार शारडा र उद्योग सङ्गठनका अध्यक्ष मुकेश उपाध्यायले सरकारले औद्योगिक क्षेत्रमा फोमबाट आगो निभाउने दमकलको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
फोमबाट आगो निभाउने दमकल विराटनगर विमानस्थलमा तैनाथ भए पनि यसबाट काम लिन नसकिने स्पष्ट भएको छ ।

कात्तिक महिनामा दुगडको कारखानामा आगलागी हुँदा विमानस्थलबाट ल्याइएको दमकल सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति नै थिएनन् । दमकलको पाइपबाट उत्तरतिर फोम फ्याँक्न खोज्दा दक्षिणतिर जान्थ्यो

म्याजिक ग्रुपको कारखानामा भएको आगलागीमा भने विमानस्थलले दमकल दिन मिल्दैन भनेर आफ्नो कमजोरी नै लुकायो ।

फोम फ्याँक्ने दमकल नै किन ?
दुगडको कारखानामा गोदामभित्र प्रज्वलनशील भनिने प्लास्टिकका सामानको थुप्रो बढी थियो । त्यस्तै म्याजिक ग्रुपको कारखानामा आगो लाग्दा पनि प्रज्वलनशील प्रकारकै कच्चा पदार्थ र तयारी जुत्ताचप्पल थिए ।

प्लास्टिकलगायतका पेट्रोलियम पदार्थ र जुटका सामानमा आगो लाग्दा पानी छ्याप्यो भने आगो झन् बढ्ने समस्या देखिएको छ ।

इन्जिनियर खतिवडा भन्छन्, ‘आगो लागेका ठाउँमा पाइपबाट बेस्सरी पानी छ्याप्ता पानीभित्र भएको अक्सिजन निस्कन्छ । अक्सिजन आफैँमा ज्वलनशील तत्त्व हो । त्यसैले यस्ता कारखानामा आगो लाग्यो भने पानी हैन फोम फ्याँक्ने दमकलबाट निभाउनु पर्छ ।