भैरहवा सेजको पहिलो उद्योग एसियन थार्इ फूड्स, रमपम चाउचाउ भारत र अमेरिका निकासी गर्ने

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७३ चैत्र २ गते २१:१८ | Mar 15, 2017
भैरहवा सेजको पहिलो उद्योग एसियन थार्इ फूड्स, रमपम चाउचाउ भारत र अमेरिका निकासी गर्ने
विराटनगर ।भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा पहिलो उद्योगको रुपमा एसियन थाई फुड्स स्थापना हुने भएको छ।

Tata
GBIME
Nepal Life


सुनसरीको सोनापुरमा रमपम चाउचाउ उत्पादन गरिरहेको एसियन थाई फूड्सले भैरहवास्थित सेजमा उत्पादनका लागि छुट्टै एकाइ खोल्न लागेको हो ।
‘सेजको सञ्चालक समितिसँग सम्झौता भइसकेको छ’, एसियन थाई फुडका सञ्चालक महेश जाजूले बिजमाण्डूसँग भने, ‘अब यही हप्ताभित्र सरकारसँग पनि सम्झौता हुँदैछ । त्यसपछि मेसिन जडान गर्ने काम धमाधम हुन्छ र आगामी छ महिनाभित्रमा उत्पादन सुरु हुन्छ ।’
विशेष आर्थिक क्षेत्रमा उद्योग लगाएवापतको भाडा दर प्रति वर्ग फिट २० रुपैयाँ महँगो भएको गुनासो गर्दै सञ्चालक जाजूले यसलाई घटाएर १० बनाउनुपर्ने बताए।सेजमा स्थापना भएको उद्योगले आफ्नो उत्पादनको ७५ प्रतिशत निर्यात गर्नैपर्ने नियम पनि लगानीका लागि बाधक हुने उनले बताए।
 
‘विशेष आर्थिक क्षेत्र निर्यातमूलक उद्योगकै लागि हो’, उनले भने, ‘तर नेपालको सन्दर्भ अलि फरक छ । उत्पादन सुरु हुनेबित्तिकै कुल उत्पादनको ७५ प्रतिशत एकै चोटि निकासी गर्न गाह्रो छ । त्यसैले सुरुमा २५ प्रतिशत निर्यात गर्ने र विस्तारै यसलाई वृद्धि गर्दै लैजाने प्रावधान बनाइनु पर्छ ।’
 
भैरहवास्थित सेजमा अझै पनि विजुलीको समस्या छ।विशेष आर्थिक क्षेत्रका लागि आयात गरिएका मेसिनमा अनुदान दिने अन्तर्राष्ट्रिय परम्परा र प्रचलनलाई नेपालले अनुसरण गर्नुपर्ने बताए।भारतका पश्चिम बङ्गाल, असम, सिक्किम, उत्तर प्रदेश, उत्तराखण्ड, विहार, अरुणाचल, मणिपुर, मिजोरम लगायतका स्थानमा रमपम चाउचाउ निकासी भइरहेको छ ।
 
एक वर्षयता अमेरिकामा रमपम चाउचाउको माग अत्यधिक भएको उनले बताए । अहिले हरेक महिना पाँच लाख प्याकेट चाउचाउ अमेरिका निर्यात भइरहेको र आगामी ६ महिनाभित्रमा १० लाख प्याकेट पुयाउने तयारी भइरहेको जाजूले जानकारी दिए ।
 
‘अमेरिकाको धेरै डिपार्टमेन्ट स्टोरबाट रमपम चाउचाउको माग भइरहेको छ’, उनले भने, ‘अमेरिकाजस्तो विकसित मुलुकमा नेपाली ब्रान्डको चाउचाउको माग हुनु गौरवको विषय भएको हो । उनका अनुसार अस्ट्रेलिया, दुबई र कतारमा पनि रमपम चाउचाउ निकासी भइरहेको छ।‘नेपालमा उत्पादित चाउचाउमा छुट्टै स्वाद र मिठास रहेकोले माग बढेको हो, जाजूले भने, ‘सुरुमा नेपालीको रोजार्इ भएपनि अहिले अमेरिकी उपभोक्ताले समेत रुचाउन थालेका छन्।’