गभर्नरको नीतिमाथि खतिवडाको आलोचना, ‘गम्भिर हुनुस्’, गभर्नरले भने- हिजोका गल्तिहरु सुधार्दै छु

बिजमाण्डू
२०७३ फागुन १५ गते २०:०७ | Feb 26, 2017

अहिलेको तरलता अभाव र क्रेडिट क्रन्च पूँजी बृद्धि योजनाको साइड इफेक्ट रहेको धारणा पूर्व गभर्नर डा. युवराज खतिवडाले सार्वजनिक रुपमा बताउँदै आएका थिए। पूँजी बृद्धिले संस्थाहरु सवल बन्दै गएको र जोखिम कम भएर हिजो बिग्रिएका संस्थाहरुमा पनि नयाँ लगानी थपिन थालेको  तर्क दिँदै खतिवडाको भनाइको डिफेन्स गभर्नर डा. चिरन्जिवी नेपालले गर्ने गरेका थिए। फरक फरक फोरममा आफ्ना भनाइ राख्दै आएका दुबै जना आइतबार राष्ट्र बैंककै आँगनमा वालुवाटारमा आमनेसामने भए। एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघको अधिवेशनमा डा. खतिवडालाई सम्मान गर्ने कार्यक्रम  थियो। डा. खतिवडालाई गभर्नर डा. नेपालले माला लगाएर सम्मान पनि गरे। पहिले बोल्ने पालो खतिवडालाई मिल्यो। उनले भने- गलत नीतिले अर्थतन्त्र डुब्न सक्छ। त्यसपछि गभर्नरले भने- हिजो बिग्रेका कुरा आज सपार्दैछु।

Tata
GBIME
Nepal Life

'एउटालाई सहुलियत दिँदा राम्रा संस्था प्रताडित हुन पुग्छन्'

डा. युवराज खतिवडा
भुकम्पका कारण राष्ट्र बैंक भौतिक रुपमा भताभुङ्ग भएको छ भन्ने अनुमान त थियो। तर वित्तीय रुपमा भताभुङ्ग भएको छैन भन्ने मेरो अनुमान छ। मेरो अनुमान सही सावित होस्।
 
अलिकति नोस्टाल्जिक भइँदो रहेछ। दुई बर्षपछि आएर स्टेजमा वोल्नु पर्दा के वोल्ने के नवोल्ने जस्तो पनि हुँदो रहेछ। हिन्दीमा एउटा उखान छ। 'बोलुँ तो बापका कुत्ता खाए ना वोलुँ तो मा मर्जाए' यस्तो चै नहोस् भनेर मैले वित्तीय प्रणालीका बारेमा केही धारणा राख्दैछु।   
 
तपाईहरुले मलाई अलिक ढिलै सम्मान गर्नु भयो। तर हामीले नागरिक स्तरबाट एकदमै धेरै सम्मान पाएका छौं। र त्यो सम्मान मैले मात्र पाएको होइन हामीले पाँच बर्षमा गरेको कामको प्रतिनिधित्व गर्दै पाएको हो। टिमले गरेको कामले पाएको हो। त्यो कामले हामी समाजमा स्थापित हुन सक्यौं।
 
केन्द्रीय बैंक सच्चा नियामक निकाय हुन सक्छ। त्यो अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगजस्ता आर्थिक नीति निर्माण गर्ने निकायहरुको सच्चा सहयोगी र कहिलेकाँही आवश्यक पर्दा दवावै श्रृजना गर्न सक्ने संस्था पनि हुन सक्छ। राष्ट्र बैंक यसरी चल्नु पर्छ भन्ने अपेक्षा अहिले वाहिर गरिन थालेको छ। धेरै मान्छेहरुले राष्ट्र बैंकबाट अहिले पनि त्यो अपेक्षा गर्नु भएको छ। पछिका साथीहरुलाई मेरो शुभकामना छ- त्यो अपेक्षा पुरा गर्ने साहस, हिम्मत र कार्यशैली यहाँहरुमा अझ ससक्त भएर आओस्।
 
राष्ट्र बैंक भनेको कर्मकान्डी पाराले चल्ने संस्था होइन। मुलुकको अर्थतन्त्र चलाउने संस्था हो। हामीले विशुद्ध लडाकु भएर आएको अर्थमन्त्री पनि फेस गर्यौं। अर्थशास्त्रसँग सम्बन्ध नभएका मान्छेहरु पनि फेस गर्यौं। तर पनि अर्थतन्त्रलाई एउटा ट्रयाकमा ल्याउन हामी सफल भयौं। त्यसमा हामीले राष्ट्र बैंकको भूमिकालाई विर्शन मिल्दैन। आज पनि त्यो दिन आउन सक्छ।
 
कतिपय अवस्थामा मुलुकको अर्थमन्त्री, प्रधानमन्त्रीले भनेको कुराहरुका विरुद्ध गएर पनि अडान लिनु पर्ने हुनसक्छ। त्यस्तो बेलामा यो मुलुकको हितमा छैन भनेर भन्न सक्नु पर्छ। गभर्नरले उहाँहरुलाई कन्मिन्स गर्न सक्नु पर्छ।
 
एक जना अर्थमन्त्रीले मलाई बैंकहरुको पूँजी १५ अर्ब पुर्याउनु पर्यो भनेर भन्नु भयो। उहाँलाई कति होमवर्क गर्नु भएको छ भनेर मैले सोधे। म त २५/३० बर्षदेखि बैंकिङ कम्युनिटीमा छु भने। त्यो १५ अर्ब पूँजी मैले पुर्याउने कुरा गरेको भए तपाईहरुले मलाई के भन्नु हुन्थ्यो?  मैले बेला आउँछ मात्र भने। पहिले दुई अर्ब पुर्याउँ अनि केही सोचौला भने। त्यो एक अर्बलाई दुई अर्ब पुर्याउन पाँच बर्ष लाग्यो।
 
त्यो बेला दुई तीन अर्ब पूँजी वढि लाग्थ्यो। अहिले त एक खर्ब रुपैयाँ थप्नु पर्छ सबैमा। त्यो पूँजी कहाँबाट आउँछ? बैंककै ऋणबाट जाने होइन र? ऋण लिएर गएर बैंकिङ सिस्टममा पूँजी हालेर संस्था बलियो हुँदैन। एउटा खल्तिको पैसा अर्को खल्तिमा हालेर हामी धनी हुँदैनौं। त्यो प्रवृत्तीलाई रोक्न सक्नु पर्यो।
 
वैदेशिक लगानीबाट आउने, बचतबाट आउने पैसाले पो पूँजी निर्माण गर्यो भने राम्रो हुन्छ। ऋण लगेर पूँजी बृद्धि गरेर पनि कहीँ हुन्छ। ओभरड्राफ्टको रुपमा लगेको पैसाबाट पूँजी बढाएर हुँदैन। त्यसरी अगाडि वढ्यौं भने संस्थागत,  संरचनात्मक र प्रणालीगत समस्याहरु आउँछन्। यसलाई अन्यथा नलिइदिनु हुन पनि म गभर्नरज्यूलाई अनुरोध गर्छु। किन भने यो प्रणाली विग्रियो भने कुनै व्यक्ति विशेषले विग्रिँदैन। मेरो बचत पनि डुब्छ तपाईको बचत पनि डुब्छ। वित्तीय प्रणाली डुब्छ र अर्थतन्त्र डुब्छ।
 
हामी सबै त्यसको जिम्मेवार हुनु पर्छ। यस बिषयमा हामीले के गर्नु पर्छ र यसको समाधान के हो भनेर म सिफारिस गर्दिन। तर यो बारेमा सोच्न आवश्यक भइसकेको छ। यसमा गभर्नरजीले सोच्नु होला, यो पूँजी कसरी वढिरहेको छ? पूँजी बृद्धिसँगै भएको लगानीबाट अर्को तीन बर्षमा निस्कृय कर्जा कति हुन्छ? सोच्न आवश्यक छ।
 
कहिले काँही अत्यन्तै राम्रा कुराहरु पनि धेरै भयो भने पत्याउनै गाह्रो हुन्छ। हामी नाकाबन्दिमा थियौं। भुइचालोपछिको समस्यामा थियौं। त्यति हुँदा पनि बैंकहरुको खराव कर्जा दुई प्रतिशतभन्दा तल छ। बैंकहरुको नाफा ५० प्रतिशत हाराहारीले बढिरहेको छ। बैंकहरुले राम्रोसँग चलिरहेका छन्। हेर्दा त सबै राम्रै देखिएको छ। हामी सुनिएका हौं या हामी स्वस्थ रुपमा मोटाएका हौं?  हामी सुनिएका हौं भने त्यो पनि खोज्नु पर्छ। कहिले काँही सुनिएको र मोटाएको थाहा पाइँदैन र भ्रममा पर्न सक्छौं। यस बिषयमा पनि हामीले सोच्नु पर्छ।
कहिले काँही बैंकरहरुले पार्टीमा भेट हुँदा भन्नु हुन्छ- तपाई गइहाल्नु भयो हामीलाई कारवाहीको डर छैन। मसँग ठाडै कुरा गर्नु हुन्छ उहाँहरु। म भन्छु- राष्ट्र बैंक जिउँदै छ। धेरै मन जितेर नहेप्नु होला।
 
यो पनि हामीले बिचार गर्‍नु पर्छ। हाम्रो जिम्मेवारी कारवाही गर्ने होइन। तर वदमाशी गर्नेलाई कारवाही गर्न छाड्यो भने हेप्ने कुराहरु हुन्छ। र समस्या हुन्छ।
 
कर्जा निक्षेप अनुपातकै कुरामा हेर्नुस् न। जसले कानुन मिचेर जानु भयो उहाँहरुले नाफा कमाउनु भयो। जसको औषतमा ६० अर्बको निक्षेप थियो र एक प्रतिशत सिडि ब्रिज गर्नु भयो त्यसले उहाँहरुले १० प्रतिशतको ब्याज दरमा ६० करोड लगानी गर्नु भयो। यसबाट ६ करोड ब्याज कमाउनु भयो।
 
कानुनभित्र नियमभित्र बसेको बैंकको चै ६ करोड नाफा कम भयो। सिडी मिचेर नाफा कमाउने बैंकले १२ प्रतिशत १३ प्रतिशत ब्याज दिएर त्यो बिचरा कानुन मान्ने बैकको निक्षेप खोसिदिनु भयो। र उ चै कारवाहीमा पर्न डर भो। यसले असल चै प्रताडित हुने सम्भावना हुन्छ। अहिले त्यो खालको संकेत मैले देखिरहेको छु। यसमा राष्ट्र बैंकले गम्भिरतापूर्वक सोच्नु पर्छ। एउटालाई सहुलियत दिन खोज्दा धेरै राम्रा संस्थाहरु समस्यामा पर्ने संभावना रहन्छ।
 
केन्द्रीय बैकको गरिमा वढाउने काममा हामी लाग्नु पर्छ। म यही बैंकबाट पेन्सन खान्छु। बैंकले दिएकै गाडी चढ्छु । भुतपूर्व भए पनि बैंकको माया लाग्छ। केही मलाई खड्किएका कुराहरु पनि छन्।
 
हिजो हामीले अत्यन्तै कडा रुपमा निरिक्षण प्रणालीलाई राख्यौं। सबैले कडाइ भयो भन्थे। त्यो विरामी धेरै भएपछि कडा औषधि ख्वाएको मात्र थियो। तर निको भयो भनेर हामीले स्वास्थ्य विगार्ने काम गर्नु भएन। त्यो नियमित हुने काम हामीले गरिरहनु पर्छ। व्यायाम गरिरहुन पर्छ। त्यो त्यस बेलाको मात्र काम थिएन। त्यो नियमित काम होस्।
 
अहिले तरलता कि कर्जाको संकट भन्ने वहस चलिरहेको छ। यो वहश उछाल्न आवश्यक छैन। तर बजारको संकेत चै हामीले बुझ्नु पर्छ। जुन बेला घरजग्गाको धेरै मूल्य वढिरहेको थियो, जुन बेला सेयर बजार निक्कै उत्ताउलो भइरहेको थियो, जुन बेला नचाहिदो आयात बढिरहेको थियो। हामी हाम्रो अनुगमनमा अलिक पछि पर्यौं कि, चुक्यौं कि भन्ने मलाई लाग्छ। यसमा हामी सचेत हुनु पर्थ्यो।
 
हामीलाई धेरै दवाव आउला। निरीक्षणमा भएका कैफियत त्यही मिलान गर्न दबाब आउँछ। त्यही बेला हो नेतृत्वको परीक्षा। त्यो दबाब हामी थेग्छौं कि थेग्दैनौं भन्ने कुराले धेरै अर्थ राख्छ। हाम्रो स्वायतत्ता त्यहीँनेर हो। हामी स्वायतत्ता चै लिने तर त्यसको जवाफदेहिता नलिने हो भने त्यस्तो स्वायतत्ताले अराजकता ल्याउँछ।

 'हिजो बिग्रेका कुरा आज सुधार्दैछु'

डा. चिरञ्जिबी नेपाल
हामीले गत बर्ष बजेटमा नै साढे छ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने भनेका थियौँ। अहिले आर्थिक गतिविधिमा उत्साह देखिएको छ। त्यसैले उक्त उध्येश्य हासिल हुनेमा विश्वास बढेको छ। धेरै बर्ष देखि माथि रहेको मुद्रास्फिती पनि न्युन बिन्‍दुमा झरेको छ- करिब ३. ८ प्रतिशतमा।
 
विदेशी विनियम सञ्चिती पनि करिब ११०० अर्बको नजिक छ। यो परिस्थितीमा आयात चाहिँ बढेर ४६४ अर्ब रुपैयाँ पुगेको छ। निर्यात बढेको छैन। यो चिन्ताको विषय छ। र, यो चिन्ता अहिले होइन धेरै बर्ष देखिको हो।
 
आर्थिक कृयाकलाप बढ्दा हामी खुसी हुनुको मुल कारण आर्थिक बृद्धि हासिल हुन्छ भनेर नै हो। हिजोको दिनमा आर्थिक बृद्धिदर ०.७ प्रतिशत थियो। भारतको नाकाबन्दी लगायत कारण अर्थतन्त्र धेरै आक्रान्त थियो। त्यो तुलनामा अहिले अर्थतन्त्र केही तङ्ग्रिन थालेको छ।
 
त्यसो हुँदा खेरी नेपाल राष्ट्र बैंक केही न केही सचेत हुनैपर्छ। त्यसैले पहिले तीन/तीन महिनामा लिने गरेको बैंकको सिसिडी रेसियोको रिपोर्ट हरेक महिना लिने व्यवस्था गरेका छौँ। त्यो आउने वित्तिकै हामीले भन्यौँ- बैंकको कर्जा ओडी, शेयर, रियलस्टेट लगायत जानु नपर्ने क्षेत्रमा बढी गयो। त्यसमा हामीले सचेत गरायौँ। (त्यस्तो एक्सन लिने) हामी नै थियौँ कसैले भन्नु भन्दा अगाडी।
 
त्यसपछी बजारमा बिभिन्न खालका हल्ला पनि आए। र, हामी यति कन्फर्म थियौँ की- आर्थिक गतिविधी बढी भएर यो अवस्था आएको हो। किनभने बजारमा धेरै पैसा भएका कारण बैंकहरु हौसिए।
 
केही महिना अघिसम्म पनि बजारमा धेरै पैसा थियो। स्वयं पुर्व गभर्नर ज्यू  (युवराज खतिवडा) पनि योजना आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो। बजारमा पैसा धेरै भयो भनेर १०० अर्बको पुनरोद्धार कोष पनि स्थापना गर्यौँ। बैंकहरु पैसा बढी भयो भन्दै राष्ट्र बैंकमा आए।
 
डेढ/दुई बर्ष देखि आर्थिक कृयाकलाप बढ्न नसकेको अवस्थामा बैंक र वित्तिय संस्थाको व्यवस्थापनले एकाएक हौसिएर लगानी गर्यो। तर, गत बर्ष १८/१९ प्रतिशतले बढेको रेमिट्यान्स अहिले छ प्रतिशतले मात्र बृद्धि भएको छ। त्यसैले सोचे अनुरुप निक्षेप बढ्न सकेन।
 
पाँच बर्षमा निक्षेप संकलन ३० प्रतिशतको हाराहारीमा बृद्धि हुन्थ्यो भने छ महिनामा त्यतिले कर्जा बढ्न पुग्यो। त्यसपछि हामीले उहाँहरु (बैंक व्यवस्थापन)लाई कर्जा-निक्षेपमा सन्तुलन मिलाउन भन्यौँ। त्यसका लागि निक्षेप नबढाइ कर्जा लगानी नगर्नुस् र उत्पादन मुलक क्षेत्रमा प्रोत्साहित गर्न त्यसमा गएको कर्जाको ५० प्रतिशत मात्र सिसिडी रेसियोमा गणना गर्ने व्यवस्था गरिदियौँ।
 
अनुत्पादक क्षेत्रको कर्जा न्यूनीकरणकै लागि हामीले अटो लोनमा कडाइ गरेका छौँ। अरु पनि धेरै बुँदा पनि छन्, जसले गर्दा अहिलेको अवस्थालाई सहज बनाउँदै लैजाने छ। हाम्रो सुपरिवेक्षण र नियमनका साथीहरु, जो सक्षम हुनुहुन्छ र उहाँहरुलाई यसबारे राम्रोसँग थाहा छ, ले सुक्ष्म तवरले हेरिरहनु भएको छ। यी कदमले अब अर्थतन्त्र सुध्रिने र यसले राम्रो बाटो लिनेमा हामी विश्वस्त छौँ।
 
यही सन्दर्भमा हकप्रद शेयर निस्कासनका कारण बजारमा पैसा अभाव भएको भन्ने जस्ता कुरा पनि आए। म त पहिला धितोपत्र बोर्डमा बसेर पनि काम गरेको हुँ। हकप्रद निस्कासन गत बर्षको फागुनयता जम्मा नौ अर्बको भएको रहेछ। त्यसमा सबै भन्दा धेरै जेठमा साढ तीन अर्ब रुपैयाँको भएछ। यस्तै एफपिओ निस्कासन चाहिँ पाँच अर्ब रुपैयाँको भएको रहेछ। हकप्रदका कारण पैसा भएन भन्ने त हौवा फिँजाइएको रहेछ।
 
त्यसैले हामीले यस्ता हौवा विरुद्ध एक भएर लड्नु पर्छ। हाम्रो सबैभन्दा राम्रो विभाग भनेको अनुसन्धान विभाग हो। त्यहाँ संकलन भएका डाटाहरुलाई लिएर बिभिन्न बिभागका नेतृत्वमा रहेका साथीहरुसँग छलफल गरि निर्णय गर्ने गरिएको छ।
 
बैंकको पूँजी बृद्धिबारे पनि लामो अध्ययन र अनुसन्धान पछि निर्क्यौल गरिएको हो। हाम्रो पुर्व गभर्नर युवराज सरले पूँजीको कुरा उठाउनु भयो। यसअघि तोकिएको दुई अर्ब रुपैयाँ पूँजी समेत दशौँ बर्षसम्म नपुर्याएको अवस्था थियो। तर, अर्वपति क्लब खोलेर नाफा चाहिँ अर्बमा खाने गरेका थिए।
 
२०६२/ ६३ मा दुई अर्ब पूँजीको निर्णय गर्दा २६४ अर्ब निक्षेप थियो। भोली संकट आयो भने दुई अर्बको बैंकले करिब २१ सय अर्बको निक्षेप धान्न सक्ने हुँदैन।
 
त्यसबेला कूल गार्हस्थ उत्पादन ६०० अर्बको थियो। अहिले २४ सय अर्ब भन्दा बढी छ। त्यो पनि अन्डरस्टिमेट भएको छ। यो बर्ष २६ सय अर्बको जिडिपी पुग्दैछ। यस्तो अवस्थामा २/४ करोड डुब्ने बित्तिकै बैंक समस्याग्रस्त हुन्छन् भने अर्थतन्त्र कसरी चल्छ? म आउँदा १६ वटा बैंक समस्याग्रस्त थिए। त्यस अघि कति लिक्विडेसनमै गएका थिए।
 
आज अर्थतन्त्रमा केही सुधार आउने वित्तिकै त्यही समस्याग्रस्तबाट संस्थाहरु राम्रो भएका छन्। हिजोका दिनमा वातावरण राम्रो नभएर चल्न नसकेका संस्था आज राम्रो हुनुको कारण अहिलेको आर्थिक गतिविधि नै हो।
 
पूर्व गभर्नर साहेवले हामी सतर्क हुनुपर्छ भन्नु भयो। त्यो एकदमै सही हो। नियमन, सुपरीवेक्षणका हामी जति पनि कर्मचारी छौँ, एक भएर गलत प्राष्टिस र प्रवृत्ति बिरुद्ध लड्नुपर्छ। केन्द्रीय बैंक भइ सकेपछि हामीले अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुसार पनि अघि बढ्नु पर्छ। अर्को तिर हामीले स्थानिय वातावरण र अवस्थालाई पनि हेर्नु पर्छ। दुबै तिर सामञ्जस्यता गरेर हिँड्नु पर्ने हुन्छ। त्यसैले यहाँ काम गर्न धेरै गाह्रो पनि छ।
 
अर्कोतिर संसारमा भएको प्रविधीको विकासले पनि केन्द्रीय बैंकलाई सकारात्‍मक/नकारात्मक दुबै हिसाबमा प्रभाव पारेको छ। त्यसैले हामीले यो क्षेत्रमा पनि ज्ञान बढाउनु छ। साथै देशको अवस्था त यहाँहरुले देख्नु भएकै छ। वाफिया, नेपाल राष्ट्र बैंक ऐनमा हामी स्वयं लाग्दा लाग्दै र नचाहँदा नचाहँदै पनि केही कुरा आउने स्थिती बन्यो। किनभने त्यहाँ संसदमा हाम्रो प्रत्यक्ष रोल हुँदैन। गएर कन्भिन्स गर्ने हो। सांसद ज्यूहरु कन्भिन्स भएको कुरा पनि पछि परिवर्तन भएर आएको देखियो। त्यसैले यस्ता स्थितीसँग पनि हामीले एक भएर जुध्नु परेको छ।
 
 
सबै विभागका कर्मचारी साथीहरु लामो समय देखि राष्ट्र बैंकमै हुनुहुन्छ। युवराज सर त २७/२८ बर्ष यहाँ काम गर्नु भयो र फेरि गभर्नरको रुपमा आउनु भयो। म त विशुद्ध नयाँ, विश्वविद्यालयमा २९ बर्ष पढाएको मान्छे हुँ। त्रिभुवन विश्वविद्यालयमा २२ बर्ष र बाँकी काठमाडौँ विश्वविद्यालयमा।
 
त्यसैले मैले हेर्दा अलिकति ‘वाइडर’ रुपबाट हेर्छु। मैले तपाईंहरु कसैलाई पनि चिनेको हुन्न। म बाट कुनै पनि त्यस्तो भेदभाव हुँदैन। तपाईंहरुले नै बताउने हो। त्यसैले कुनै पनि काम हामीले संगठित रुपमा गर्नुपर्छ। ताकी तपाईं हामी कोही पनि आफ्नो जिम्मेवारीबाट नभागौँ।
 
म त आएको एक महिनामै महा भूकम्प भयो। त्यस बेलाको डेपुटी गभर्नर महा जी यहिँ हुनुहुन्छ। हामीले तुरुन्त एक भएर बैंक तथा वित्तिय संस्थालाई सेवा दिन सक्यौँ। नत्र यस्तो प्राकृतिक प्रकोपमा बैंकिङ सेवा सुचारु गर्न महिनौँ लागेको देखेका छौँ। हाइटीमा महिनौँ लाग्यो। इन्डोनेसिया, गुजरातमा पनि त्यस्तै भयो।
 
हामी जिम्मेवार ठाउँमा छौँ। तपाईं र म जसले बोले पनि त्यो राष्ट्र बैंकको बोली हुन्छ। भोली जागिर बाहिर गएर जे बोले पनि हुन्छ। सिद्धियो राष्ट्र बैंक भनिदिए पनि फरक पर्दैन। तर, यहाँ बसेर जिम्मेवारी पूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्छ। यो हाम्रो नैतिक कुरा पनि हो।
 
म आफैंलाई पनि गजब लाग्छ। स-सानो कुरा व्यवस्थापनले यसो गर्न लाग्यो भनेर तपाईंहरुले कति चाँडो थाहा पाउनु हुन्छ? आठ अर्ब पूँजी पुर्याउने कुरा थाहा पाउनु भएन। थाहा पाएको भए के हुन्थ्यो होला स्थिती?
 
त्यसैले यसमा के हुँदो रहेछ भने नैतिकता। नेतृत्व गर्ने व्यक्तिको नैतिकता र स्वच्छ छवि सबैभन्दा महत्वपूर्ण हुन्छ। यदि त्यसवेला थाहा पाएको भए के हुन्थ्यो शेयर मार्केट? तपाईंहरु कति शेयरमा पनि खेल्नु हुन्छ भन्ने पनि सुनेको छु।
 
त्यही भएर कार्यकारी निर्देशक तहमा छलफल समेत गरेनौँ। माथि (बोर्ड)मा भने २०औँ दिनसम्म छलफल गरेर रिपोर्ट बनाएर ल्यायौँ। अहिले योजना आयोग उपाध्यक्ष हुनुहुन्छ मिन जी, त्यसबेला ठूलो सहयोग गर्नु भएको छ।
 
हामीले किन गर्यौं त भन्दा एउटा आँट थियो गर्न सक्ने। म त कुनै शेयरमा पनि खेल्दिन। शेयर पनि छैन। मेरो आफ्नो कुनै बैंकको पूँजी बढाउनु पनि छैन। घटाउनु पनि छैन। त्यही आधारमा म अहिले पनि काम गरि रहेको छु।
 
तपाईंहरुले दिएको सल्लाह म सोच बिचार गर्छु र राष्ट्र बैंकको हितमा हुनेछ कार्यान्वयन गरेरै छोड्छु। पृथ्वी नै पल्टिए पनि त्यो गर्नबाट मलाई कसैले रोक्न सक्दैन। त्यही भएर आज आनन्द छ। सबै बैंकहरु पूँजी पुर्याउने क्रममा छन्। यो सबै साथीहरुको सहयोगमा भएको हो। राष्ट्र बैंकका कर्मचारीले वित्तिय स्थायित्वका लागि काम गर्न सक्दा रहेछन्, हिम्मत पनि रहेछ भन्ने देखिएको छ। बाहिर बसेर वित्तिय क्षेत्रमा प्रभाव जमाउन खोज्नेहरु आत्तिए, रिसाए। मलाइ संसदमा ६/७ पटक बोलाइयो फिर्ता लिनु पर्यो भनेर। तर, मैले स्वीकारिन। किनभने यो केन्द्रीय बैंक हो। यसले देशकै अर्थतन्त्रमा ठूलो भूमिका खेल्छ। त्यही भएर यहाँ अर्थमन्त्रालयको प्रतिनिधित्व हुन्छ। हालै मात्र बजेटको अर्ध बार्षिक समिक्षा भयो। खासै केही भएन। तर, जब मौद्रिक नीतिको समिक्षा भयो- धेरै कुरा आयो।