राष्ट्र बैंकमा पूर्वअर्थमन्त्रीले भने- उचित व्यक्ति नियुक्त नहुँदा समस्या, एमाले हटेपछि कमजोर

बिजमाण्डू
२०७३ फागुन १५ गते १५:३६ | Feb 26, 2017
राष्ट्र बैंकमा पूर्वअर्थमन्त्रीले भने- उचित व्यक्ति नियुक्त नहुँदा समस्या, एमाले हटेपछि कमजोर

काठमाडौं। एमाले नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सही व्यक्ति सही ठाउँमा नियुक्त नहुँदा समस्या आउने बताएका छन्।

Tata
GBIME
Nepal Life

नेकपा एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघको सातौं अधिवेशनको उद्घाटन गर्दै पाण्डेले गलत मान्छेको नियुक्तिपछि राम्रो नतिजा आउँछ भनेर आश गर्नु नै गलत हुने बताए।

'अनुपयुक्त मान्छेलाई अनुपयुक्त तरिकाबाट नियुक्त गर्दा सही नतिजा आउँदैन' उनले भने, 'हिजो अख्तियारमा लोकमानको नियुक्ति पनि त्यस्तै भएको थियो।'

पाण्डेले आफू अर्थमन्त्री हुँदा चिनजानको मान्छेभन्दा पनि राष्ट्र बैंक सक्षम तरिकाले चलाउन सक्ने मान्छे खोजेका कारण राम्रो नतिजा आएको बताए।

उनले भने- मेरो पालामा गभर्नर पद खाली भयो। मेरो युवराज जीसँग (डा. युवराज खतिवडा) सँग चिनजान थियो। तर महाजी (महाप्रसाद अधिकारी) लाई त म चिन्दा पनि चिन्दिन थेँ। तर उपयुक्त मान्छे उपयुक्त ठाउँमा नियुक्त गर्नु पर्छ भनेरै मैले महाजीलाई नचिने पनि डेपुटी गभर्नर बनाएँ।

उनले मान्छे इमान्दार भयो भने सजिलै काम गर्न सक्ने बताउँदै इमान्दारिता नभएकोबाट कामको अपेक्षा राख्न नसकिने पनि बताए।

उनले अहिले बैंकिङ क्षेत्रमा समस्या आएको बताउँदै एमाले सरकारबाट वाहिरिदने वित्तिकै नियमन कमजोर हुने गरेको तर्क गरे।

'के कारण हो म बुझ्दिन। तर एमाले सरकारमा हुन्जेल नियमनकारी निकायको कामकार्वाही सब ठिक हुन्छ। एमालेले सरकार छाडेपछि सबै विग्रिन्छ। समस्या आइहाल्छ' उनले भने, 'वढि उदार हुन खोज्दा विग्रिने हो कि के हो, म बुझ्दिन।'

अहिलेका गभर्नर डा. चिरञ्जिबी नेपाललाई नेपाली कांग्रेस सरकार हुँदा नियुक्त गरिएको हो।

सांसदसमेत रहेका पाण्डेले पूँजी बृद्धि उचित/अनुचितको तर्क गर्नु भन्दा पनि लागू भइसकेकाले यसलाई कडाइका साथ लागू गर्दा हुने अप्ठेराका बारेमा सचेत हुन आग्रहसमेत गरे।

अधिवेसन उद्घाटन कार्यक्रममा संघले राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडा र पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई सम्मान गरेको थियो।