देश विकासको कछुवा गति- छ महिनामा देशभर पिच भएको सडक जम्मा ४ किलोमिटर

बिजमाण्डू
२०७३ फागुन ९ गते १६:४४ | Feb 20, 2017
काठमाडौँ । छिमेकी भारतको यातायात मन्त्री नियुक्त भएको केही महिनादेखि नितिन गड्करीले भन्न थालेका थिए- अघिल्लो सरकारका पालामा दैनिक दुई किलोमिटर सडक बन्थ्यो अहिले ११ किलोमिटर बन्छ। गड्करीको दाबी पत्याउने हो भने भारतमा महिनामा ३३० र छ महिनामा झन्डै दुई हजार किलोमिटर सडक निर्माण हुने गरेको छ।
 
सडक विकास र आर्थिक सम्बृद्धिको पहिलो आवश्यकता हो। त्यहि अनुरुप नेपालमा पनि बर्षेनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठूलो बजेट विनियोजन हुन्छ। 

Tata
GBIME
Nepal Life


 

चालु आर्थिक बर्षको साढे छ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्यमा पनि सडक निर्माणको ठूलै हिस्सा जोडिएको छ। तर, सरकारले अहिलेसम्म गरेको उपलब्धि हेर्दा भने लाजलाग्दो तथ्याङ्क छ। अर्थमन्त्रालयले सोमबार सार्वजनिक गरेको बजेटको मध्यावधि समिक्षा अनुसार नेपालमा १७.८ किलोमिटर सडक बन्न छ महिना लाग्ने देखिएको छ। 
 
छ महिनामा सरकारले निर्माण गरेको उक्त सडकमध्ये चार किलोमिटरमात्र कालोपत्र गरिएको छ। काठमाडौँ उपत्यकाभित्र ‘प्राइभेट होल फ्रि’ सडक हुने गरी काम अघि बढाएको र चार किलोमिटर सडक कालोपत्रे गरेको बजेटको मध्यावधि समिक्षामा उल्लेख छ। 
 
यस्तै पुससम्ममा कालीगण्डकी लोकमार्गको एक किलोमिटर सडक ग्राभेल गरिएको छ भने कर्णाली करिडोर अन्तर्गत हिल्सा-सिमिकोट खण्डको ०.५ किलो मिटर ट्रयाक निर्माण भएको जनाइएको छ। 
 
कोशी करिडोरको चार र भेरी करिडोरको साढे दुई किलोमिटर ट्र्याक खोल्न सफल भएको सरकारले जनाएको छ। महाकाली लोकमार्गको ०.३ किलोमिटर र सेती लोकमार्गको समेत पाँच किलोमिटर ट्रयाक निर्माण गरेको जनाइएको छ। हिल्सा-सिमिकोट सडक खण्डको ०.५ किलोमिटर ट्रयाक पनि चालु आर्थिक बर्षको पहिलो छ महिनामा खुलेको छ।