के पैसाको मृत्यु सम्भव होला? अध्ययन भन्छ प्रविधिले फड्को मार्दा कार्ड घोट्ने बढ्दै

बिजमाण्डू
२०७३ फागुन २६ गते १७:१९ | Mar 9, 2017
के पैसाको मृत्यु सम्भव होला? अध्ययन भन्छ प्रविधिले फड्को मार्दा कार्ड घोट्ने बढ्दै
साधारणतया कुनै पनि चिजको भविष्य निक्र्यौल गर्नु निकै नै कठिन कार्य हो। त्यसमा पनि सदियौंदेखि मानिसले चलाउँदै आएको पैसाको भविष्यको कुरा गर्नु त झनै चुनौतीपूर्ण हो। तर, केही विद्वानहरुले पैसाको मृत्युको परिकल्पना गरेको पाइन्छ । यहाँ पैसालाई मुद्रा (मनी) को अर्थमा नभै नगद (क्यास) को अर्थमा परिभाषित गर्न खोजिएको हो।

Tata
GBIME
Nepal Life

कुनै पनि आर्थिक कारोवार गर्नको लागि मुद्राको कुनै न कुनै रुप आवश्यकता हुन्छ। तर, मुद्राको रुपमा हामीले अहिले प्रयोग रहेको कागजी मुद्रा (पैसा) को अस्तित्वको विषयमा भने अनेक अडकालवाजी आउन थालिएको छ।

तसर्थ, पैसाको मृत्युको विषयमा कुरा गर्दा यहाँ “नगद विनाको समाज” (क्यासलेस सोसाइटी) को परिकल्पनालाई विश्लेषण गर्न खोजिएको हो । यस्तो पैसा विनाको समाजको परिकल्पना करिब ५० वर्ष पहिले “पहिलो भुक्तानी कार्ड” को प्रयोग भएपछि गरिएको देखिन्छ। त्यसपछि भुक्तानी प्रणालीमा निकै परिवर्तनहरु देखा परेका छन् ।

गएको २० वर्षमा प्रविधिमा भएको विकासक्रमलाई नियाल्ने हो भने डेविट कार्ड, क्रेडिट कार्ड, ई–पेमेण्ट, मोबाइल पेमेण्ट हुँदैहुँदै अहिले आएर अभौतिक मुद्रा (भर्चुअल करेन्सी) को प्रयोगसम्म आइपुगेको छ। यी विकासक्रमलाई हेर्ने हो भने त “पैसाको मृत्यु” हुने दिन नजिक आइरहेको हो कि भन्ने पनि बुझिन्छ। आजको विश्वमा पैसा बिनाको भुक्तानी प्रणाली निकै नै चलनचल्तीमा छ।

कतिपय अवस्थामा “कार्ड” विनाको किनमेल कल्पना गर्न पनि नसकिने अवस्था छ भने ई–व्यवसाय, ई–बैंकिङ जस्ता नयाँ नयाँ उपकरणहरु बजारमा आइरहेका छन् जसले समाजलाई 'क्यासलेस' मा नभएपनि हाललाई 'क्यास लेस' मा परिवर्तन गर्न सघाउ पुर्याइरहेका छन्।

पैसाको मृत्यु हुन्छ त?
हामीलाई दैनिक आवश्यक पर्ने बस्तुको खरिदको लागि पहिला जस्तो बिटाका बिटा पैसा बोकेर हिंड्नु आवश्यक छैन आजकल। तपाईंलाई मन पर्ने बस्तुहरु आफुलाई चाहे जति किन्नुस् भुक्तानीको लागि तपाइसँग भएको एउटा प्लास्टिकको कार्ड काफि छ। कार्डलाई मेसिनमा घोटिदिनुस् बस्, पुगिहाल्यो। न पैसा बोक्ने झन्झट, न बाटोमा झर्ने पीर, न बढि भुक्तानी गयो कि भन्न डर। सामान किन्न मात्र होइन, पानी, बत्ति, टेलिफोनको पैसा तिर्न अब ती कार्यालयहरुको भुक्तानी काउण्टरमा गएर लाइन बस्नु पर्ने दिन गए अब। अनलाइन भुक्तानी प्रणालीको विकासले त्यस्ता सेवा सुविधा उपभोग गरे बापतको भुक्तानीलाई सहज तुल्याइदिएको छ।

नेपालको हकमा भलै यसको प्रयोग भैनसकेको होला, सार्वजनिक यातायातमा यात्रा गर्दा पैसा भुक्तानी गर्ने प्रणालीमा आमुल परिवर्तन आइसकेका छन्। अब बस चढ्दा होस् या रेल चढ्दा होस् पहिला जस्तो काउण्टरमा गएर टिकट काट्ने वा बस कण्डक्टरलाई पैसा तिरीरहनु जरुरी छैन। त्यस्ता साधनमा जडान गरिएका मेसिनमा गएर तपाईको कार्ड छुवाइ दिनुस् बस पुगिहाल्यो। न तपाइलाई चानचुन पैसा बोक्ने झन्झट न कण्डक्टरले चानचुन पैसा फिर्ता नदिने भन्ने पीर।

त्यत्ति मात्रै होइन विदेशमा भएका तपाईंका आफन्तलाई तपाई यहीँ बस्दा बस्दै विदेशकै बजारबाट केही उपहार उपलब्ध गराइ दिन चाहनु हुन्छ? अनलाइन सपिंग । तपाईको समस्याको समाधान भै हाल्यो। यी सबै कुराहरुलाई नियाल्ने हो भने केही समयअघि हामी कल्पना नै गर्न नसक्ने पैसा (नगद) बिनाको जिन्दगी प्रविधिमा आएका विकास सँगसँगै पैसा बिना पनि जिन्दगी बाच्न सकिन्छ भनि कल्पना गर्न थालेका मात्र होइन अबका केही समयपछि पैसाको अवसान हुने कुराले निकै चर्चा पाउन थालेका छन्।

कसरी बढिरहेको छ प्रविधिले फड्को?
पैसा (नगद) को सट्टामा प्रयोग गर्न सकिने अनेक प्रकारका प्रविधिहरुको विकासक्रम बढ्दै गैरहेका छन्। विगतमा भुक्तानी प्रणालीमा प्रयोग हुने ड्राफ्ट, टिटीजस्ता कतिपय उपकरणहरु नयाँ पुस्ताले नामै सुनेका छैनन् होला। २०औं शताब्दीको शुरु शुरुमा विकास भएको डेबिट कार्ड र क्रेडिट कार्डजस्ता उपकरणहरु पनि अहिले पुराना भैसकेका छन्। अहिलेका पुस्ताले भुक्तानीका लागि प्रयोग गर्न थालेका नयाँ उपकरणहरु भनेका मोवाइल वालेट, कन्ट्याक्टलेस कार्ड, अनलाइन पेमेन्ट हुन्। जसले तपाईलाई पैसा बोक्नै पर्ने झन्झटबाट मुक्ति मात्र दिएको छैन केही विकसित मुलुकहरुमा त पैसाको प्रयोगमा र नगदको मागमा नै ह्रास आइरहेको देखिन्छ।

बेलायतमा भएको एक अध्ययन अनुसार सन् २००५ मा रेष्टुरेण्टमा कार्डको प्रयोग ८.६ अर्व स्टर्लिंग पाउण्ड बराबरको भएकोमा सन् २०१४ मा यस्तो भुक्तानीमा कार्डको प्रयोग २२.२ अर्व स्टर्लिंग पाउण्ड पुगेको थियो।

पछिल्ला समय प्रविधिको विकाससँगै नगद कारोबारमा पनि सीमा तोकिन थालिएको छ। निश्चित रकमभन्दा माथिको भुक्तानीमा नगदको प्रयोगमा लगाएको बन्देजले पैसाको मागलाई प्रभावित तुल्याइरहेको छ।

विश्वमा पैसा
भुक्तानी प्रणालीमा संसारभर नै सबैभन्दा बढी प्रयोग हुने उपकरण भनेको “पैसा”  नै हो।  वर्ल्ड पेमेन्ट रिपोर्ट २०११ अनुसार विश्वका हरेक १० वटा आर्थिक कारोवारमा ८ देखि ९ वटा कारोवारको भुक्तानी “नगद” बाटै हुन्छ। यद्र्यपी आर्थिक कारोवारमा विभिन्न किसिमको कार्ड वा अन्य भुक्तानी उपकरणको प्रयोगमा पनि उत्तिकै बृद्धि भैरहेको छ। यस अर्थमा हेर्ने हो भने विस्तारै भए पनि नगदको प्रयोगमा कमी आइरहेको देखिन्छ।

एजिआइएस भन्ने संस्थाको सन् २०१२ को रिपोर्ट अनुसार यूरो क्षेत्रमा “नगद” को प्रयोग कुल गार्हस्थ उत्पादनको ९.२५ प्रतिशत रहेको पाइन्छ। सन् २००२–२०११ को अवधिमा चलनचल्तीमा रहेको मुद्राको परिमाण १०.६ प्रतिशतले बृद्धि भएको देखिन्छ। यही अवधिमा यूरो क्षेत्रमा “नगद” पैसाको मागमा तेब्बरले बृद्धि पनि भएको छ। माग बढ्नुमा मुख्यतः सन् २००८ को “आर्थिक सङ्कट” ले पनि मुख्य भूमिका खेलेको पाइन्छ। एजिआइएसका अनुसार संयुक्त राज्य अमेरिका मात्र यस्तो मुलुक हो जहाँ भुक्तानी प्रणालीको सन्दर्भमा ४० प्रतिशत भन्दा बढी कारोवारको भुक्तानी “कार्ड” बाट हुने गरेको छ।

किन नगद?
प्रविधिमा भएका द्रुत विकासक्रमले भुक्तानी प्रणालीमा पनि निकै किसिमका वैकल्पिक उपकरणहरुको विकास भएका छन्। तर पनि भुक्तानी प्रणालीमा सबैभन्दा बढी प्रयोग हुने उपकरण भनेको “नगद” नै हो।

सर्वस्वीकार्य: “नगद” मात्र यस्तो सर्वस्वीकार्य भुक्तानीको उपकरण हो जसको प्रयोग जुनसुकै ब्यक्ति अर्थात् बुढो, बच्चा, अशिक्षित, शिक्षित, बैंक खाता नभएका ब्यक्ति आदिले आवश्यकतानुसार प्रयोग गर्न सक्दछ । कुनै पनि बस्तु वा सेवा खरिद गर्नको लागि “नगद” को प्रयोग गर्न कुनै प्रविधि र प्राविधिक ज्ञानको आवश्यकता पर्दैन– एकदमै सरल र सजिलो । सानो रकमको भुक्तानी देखि ठूलो रकमको भुक्तानी जस्तोसुकैमा पनि “नगद” को प्रयोग सजिलो मानिन्छ, कार्डबाट गरिने भुक्तानीमा जस्तो कुनै सीमा हुँदैन ।

अन्जान: भुक्तानी प्रणालीका विभिन्न उपकरणहरु मध्ये “नगद” यस्तो माध्यम हो जसको प्रयोग गर्नको लागि प्रयोगकर्ताले आफ्नो परिचय खुलाउन जरुरी हुँदैन अर्थात् कुनै पनि कारोवार ब्यक्तिगत र गोप्य हुने गर्दछ । “कार्ड” को प्रयोगमा जस्तो आफ्नो परिचय, ब्यक्तिगत गोप्यता लगायतका सूचना दिनु पर्ने हुँदैन र प्राविधिक त्रुटिको कारणले बैंक खाताबाट आफ्नो रकम हराउने जस्ता समस्याको सामना गर्नु पर्दैन । तर, विश्वमा कालो धनको नियन्त्रण, मुद्रा निर्मलीकरण, कर छली जस्ता अपराधको नियन्त्रण गर्ने प्रयोजनको लागि “नगद” कारोवारमा “सीमा” तोक्ने प्रवृत्तिको विकास भैरहेको छ ।

विश्वसनीयता: नगद– खासगरेर कुनै पनि देशको मुद्राको निष्काशन त्यस देशको सरकारको प्रत्याभूतिमा केन्द्रीय बैंकलेमात्र गर्ने हुनाले मुद्राको विश्वसनीयता सर्वोपरि हुन्छ । कुनै पनि देशको मुद्रा सरकारले बाहेक अन्य कुनै पनि निकायले जारी गर्न पाउँदैन । तर, मुद्राको विश्वसनीयता त्यसको गुणस्तरीयता र नक्कली बनाउन सक्ने सम्भाव्यतामा पनि निर्भर गर्दछ ।

नियन्त्रण: सर्वसाधारण मानिसले आफ्नो दैनिक कारोवारमा नगदको प्रयोगबाट आफ्नो खर्च गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सक्दछ। जबकि “कार्ड” ले मानिसलाई आफ्नो क्षमताभन्दा बढी खर्च गर्न प्रेरित गरी राख्दछ। “कार्ड” जारी गर्ने कम्पनीले विभिन्न स्कीम मार्फत् बोनस आदिको लोभमा खर्च गर्न उत्प्रेरित गर्ने गरेको पाइन्छ।

भुक्तानी प्रणालीको सन्दर्भमा प्रविधिमा जतिसुकै विकास भएको भएता पनि “नगद” को प्रयोगमा हुने उपर्युक्त गुणहरुको कारणले नै यसको प्रयोगमा व्यापक ह्रास आउन नसकेको हो ।

भविस्य सकिएकै हो?
वैकल्पिक भुक्तानी उपकरणहरुको प्रयोगले आर्थिक गतिविधिलाई बढाउनुका साथसाथै नगदको मागमा पनि बृद्धि गराउने हुन्छ किनभने ती उपकरणको प्रयोगपछि अन्तिम हिसाव मिलानको समयमा नगदको मागमा नै चाप पर्ने हुन्छ।

सदियौंदेखि मानिसले भुक्तानीका लागि प्रयोग गर्दै आइरहेको नगद पैसाको मनोवैज्ञानिक प्रभाव, नगदमा अन्तर्निहित गुणाहरु लगायत अत्याधुनिक उपकरणहरु प्रयोग गर्न चाहिने प्राविधिक ज्ञानको अभाव, त्यस्ता उपकरणहरु प्रतिको मानिसको विश्वसनियता आदिका कारणले केही विकसित मुलुकहरुमा नगद बिनाको जिन्दगी केही हदसम्म कल्पना गरिए पनि विश्व मानचित्रबाट नगदको अवसान हुने समयको सम्बन्धमा तुरुन्तै सोच्ने अझै हतारै हुन्छ।

(लेखक नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक हुन्।)