मोरङ व्यापार सङ्घको निर्वाचन आउँदो महिना, अध्यक्ष शारडा फेरि उम्मेदवार बन्ने सङ्केत

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७३ चैत्र ३ गते २१:५८ | Mar 16, 2017
विराटनगर । देशको सबैभन्दा पुरानो उद्योग वाणिज्य सङ्घको रूपमा चिनिने मोरङ व्यापार सङ्घको ६२औँ साधारण सभा यही चैत भरमा र वैशाखको दोस्रो साता नयाँ नेतृत्वको चुनाव हुने भएको छ।

Tata
GBIME
Nepal Life


 

सङ्घका अध्यक्ष पवनकुमार शारडाले बिहिबार एक कार्यक्रममा साधारण सभा र निर्वाचन घोषणा गरेका हुन्।
 
मितेरी विकास बैङ्कको शाखा कार्यालय उद्घाटन कार्याक्रममा अध्यक्ष शारडाले वैशाख महिनामा निर्वाचन गराएर आफू जिम्मेवारीबाट मुक्त हुने धारणा प्रकट गरे।
अध्यक्ष शारडाको नेतृत्वमा रहेको कार्यकारी समितिको पदावधि गत असारमै सकिएको थियो। सङ्घको विधान र नियमावलीअनुसार कार्यसमितिको कार्यकाललाई बढीमा छ महिनामात्र विस्तार गर्न सकिने प्रावधान छ। जसअनुसार गत माघ देखि कार्यसमिति विधानविपरीत सञ्चालन गरेको आरोप उनमाथि लाग्दै आएको छ।
 
को बन्ला अध्यक्ष ?
बिजमाण्डूसँगको कुराकानीमा शारडाले आफू अध्यक्षमा पुनः निर्वाचित हुन इच्छुक नरहेको तर परिस्थितिले चाहेमा दोहोर्याउन सक्ने बताए ।
 
‘मलाई फेरि व्यापार सङ्घको अध्यक्ष बन्ने इच्छा पटक्कै छैन’, उनले भने, ‘तर मैले चाहेर मात्र हुँदैन। हेरौँ, परिस्थिति त्यस्तै भयो भने छाड्ने कुरा पनि हुँदैन।’
 
सम्बद्ध स्रोतका अनुसार व्यापार सङ्घको आगामी निर्वाचनका लागि दुई गुट सक्रिय छन्। एउटा गुटको नेतृत्व वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले र अर्को गुटको महासचिव प्रकाश मुन्दडाले गरेका छन्।
 
वरिष्ठ उपाध्यक्ष राउत आफैँ अध्यक्षका प्रत्यासी हुन् भने महासचिव मुन्दडाको पक्षले शारडालाई अध्यक्ष पद दोहोर्याउन दबाब दिइरहेको छ। मुन्दडाका पक्षमा सङ्घका पूर्व अध्यक्ष महेश जाजू र राउतका पक्षमा पूर्व अध्यक्ष अविनाश बोहरा क्रियाशील छन्।
 
मुन्दडा आफू वरिष्ठ उपाध्यक्षमा रहेर राउतलाई अध्यक्ष स्वीकार गर्न तयार छन् तर महासचिवलगायतका पद र केही सदस्यमा पनि आफ्ना पक्षका व्यवसायी राख्नुपर्ने शर्त तेर्स्याउने तयारीमा छन्। राउतले शर्त नमाने चुनाव अवश्यम्भावी छ।  
 
राउत पक्षसँग सहमति नभए उनी शारडाको खेमाबाट वरिष्ठ उपाध्यक्ष बनाइने छन्।
 
सङ्घमा हाल १ हजार ७ सय साधारण सदस्य छन्। साधारण सदस्यले १९ जना कार्यकारी सदस्य चुन्ने छन्। जसमध्ये उद्योग र वाणिज्य क्षेत्रबाट ८/८, वस्तुगत क्षेत्रबाट २ र शाखा कार्यालयबाट १ सदस्य चुनिने प्रावधान छ। जिल्लाभरिमा सङ्घका आठ वटा शाखा छन्।
 
निर्वाचित १९ सदस्यले आफैँभित्रबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्य क्षेत्रका लागि १/१ उपाध्यक्ष र १/१ महासचिव र सचिवको निर्वाचन गर्नुपर्ने विधानमा उल्लेख छ।
 
निर्वाचित अध्यक्षले साधारण सदस्यमध्येबाट २ जनालाई सदस्यमा मनोनीत गरेपछि सङ्घको पूर्ण कार्यसमिति २१ सदस्यीय हुनेछ।