राजधानी बाहिर किन जान चाहँदैनन् ब्रोकर कम्पनी? अहिलेसम्म ६ वटाको मात्रै बोर्डमा आवेदन

बिजमाण्डू
२०७३ फागुन १५ गते १५:०० | Feb 26, 2017
राजधानी बाहिर किन जान चाहँदैनन् ब्रोकर कम्पनी? अहिलेसम्म ६ वटाको मात्रै बोर्डमा आवेदन

काठमाडौँ।राजधानी बाहिर शाखा खोल्न ६ वटा ब्रोकर कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन्। बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेका अनुसार अहिलेसम्म ६ वटा कम्पनीले मात्रै आवेदन दिएका छन्।

Tata
GBIME
Nepal Life

बोर्डका अनुसार प्रज्ञान सेक्युरिटिजले विराटनगर,क्रिष्टल कञ्चनजंगा सेक्युरिटिजले विराटनगर ,श्रीहरि सेक्युरिटिज र सुमेरु सेक्युरिटिजले बिर्तामोड,आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले बुटवलमा  र भिजन सेक्युरिटिजले  बनेपामा शाखा स्थापनाको लागि आवेदन दिएका छन्। शेयरबजारको विकासका लागि शाखा विस्तारलार्इ बोर्डले प्राथमिकतामा राख्दै आएको छ।

तर ब्रोकरले शाखा विस्तारमा चासो देखाएका छैनन्। ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले शाखा विस्तारका लागि स्थान छनौटको काम भइरहेको बताए। उनले १०वटा कम्पनीले उपत्यका वाहिर जाने प्रक्रिया अन्तिम चरणमा पुर्याएको बताउँदै अरु कम्पनीले समेत तयारी थालेको जानकारी दिए।

बोर्डले बैंकलार्इ ब्रोकर लाइसेन्स दिने धारणा बाहिर ल्याउँदा ब्रोकरले विरोध जनाएका थिए।

उनीहरुले बैंकलार्इ ब्रोकरको लाइसेन्स दिँदा इन्साइड ट्रेडिङ हुने भन्दै शाखा विस्तार गरेर शेयर बजारको विकासमा लाग्ने बताएका थिए। त्यही बेलामा एशोसिएसनले ४१ वटा ब्रोकरले शाखा विस्तार गर्न तयार रहेको जानकारी गराएका थिए। अहिलेसम्म ६ वटा कम्पनीको मात्रै आवेदन परे पनि बाँकी अवधि भित्र थप कम्पनी आउने आशा बोर्डका अधिकारीहरुको छ।
 


यसअघि ४१ ब्रोकर कम्पनीले तत्काल शाखा विस्तारका लागि यस्तो सहमती जनाएका थिए।