नेपालबाट भारततर्फ पेट्रोलियम तस्करी तिब्र, भारत लैजाने क्रम बढ्दा तराईमा चरम अभाव

बिजमाण्डू
२०७३ चैत्र ५ गते १५:३२ | Mar 18, 2017
नेपालबाट भारततर्फ पेट्रोलियम तस्करी तिब्र, भारत लैजाने क्रम बढ्दा तराईमा चरम अभाव


वीरगन्ज । पर्सा अमरपट्टीका सुरेन्द्रप्रसाद विगत तीन महिनादेखि डिजेल, पेट्रोलको तस्करी गरिरहेका छन्। नेपालमा डिजेल, पेट्रोलको भाउ कम र भारतमा प्रतिलिटर १० देखि २० रुपैयाँ बढी पाइने भएकाले उनले यस्तो पेसा रोजेका छन्। उनी विहार, भेलाहीको पेट्रोल पम्प र खुद्रा पसलेहरुलाई नेपालबाट ढुवानी गरी पेट्रोलियम पदार्थ बेच्ने गर्छन्।
 
सुरेन्द्रसँग उनको गाउँका अन्य व्यक्ति पनि यस्तो कालो धन्दामा लागेका छन्। पर्साको सिर्सिया, अलौ, झौवागुठी, प्रसौनीभाठा, धोरे, लहावरथकरी, सवैठवा, भिस्वा, जयमंगलापुर, भिखमपुर, महादेवपट्टीलगायत गाविसका तस्कर सक्रिय भएको गाउँलेहरु बताउँछन्।
 
गत वर्ष मधेसमा भएको आन्दोलन र नाकाबन्दीका बेला नेपालीहरु भारतबाट तेल तस्करी गरेर नेपाल ल्याउँथे। तर अहिले अवस्था ठिक उल्टो भएको छ। हाल नेपालका तराईका जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, सिरहालगायत अन्य जिल्लाबाट भारतमा सहजै तेल तस्करी भइरहेको छ। 
सहरभन्दा ग्रामीण भेगको छोटी नाकाहरुबाट तेल भारत जाने गरेको देखिन्छ। भारतको सीमावर्ती गाविसका तस्करहरु साइकल, मोटरसाइकल र ट्याक्टरमा पेट्रोलियम पदार्थ तस्करी गरिरहेका छन्। उनीहरु नेपालका ग्रामीण भेगका पेट्रोल पम्पहरुबाट दिनमा दुई तीन पटक तेल ग्यालेनमा भर्छन् र भारतीय सीमावर्ती बजारमा लगेर बेच्छन्।
 
एक सातादेखि तराईका जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार भएको छ। मधेस बन्द र होली पर्वका बेलामा पनि धेरै मात्रामा तस्करी बढेको र तेल आयात घटेकोले पनि झनै समस्या उत्पन्न भएको नेपाल आयाल निगम क्षेत्रीय कार्यालय वीरगन्जका क्षेत्रीय प्रमुख उपेन्द्र नेपालको भनाइ छ।
 
उनका अनुसार तेल तस्कर र भारतीय गाडीहरुका कारण ठूलो परिमाणमा नेपालबाट भारतमा इन्धन गइरहेको छ।
 
‘एक त तस्करी व्यापक बढेको छ, त्यसमा पनि भारतबाट मालसमान लिएर नेपाल पसेका सबै गाडीहरु भारत फिर्ता हुँदा फुल ट्याङ्की तेल लिएर जाने गर्छन्,’ उनले भने, ‘यदि सरकारले यो अपराधिक गतिविधिमा अंकुश लगाउन सकेन भने आउँदो गहुँ लगाउने सिजनमा तराईका जिल्लाको कृषि क्षेत्र नराम्ररी प्रभावित हुन्छ।’ 
 
क्षेत्रीय प्रमुख नेपाल तराईका जिल्लामा डिजेलभन्दा पेट्रोलको अभाव बढी भएको बताउँछन्। यसरी करिब २० प्रतिशत इन्धन नेपालबाट भारतमा गइरहेको उनको अनुमान छ। 
 
नेपाल आयाल निगम क्षेत्रीय कार्यालय वीरगन्ज अन्तर्गत प्रतिदिन पेट्रोल अधिकतम ८४ हजार लिटर र डिजेल ३ लाख ७२ हजार लिटरको खपत हुने गर्दछ। पर्सा र बारामा गरी कूल १०६ वटा पेट्रोल पम्पहरु छन्। जसमध्ये पर्सा/बाराको ग्रामीण भेगमा करिब २ दर्जन पेट्रोल पम्पहरु छन्।
 
क्षेत्रीय कार्यालय वीरगन्जले शुक्रबार मात्र ४८ लिटर पेट्रोल र ३ लाख ६० हजार लिटर डिजेल भित्र्याएको जनाएको छ। सधैँ ठूलो परिमाणमा इन्धन भित्र्याउँदा पनि वीरगन्ज आसपासका जिल्लामा इन्धन अभाव कायमै छ। भारतमा मट्टितेल नेपालमा भन्दा तीन रुपैयाँ सस्तो पाइने हुनाले पर्साको ग्रामीण भेगका बासिन्दा भारतीय बजारबाट मट्टीतेल तस्करी गरेर ल्याउँछन्।
 
कसरी रोकिन्छ तेल तस्करी? 
नेपाल आयाल निगमका अधिकारीहरु जिल्लाको सुरक्षा संयन्त्र अझै सक्रिय भएर पेट्रोलियम पदार्थको तस्करी नियन्त्रण गर्नुपर्ने बताउँछन्। देश स्थानीय तहको निर्वाचनमा केन्द्रित हुँदै गइरहेको अवस्थामा तेल तस्करहरुलाई कसरी लगाम लगाउन सकिन्छ भन्ने विषयमा स्थानीय प्रहरी, प्रशासन र उपभोक्ताहरुले तदारुपता देखाउन जरुरी रहेको अधिकारीको सुझाव छ। 

Tata
GBIME
Nepal Life