भैरहवा विमानस्थलको दाता एडिबीको सरकारलाई चिट्ठी- झलनाथ खनाल पुत्रको कम्पनीलाई हटाउ

प्रभात भट्टराई/बिजमाण्डू
२०७३ चैत्र ७ गते १९:२७ | Mar 20, 2017
काठमाडौँ । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दाता एसियाली विकास बैंक  (एडिबी)ले काममा अवरोध गर्ने कम्पनीलाई तत्काल ‘सब-कन्ट्र्याक्टर’बाट हटाउन सरकारलाई पत्र लेखेको छ।
 
पूर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालको कम्पनीले चिनियाँ ठेकेदारबाट ‘सब-कन्ट्र्याक्टर’ जिम्मेवारी लिए पनि काममा भाँजो हाले पछि एडिबीले सरकारलाई चिट्ठी लेखेको हो।

Tata
GBIME
Nepal Life


 

दुई बर्ष देखिनै बिभिन्न बहानामा अवरोध गर्दै आएको ‘सब-कन्ट्र्याक्टर’ नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिलाई तत्काल हटाउन सुझाव सहित एडिबीले सरकारलाई चिट्ठी लेखेको छ। यो कम्पनीको सञ्चालकमा निर्भिक सहित नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका उपाध्यक्ष राजु गुरुङ, पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पा निकट फुर्वा शेर्पा, शक्ति डङ्गोल, रञ्जित राई लगायत ७ जना संलग्न छन्। 
 
आयोजनाको ठेकेदार चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले कुनै मापदण्ड पुरा नगरि निर्भिकको कम्पनीलाई ‘सब-कन्ट्र्याक्टर’ नियुक्त गरेको थियो। ‘सब-कन्ट्र्याक्टर नियुक्तिको अन्तर्राष्ट्रिय प्रावधान हुन्छ, एडिबीका कन्ट्री डाइरेक्टर केनिची योकोयामाले बिजमाण्डूसँग भने- गौतमबुद्ध बिमानस्थलको ठेकेदारले सब-कन्ट्र्याक्टर नियुक्तीताका ती कुनै पनि मापदण्ड पुरा गरेको थिएन।’   
 
‘सब-कन्ट्र्याक्टर’ नियुक्त गर्नु अघि विश्वासिलो इन्जिनियरिङ कन्सेलटेन्टसँग परामर्श गर्नु पर्नेमा कुनै सिधै छनौट गरिएको उनले बताए। ठेकेदार कम्पनीले राजनीतिक दवावमा यस्तो निर्णय गरेको हुँदा अब उसैले सल्टाउनु पर्ने योकोयामाको भनाइ छ। 
 
आफुले सरकारलाई लेखेको चिट्ठिको बोधार्थ चिनियाँ ठेकेदारलाई समेत दिएको उनले जानकारी दिए। ‘सब-कन्ट्र्याक्टिङको कुनै ब्ल्याक एन्ड ह्वाइट डकुमेन्ट समेत छैन, उनले भने- त्यसैले ठेकेदारले यो सब-कन्ट्र्याक्टरलाई गुड बाइ भन्छ भने हामी स्वागत गर्छौँ।’ निर्भिकको कम्पनीलाई तत्काल हटाएर अन्तर्राष्ट्रिय मान्यता बमोजिम नयाँ ‘सब-कन्ट्र्याक्टर’ नियुक्त गर्नु पर्ने उनको भनाइ छ।

दुई बर्ष अघि आयोजना सुरु गर्दा नेपालका धेरै निर्माण व्यवसायमा संलग्न कम्पनीले ‘सब कन्ट्र्याक्टर’बन्न कोशिस गरेको थिए। त्यसमध्ये एमाले केन्द्रिय नेतृत्वको प्रत्यक्ष हस्तक्षेपमा निर्भिकको कम्पनी ‘सब कन्ट्र्याक्टर’ छानिएको थियो। कम्पनीले आयोजनालागि गिट्टी, ढुङ्गा, बालुवा लगायत निर्माण सामग्री सप्लाइ गर्ने सहमति भएको थियो। झलनाथका साला विश्व चित्रकार चाइनिज ठेकेदारको सिभिल तर्फको म्यानेजर थिए। यही सम्बन्धको बलमा निर्भिकले ‘सब कन्ट्र्याक्टर’ हत्याएको स्रोतले जानकारी दियो।

सुरुमा पेस्की बापत १० करोड रुपैयाँ लिएको कम्पनीले बीच बीचमा बखेडा झिक्दै आएको थियो। पछिल्लो दुई साता देखि निर्माण सामग्री सप्लाई ठप्प गरेको छ। थप १० करोड रुपैयाँ नदिइ सप्लाई नगर्ने निर्भिकको कम्पनीको दावी छ। यस कारण साता यता एयरपोर्ट निर्माणनै रोकिएको छ। 
 
सन् २०१७ भित्र सम्पन्न गर्ने लक्ष लिइएको राष्ट्रिय गौरवको आयोजना ‘सब कन्ट्र्याक्टर’ले भाँजो हालेपछि अनिश्चित समेत बनेको छ। क्षेत्रीय स्तरमा उडान गर्ने एवं लुम्बिनी लक्षित पर्यटन विकासको उध्येश्य सहित उक्त विमानस्थलको स्तरोन्नती सुरु गरिएको थियो। एडिबीको लगानीमा निर्माणाधिन आयोजनाको लागत साढे नौ अर्ब रुपैयाँ हाराहारी पुग्ने अनुमान गरिएको छ। 
 
यसैबीच स्थानीय सप्लायरको रुपमा रहेको ‘सब कन्ट्र्याक्टर’ले दु:ख दिएपछि नयाँ शिराबाट काम अघि बढाउने बारे छलफल गर्न चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनका भाइस प्रेसिडेन्ट आइतबार नेपाल आइपुगेका छन्। 
 
उनी पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको टोली सहित आइतबार नै भैरहवा गएका थिए। त्यहाँ आज दिनभर वार्ता भए पनि निष्कर्श निस्किएको छैन। 
 
निर्भिकको कम्पनीले काममा भाँजो हाल्न नछाडे ठेक्का तोड्ने ‘मुडमा’ चिनियाँ पक्ष पुगेको स्रोतले बतायो।