मुकेश अम्बानीको जियोलाई टक्कर दिन आइडिया र भोडाफोन मर्ज, भारतकै ठूलो टेलिकम कम्पनी

बिजमाण्डू
२०७३ चैत्र ७ गते १५:५८ | Mar 20, 2017
मुकेश अम्बानीको जियोलाई टक्कर दिन आइडिया र भोडाफोन मर्ज,  भारतकै ठूलो टेलिकम कम्पनी


नयाँ दिल्ली। भारतका दुर्इ टेलिकम कम्पनी आइडिया र भोडाफोन मर्जर  हुने भएका छन्। मर्जरपछि बन्ने नयाँ कम्पनी ४० करोड ग्राहकका साथ भारतकै सबैभन्दा ठूलो टेलिकम कम्पनी हुनेछ। अहिले भारती एयरटेल २७ करोड उपभोक्ताका साथ देशको सबैभन्दा ठूलो टेलिकम कम्पनीका रुपमा छ।
 
मुकेस अम्बानीको रिलायन्स जियोले टेलिकम बजारमा उत्रिएपछि भारतीय टेलिकम बजारमा ठूलो हलचल आएको छ। यसैबेला यी दुर्इ कम्पनी मर्जरमा गएका हुन्। कडा प्रतिश्पर्धाका साथ बजारमा उत्रिएको जियोलार्इ सामना गर्न आइडिया भोडाफोन एक भएको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा उल्लेख छ।

Tata
GBIME
Nepal Life

केही महिनादेखी नै यी दुर्इ कम्पनीबीच मर्जरको बारेमा छलफल चलिरहेको थियो। नयाँ कम्पनी बनेपछि भोडाफोनको ४५ प्रतिशत र आइडियाको २६ प्रतिशत हिस्सा रहनेछ। केही समयपछि भने आदित्य बिडला ग्रुपले संचालन गरिरहेको आइडिया र भोडाफोनको हिस्सा बराबर हुनेछ।

आइडियाको भ्यालुएसन ७२ हजार २०० करोड भारु गरिएको छ। एबि ग्रुपसँग १३० रुपैयाँ प्रति शेयरका दरले नयाँ कम्पनीको ९.५ प्रतिशत शेयर खरिद गर्ने अधिकार रहेको छ। यो घोषणा लगत्तै आइडियाको शेयरमा २.५ प्रतिशतको उछाल आएको छ।

ब्रोकरेज कम्पनी सिएलएसएको प्रतिवेदनका अनुसार नयाँ कम्पनीको रेभेन्यू ८० हजार करोडभन्दा धेरै हुनेछ जुन देशको टेलिकम इन्डस्ट्रीको कुल रेभेन्यूको ४३ प्रतिशत हुनेछ। यसका साथै नयाँ कम्पनीसँग भारतीय बजारका कुल ४० प्रतिशत मोबाइल सब्सक्राइबर्स हुनेछन्।

आदित्य बिरला ग्रुपका अध्यक्ष कुमार मंगलम बिरलाले यसलार्इ अभूतपूर्व संयोजन भनेका छन्। उनले यो मर्जरले उच्च गुणस्तरको डिजिटल संरचनाको उदय हुने र दुबै कम्पनीहरुको शक्तिले बजारमा महत्वपूर्ण उचाइ सिर्जना गर्ने बताए।
 
भोडाफोनले पनि नयाँ मर्जरले आफूमा कन्फिडेन्स बढेको बताएको छ। भोडाफोन ग्रुपका सिइओ भिट्टोरियो कोलाओले एबी ग्रुपसँग बिलय हुँदा सबैको भ्यालु बढ्नेमा विश्वस्त रहेको बताए।
 
कम्पनीहरुले मर्जरपछि नयाँ बन्ने कम्पनीको नाम भने टुंगो लगाउन बाँकी नै छ। दुबै कम्पनीले जारी गरेको संयुक्त प्रेस बिज्ञप्तीमा केही समयको छलफलपछि यसको नामको पनि टुंगो लाग्ने बताएका छन्।