गभर्नरले लघुवित्तलाई सामन्ती भनेकोमा पूर्वगभर्नरहरुको आपत्ति, भने- शोषक होइनन्

बिजमाण्डू
२०७३ चैत्र ४ गते ०९:२२ | Mar 17, 2017
गभर्नरले लघुवित्तलाई सामन्ती भनेकोमा पूर्वगभर्नरहरुको आपत्ति, भने- शोषक होइनन्

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले लघुवित्त संस्थाहरुलाई 'नव सामन्ती' भनेको भन्दै पूर्वगभर्नरहरुले आपत्ति जनाएका छन्। गभर्नर नेपालले राजधानीमा जारि लघुवित्त सम्मेलनको उद्घाटन कार्यक्रममा लघुवित्तहरुलाई गाउँमा नव सामन्तिका रुपमा बुझ्न थालिएको बताएका थिए।

Tata
GBIME
Nepal Life

गभर्नर नेपालले नयाँ सामन्ती र शोसकहरु राष्ट्र बैंकले गाउँघरमा छिरायो भन्ने आरोप आफूलाई लाग्न थालेको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि राष्ट्र बैंक कारवाहीमा उत्रनु पर्ने अवस्था आउन लागेको बताएका थिए।

सम्मेलनको दोस्रो दिन पूर्वगभर्नरहरुले डा. नेपालको भनाइबाट आफूहरु 'आश्चर्य' मा परेको भन्दै लघुवित्तकै कारण गाउँको गरीबी निवारणमा सहयोग पुगेको बताएका छन्।

राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयन शम्शेर जबराले लघुवित्त संस्था राज्यको गरीबी निवारण गर्ने कार्यक्रमअन्तर्गत खुलेको भन्दै डा. नेपालले किन त्यसरी सामन्ति भने भन्नेमा आफूलाई आश्चर्य लागेको बताए।

'गरिबी निवारण र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न लघुवित्त संस्थाहरु खुलेका हुन्' राणाले भने, 'सामन्ती भनेको सुन्दा मलाई राम्रो लागेको छैन।'

नेपालमा औपचारिक रुपमा लघुवित्त संस्थाहरुको आरम्भ गरेका पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठले पनि गभर्नर डा. नेपालको सार्वजनिक मन्तब्यमाथि आपत्ति जनाएका छन्। 'उहाँ (डा. नेपाल) ले किन सामन्ति भन्नु भयो मलाई अचम्म लागेको छ' उनले भने, 'उहाँले गढबढ बोल्नु भयो।'

श्रेष्ठले आफूले नव सामन्ति किन भन्नु भयो भन्ने बारेमा गभर्नर नेपालसँग कुराकानी गर्न चाहेकोसमेत बताए। 'उहाँ आज कार्यक्रममा आउनु भएको भए कुरा गर्ने बिचारमा थिएँ' उनले भने, 'किन सामन्ति भन्नु भयो अचम्ममा परेको छु।'

अर्का पूर्वगभर्नर दीपेन्द्र पुरुष ढकालले लघुवित्तका कारण गरिवी निवारणमा निक्कै सहयोग पुगेको बताउँदै लघुवित्त संस्थाहरु नखुलेका भए गरिवी निवारण कार्यक्रम सञ्चालन गर्न गाह्रो हुने तर्क गरे। 'केही विकृतिहरु पनि होलान् तर लघुवित्त गाउँगाउँसम्म पुगेको भएरै गरिवी निवारण गर्न सजिलो भएको हो' उनले भने।

पूर्वगभर्नर विजयनाथ भट्टराईले ब्याजदर महँगो भयो भन्ने तर्कका आधारमा सामन्तीको पगरी गुथाउनु गलत भएको बताए। 'लघुवित्तहरु गाउँगाउँमा गएर सेवा दिने भएकाले १८/२० प्रतिशतको ब्याज दरलाई महँगो भन्न मिल्दैन' उनले तर्क गरे, 'गाउँमा लघुवित्तले नतिजा देखाएका छन् कि छैनन् भनेर हेर्नु पर्छ।'

राष्ट्र बैंकमा ६ महिना मात्र गभर्नर भएका दीपेन्द्रवहादुर क्षेत्रीले ब्याज दर अंक गणितीय पहेली मात्र भएको भन्दै विकृति आए त्यसलाई न्यूनीकरण गरेर जानु पर्ने बताए।

लघुवित्तका अभियन्ता तथा पूर्व गभर्नर गणेशवहादुर थापाले लघुवित्त संस्था सामन्ति शोषक नभएको भन्दै शोषण हटाउनका लागि ल्याइएको संस्था भएको बताए। 'लघुवित्तकै कारण गाउँमा  कायपलट भएको छ' उनले भने, 'करिवको ६२ प्रतिशतमा लघुवित्त संस्था पुगेका छन्। उनीहरुकै कारण गरिबी निवारण कार्यक्रम अगाडि वढाउन सजिलो भएको छ।'

गभर्नर डा. नेपालको 'सामन्ती' भाषाको पूर्वगभर्नरहरुले एकै मञ्चबाट विरोध गरिरहँदा हलमा उपस्थितहरुले ताली बजाएका थिए।