भूकम्प र मजदुरलाई देखाएर बन्द एभरेष्ट होटल नचल्नुको भित्री कथा, ५२ सालदेखिको लफडा सुल्झिएन

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७३ फागुन २७ गते ०९:३९ | Mar 10, 2017
भूकम्प र मजदुरलाई देखाएर बन्द एभरेष्ट होटल नचल्नुको भित्री कथा, ५२ सालदेखिको लफडा सुल्झिएन


काठमाडौं। भूकम्प आउनुअघि बानेश्वरस्थित एभरेष्ट होटल खचाखच हुन्थ्यो। ३२ रोपनीमा फैलिएको होटल काठमाडौंको केन्द्रमा भएकाले आन्तरिक र वाह्य पर्यटकको प्राथमिकतामा पर्थ्यो

Tata
GBIME
Nepal Life

क्यासिनोसमेत भएकाले 'विकेन्ड' मा विदेशीको होटल जक्सन बन्ने गरेको थियो। २०७२ वैशाख १२ र २९ को भूकम्पपछि होटल बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएको छ।

भूकम्प गएको दुई बर्ष पुग्न लाग्दा पनि  पुनर्निर्माण गरेर सञ्चालन गर्न व्यवस्थापन तातेको छैन। भूकम्पअघि र अहिले पनि डेढ सयभन्दा बढि कोठा रहेको होटललाई शान्तिको प्रतिक 'परेवा' को हुलले सर्लक्कै छोपेर सजाएको छ। अहिले एभरेष्ट होटल बानेश्वर-माइतिघर सडकबाट हिँड्नेहरुका लागि परेवाको आकर्षक  'गुँढ' मात्र भएको छ।

मजदुरहरुले होटल सञ्चालनका लागि बारम्बार ताकेता गरिरहेका छन्। संसदको अर्थसमितिले त अविलम्ब सुचारु गर्न निर्देशन पनि दिइसक्यो। तर  होटल पूनर्निर्माण गरेर सञ्चालन गर्ने जाँगर लगानीकर्तालाई आएको छैन।

मोटामोटी १० देखि ११ अर्ब रुपैयाँको सम्पति मूल्यांकन गरिएको एभरेष्ट होटल सञ्चालन गर्ने जाँगर किन पलाउँदैन लगानीकर्तालाई?

व्यवस्थापनले मजदूर समस्याका कारण होटल सञ्चालनमा आउन कठिन भएको जनाएको छ। भूकम्पको एक बर्षपछि लगानीकर्ताले कर्मचारी तथा मजदुर कटौती गर्न श्रम कार्यालयमा दिएको निवेदनलाई आधार मान्दा होटल मजदुरका कारणले चलाउन गाह्रो भएको छ।

भूकम्प र मजदुर समस्या देखाउने कारण मात्र हो, एभरेष्ट होटलको वास्तविकता सतहमा आएको भन्दा नितान्त फरक छ।

***

एभरेष्ट भारतीय लगानीको 'फाइभ स्टार' होटल हो। २०३७ सालमा उद्योग विभागबाट सञ्चालन स्वीकृति लिएको होटलमा भारतीय लारी परिवारको स्वामित्व छ।

होटलका मूली मकबुल अहमद लारी हुन्। मकबुलका छोरा मुजब्फर अहमद लारी, भतिजा मस्कुर अहमद लारी, भतिजकी श्रीमती नज्मा मस्कुर अहमद लारीलगायतको लगानी छ। मूख्य सेयर हिस्सा मकबुल र नज्माको हो।

२०६१ जेठ ४ गते होटलका मूली मकबुल अहमद लारीको भारतमा निधन भएपछि उनका छोरा मुजब्फर नेपाल आएर बुबाको नामको सेयर आफ्नोमा सार्ने योजना मस्कुर र उनकी श्रीमती नज्मालाई सुनाए।

मस्कुर र नज्माले २०५२ सालमै काका मकबुलबाट सेयर खरीद गरिसकेकाले 'मेजोरिटी' आफूसँग भएको जवाफ दिए। बुबाको निधनपछि भारतबाट  आएका मुजब्फरलाई 'हाइभोल्टेज' करेन्ट लाग्यो।

उनी किर्ते गरेर शेयर हडपेको आरोप लगाउँदै काठमाडौं जिल्ला अदालत पुगे। जिल्लाले छोरा मुजब्फरलाई हरायो। उनी पुनरावेदन अदालत पुगे। त्यहाँबाट पनि मुद्दा हारे।

किर्ते गरेर बुबाको शेयर आफ्नो हातमा पारेको आरोपसहित मुजब्फर २०७१ भदौं २९ अर्थात भूकम्प जानु सात महिनाअघि सर्बोच्च अदालत गए। सर्बोच्चमा यो मुद्दा बिचाराधीन छ।

***

मस्कुरले ठमेलबाट नेदरल्यान्ड एउटा समान पठाए। सामान जर्मनीको फ्रयाङ्कफर्टमा समातियो। मस्कुरले पठाएको 'लगेज' मा लागुऔषध भेटियो।

फ्रयाङ्कफर्ट प्रहरीले विस्तृत अनुसन्धान गर्न थाल्यो। अनुसन्धानले सामान मस्कुरकै रहेको पुष्टी गर्यो। फ्रयाङफर्ट प्रहरीले नेपालमा पत्र लेखेर मस्कुरको संलग्नतासहित उनलाई पक्राउ गर्न आग्रह गर्यो।

लागुऔषध समातिएपछि मस्कुर फरार भए। उनको मुद्दा अहिले पनि नेपालको अदालतमा चलिरहेको छ। अर्थात उनी अहिले प्रहरीको सूचीमा 'मस्ट वान्टेट' छन्। २०६८ सालदेखि मस्कुर फरार भएपछि नज्मा एक्लैले होटल सञ्चालन गरिरहेकी थिइन्।

***

जिल्ला र पुनरावेदन दुई तहबाट मुद्दा हारे पनि मुजब्फरले भने हिम्मत हारेका छैनन्। तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्मा र चोलेन्द्र शम्शेर जबराले निस्सा दिएपछि सर्वोच्चमा मुद्दा ब्यूँतिएको छ।

मुजब्फरले 'किर्ते' गरेर नज्मा र मस्कुरले आफ्नो बुबा मकबुलको सेयर हडपेको दाबी गरी रहेका छन्।

यता मस्कुर र नज्मा पक्षले भने नामसारी गरेको कागजपत्र देखाइरहेका छन्।

कम्पनीको कुल सेयर संख्या ८४ लाख ५९ हजार कित्ता हो। यसमध्ये ७०.१५ प्रतिशत अर्थात ५९ लाख ३४ हजार १०० कित्ता बुवा मकबुलको नाममा थियो। जन्मासँग २४.३१ प्रतिशत अर्थात २० लाख ५७ हजार १०० कित्ता थियो।

मकबुलले २०५२ सालमै आफ्नो हिस्साको २८ प्रतिशत भतिज मस्कुर र उनकी श्रीमती नज्मालाई बेचेको कागजपत्र उनीहरुले प्रस्तुत गरेका छन्। मकबुलले ११ लाख ९९ हजार कित्ता शेयर मस्कुर र ४ लाख ६४ हजार कित्ता नज्मालाई बेचेका हुन्।

यस बापत ५९ लाख रुपैयाँ तत्कालीन इन्डोसेज बैंक (अहिलेको नेपाल इन्भेष्टमेन्ट बैंक) मार्फत भुक्तानी गरेको कागजपत्र पनि देखाएका छन्।

***

होटल नियमित सञ्चालन भइरहेको थियो। यहीबीचमा मुजब्फरले सर्बोच्चमा मुद्दा हाले।

मुद्दा हालेको सात महिना नबित्दै भूकम्प गएपछि सरकारले पूर्वाधार प्रयोग गर्नै नमिल्ने गरि भत्किएको भन्दै 'रातो स्टिकर' टाँसिदियो। मुद्दामामिलाले हटवल चलाउने नचलाउने दोधारमा भएका बेला भुकम्प गयो। नज्माको द्वीविधा हट्यो- अब होटल सञ्चालन नगर्ने।

होटल राम्रैसँग चले पनि मुद्दा मामिलाका कारण यसलाई निरन्तरता दिने/नदिने अन्यौंल नज्मालाई थियो। मन दोमन भएका बेला भूकम्प गएर संरचना भत्कियो। मजदूर समस्या पनि चर्किरहेको थियो। भुकम्प र मजदुरलाई समस्या देखाएर एक्लै एभरेष्ट चलाइरहेकी नज्मालाई होटल बन्द गर्न सजिलो भयो।