नोटबन्दीपछि अनलाइन पेमेन्टमा मोदीले पाए अर्को जस, ‘भीम’ एपले बनायो विश्व रेकर्ड

बिजमाण्डू
२०७३ फागुन १५ गते १२:३७ | Feb 26, 2017
नोटबन्दीपछि अनलाइन पेमेन्टमा मोदीले पाए अर्को जस, ‘भीम’ एपले बनायो विश्व रेकर्ड


भारतमा नोटबन्दीपछि धेरै परिवर्तन भएका छन्। हजार र पाँचसयका नोटलार्इ बन्देज लगाउनु र सिमित नोटको कारोबार मात्र गर्न पाउनु आम मानिसको लागि निकै कठिन सावित भएको थियो। अवस्था अझै सामान्य भैसकेको त छैन तर पनि विस्तारै जीवन सामान्यतर्फ फर्कने कोशिशमा छ। 
 
यहि नोटबन्दीपछि भारतमा अनलाइन पेमेन्टको दर यसरी बढेको छ कि यसैका लागि बनेको एउटा एपले विश्व रेकर्ड नै बनाएको छ। 
 
भारतमा ‘लेस क्यास इकोनोमी’लार्इ बढावा दिने अभियानमा प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्बर ३० मा नयाँ एप भिम (भारत इन्टरफेस फर मनी) लन्च गरेका थिए। 
 
यहि एप भिमले अहिले विश्व रेकर्ड बनाएको छ। भारतको नीति आयोगका सिइओ अमिताभ कान्तले भीम एपलार्इ १ करोड ७० लाख पटक डाउनलोड गरिएको र यो विश्व रेकर्ड भएको पुष्टि गरेका छन्। 
 
भीमको उदेश्य डिजिटल पेमेन्टलार्इ प्रवर्द्धन गर्नु रहेको थियो। यो एपको विशेषता भनेको यो इन्टरनेट नभएको अवस्थामा पनि प्रयोग गर्न सकिन्छ। टेलिफोनबाट पनि अपरेट गर्ने मिल्नेगरी यो एप बनाइएकोले अति नै प्रभावकारी सावित भएको बताइएको छ। 
 
भिमलार्इ भारतको नेशनल पेमेन्ट कर्पोर्शन अफ इन्डियाले बनाएको हो। यो एप अत्यन्तै सफल भैरहेको द इकोनोमिक टाइम्सले जनाएको छ। 
 
गत डिसेम्बरको अन्तिम दिन लन्च गरिएको यो एप तीन दिन भित्रै गुगल प्ले स्टोरको फ्री एपको चार्टमै टप भैसकेको थियो। लन्चको एक महिनाभित्र नै भीम एप एन्ड्रोइड प्लेटफर्ममा ५० लाख भन्दा बढी पटक डाउनलोड गरिएको थियो। 
 
यस एपबाट पैसा पठाउन मानिसहरुले एक पटक मात्र आफ्नो बैंक एकाउन्ट नम्बर रजिष्ट्रेसन गर्नुपर्ने हुन्छ। यसबाट पिनकोड लिएपछि आफ्नो मोबाइल नम्बर नै पेमेन्ट ठेगाना हुने भएकाले सजिलै चलाउन सकिन्छ। सामान्य र सरल ढंगले चलाउन मिल्ने गरी बनाइएकोले एपको लोकप्रियता बढेको हो। 
 

Tata
GBIME
Nepal Life