एडीबीका उपाध्यक्षले भने,’ठूला परियोजनामा लगानी गर्न तयार छौं, तर परियोजना छैन’

बिजमाण्डू
२०७३ फागुन ९ गते १८:५९ | Feb 20, 2017
एडीबीका उपाध्यक्षले भने,’ठूला परियोजनामा लगानी गर्न तयार छौं, तर परियोजना छैन’


काठमाडौं। एसियाली विकास बैंक (एडिवी)का उपाध्यक्ष वेनकार्इ झ्याङले एडीबीले ठूला परियोजनामा लगानी गर्न तयार भएपनि नेपालले परियोजनानै दिन नसकेको बताएका छन्।

Tata
GBIME
Nepal Life


उनले पूर्वाधार र जलविद्युत क्षेत्रमा ठूलो लगानी गरेर नेपालको समृद्धिको साझेदार बन्न चाहेको बताउँदै तर तयार भएको परियोजना नदिँदा एडीबीले हात हाल्न नसकेको बताए।नेपाल भ्रमणमा आएका झ्याङले सोमबार पत्रकार सम्मेलन गर्दै यो जानकारी दिए।

सरकारले फिजिविलिटी गरिसकेका परियोजनाको 'प्रोजेक्ट बैंक' बनाउने भनेपनि अहिलेसम्म गृहकार्य समेत गरेको छैन।अर्थमन्त्री डा.रामशरण महतका पालामा प्रोजेक्ट बैंक बनाउने घोषणा गरिएको थियो।'हामी ठूला पूर्वाधारमा लगानी गर्न तयार छौ।तर नेपालले परियोजनानै दिन सकेको छैन'उनले भने।

 
झ्याङले नेपाललाई अल्पविकसित मुलुकवाट विकासशील मुलुकको लैजान ठूला आयोजनामा लगानी गर्न खोजेको बताए।उनले नेपालमा कृषि, शिक्षा, पूर्वाधारको निर्माण, विशेष आर्थिक क्षेत्र, शहरी विकासका कार्यक्रममा सहयोग गर्ने बताए।
 
उनले एडिवीले पूर्व पश्चिम राजमार्गको स्तरोन्नति, लुम्विनी भैरहवा सडक, नारायणगढ बुटवल सडक, तीन सय मेगावाटको दूघकोशी जलविद्युत आयोजना, पोखरा मुग्लिन राजमार्ग विस्तार लगायतका परियोजनामा लगानी गर्न तयार भएको बताए। झाङले सार्वजनिक खरीद ऐनमा भएको संसोधनले एडिवीले थालेका योजनामा काम गर्न केही सहज भएको बताए।

'हामी नेपालको विकासका लागि ठूला आयोजनामा लगानी गर्न चाहन्छौ । तर साना योजनाको पनि रिजल्ट चाहन्छौं' झाङले भने 'त्यसका लागि नेपालले ऐन समय सापेक्ष परिवर्तन आवश्यक छ।' उनले नेपालको विकासका लागि सरकारी कर्मचारीलाई क्षमता बृद्धिका लागि पनि तालिम तथा सहयोग गर्ने बताए। 
 

 एडिवीले नेपाललाई सन् २०१७ देखि २०१९ सम्म थप एक खर्ब २० अर्ब (१.२ विलियन डलर)को सहायता गर्ने भएको छ। झाङले उक्त रकम नेपालले अंगिकार गरेको सन् २०३० सम्मको सस्टेनेवल डेभलपमेन्ट गोल (एसडिजी)का लागि केन्द्रित रहने बताए।
 
उनले मेलम्ची खानेपानी आयोजनाको कामले गति लिएकोमा सन्तुष्ट भएको बताए। सन् २०१७ भित्र नै यो आयोजना सकिने गतिमा काम भएको बताउँदै काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अटोमेसन प्रविधिमा लैजान सहयोग गर्ने प्रतिवद्धता जनाए। उनले अब खानेपानी वितरणमा एकरुपता हुने बताउँदै सबै धारा प्रविधिमैत्री हुने र कम्प्युटरको स्वीचमार्फत पानी वितरण हुने बताए।