उपत्यकामा घरजग्गा कारोबार तिब्र गतिले ओरालो, चार महिनामा राजश्व ४० प्रतिशतले घट्यो

बिजमाण्डू
२०७३ चैत्र ९ गते १०:५९ | Mar 22, 2017
काठमाडौं। बैंकहरुले लगानीयोग्य रकम अभावमा कर्जा प्रवाह घटाएसँगै राजधानीको घरजग्गा कारोबारमा ठूलो मन्दी देखिएको छ। 
 
कारोबार घटेसँगै राजधानीका मालपोत कार्यालयको राजश्व संकलनमा समेत तिब्र गिरावट आएको हो। आठवटै मालपोत कार्यालयको राजश्व संकलन ओरालो लागेको छ।

Tata
GBIME
Nepal Life


 

माघमा पुषको तुलनामा आठ करोड रुपैयाँले राजश्व संकलन घटेको थियो। फागुनमा माघमा भन्दा २० प्रतिशतले राजश्व घटेको छ। मंसिर यताको चार महिनामा यी कार्यालयको राजश्व संकलन झन्डै ४० प्रतिशतले घटि सकेको छ।
 
उपत्यकाका सात मालपोत कार्यालले मंसिरमा एक अर्ब तीन करोड घरजग्गा रजिष्ट्रेसन दस्तुर उठाएका थिए। फागुनमा त्यो ६९ करोड ८६ लाख रुपैयाँमा झरेको हो।
 
उपत्यकामा सबैभन्दा धेरै राजश्व संकलन हुने डिल्लीबजार मालपोतमा सर्वाधिक गिरावट देखिएको छ। फागुनमा उक्त कार्यालयले ११ करोड ४१ लाख रुपैयाँ राजश्व उठाएको छ। माघको तुलनामा यो झन्डै ४० प्रतिशतको गिरावट हो। फागुनमा संकलिन राजश्व यो वर्षकै सबैभन्दा न्यून रहेको कार्यालय प्रमुख पद्धनिधी सोतीले जानकारी दिए।
 

बैंकबाट कर्जा प्रवाह नभएपछि वैना कारोबारमा समेत ठूलो गिरावट आइ सकेको घरजग्गा व्यवसायी बताउँछन्। अहिले जोसँग हातमा पैसा छ या बैंकबाट पहिल्यै ऋण स्वीकृत गराएका थिए उनीहरुले मात्र कारोबार गरि रहेको सोतीले बताए। 
 
पुसको तुलनामा माघमा सामान्य बढेको डिल्लीबजार मालपोत कार्यालयको राजश्व मंसिरको तुलनामा फागुनमा शतप्रतिशत भन्दा धेरैले घटेको छ। घरजग्गा कारोबार उच्च बिन्दुमा पुगेको मंसिरमा उक्त कार्यालयले २४ करोड ७४ लाख रुपैयाँ राजश्व उठाएको थियो। 


 

लगनखेल मालपोत कार्यालयको राजश्व संकलन फागुनमा तीन करोड रुपैयाँले घटेको छ। कलंकी र भक्तपुर मालपोत कार्यालयको राजश्व पनि दुई/दुई करोड रुपैयाँले घटेको छ। 
 
मनमैजु, शाँखु र टोखा मालपोतको राजश्व पनि घटेको छ। पाँच करोड रुपैयाँ हाराहारी राजश्व उठाउने यी तीनै कार्यालय मध्ये टोखाको रजिष्ट्रेसन दस्तुतर झन्डै शतप्रतिशतले गिरावट आएको छ।