४८ वर्षपछि आयल निगमको ‘एग्रेसिभ प्लान’, पूर्वाधार निर्माणमा सवा खर्ब खर्चिने

बिजमाण्डू
२०७३ फागुन ९ गते १२:०१ | Feb 20, 2017
काठमाडौं।नेपाल आयल निगमले १ खर्ब १७ अर्ब रुपैयाँ लगानी गरेर सातवटा प्रदेशमा भण्डारण स्थापना गर्ने योजना अघि बढाएको छ।

Tata
GBIME
Nepal Life


गत वर्ष भारतको अघोषित नाकाबन्दीपछि तीन महिनालार्इ धान्ने पेट्रोलियम पदार्थ भण्डारण गर्नुपर्ने सरकारी निकायले निष्कर्ष निकालेको थियो।   त्यही निष्कर्ष अनुसार   निगमले ९० दिनलार्इ धान्ने आवश्यक पूर्वाधारसहितको पेट्रोलियम पदार्थ मौंज्दातका लागि यो रकमसहितको प्रस्ताव आपूर्ति मन्त्रालयमा पेश गरेको छ।

यो प्रस्तावका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल भइसकेको छ।निगमको ४८ वर्षको इतिहासमा यति ठूलो रकमसहित पूर्वाधार निर्माणको प्रस्ताव गरिएको पहिलो पटक हो।

निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टरार्इले सातै प्रदेशमा भण्डारणसहित तीन महिनाको पेट्रोलियम पदार्थ भण्डारणका लागि सवा खर्ब रुपैयाँ लाग्ने देखिएको बताउँदै निगमले तयार पारेको योजना आपूर्ति मन्त्रालयमा पठाइसकिएको जानकारी दिए।निगमले पाँच वर्षभित्र पूर्वधारसहित पेट्रोलियम पदार्थ भण्डारण गरिसक्ने लक्ष्य लिएको छ।

उनले २०७८भित्र पूर्वाधार निर्माणसक्ने लक्ष्यसहितो कार्ययोजना मन्त्रालयलार्इ पेश गरिसकेको बताउँदै सरकारले ग्रीन सिग्नल दिए तत्काल काम अघि बढाउनसक्ने बताए।

 
निगमले काठमाडौं, चितवन,झापा,सर्लाही,तनहुँ, रुपन्देही र चौरजहारीमा भण्डारण बनाउनेछ।निगमले खाना पकाउने ग्यासको समेत भण्डारण बनाउनेछ।
 
पूर्वाधार निर्माणका लागि आवश्यक जग्गाको लागि मात्रै ६ अर्ब रुपैंयाँ लाग्नेछ।सात विकास क्षेत्रमा भण्डारण निर्माण भएमा पाँच लाख ३० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिन्छ।अहिले ७१ हजार किलोलिटर मात्रै भण्डारण क्षमता छ।
 
पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा खरीदको काम भने निगमले अघि बढाइसकेको छ।निगमले सातै प्रदेशमा पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा खरीदका लागि टेण्डर आब्हान गरिसकेको छ।

निगमका प्रवक्ता भानुभक्त खनालका अनुसार चितवनको लोथरमा २० विघा जग्गा किन्ने टुंगो भइसकेको छ।उनले अरु क्षेत्रबाट समेत जग्गाको मूल्यसहितको प्रस्ताव आएको बताउँदै मूल्य र जग्गा हेरेर निर्णयमा पुगिने बताए।निगमका अनुसार पेट्रोलियम पदार्थको भण्डारको पूर्वाधार निर्माणका लागि २० अर्ब र ग्यासको भण्डारण निर्माणका लागि ३० अर्ब रुपैयाँ लाग्नेछ।

निगमले तीन महिनालार्इ धान्ने पेट्रोलियम पदार्थका लागि ७८ अर्ब रुपैयाँ लाग्ने जनाएको छ।निगमले प्रस्ताव गरेको यो योजनाका लागि आवश्यक रकम वार्षिक मुनाफाको १० देखि १५ प्रतिशत पूर्वाधारमा छुट्याएमा सकिने उल्लेख छ।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर नाफा गएकोले केही रकम निगमले समेत जुटाउने अवस्था छ।भट्टरार्इका अनुसार मूल्य अहिलेकै अवस्थामा रहेमा स्वचालित मूल्य प्रणालीमा गएर पूर्वाधार निर्माणलार्इ अघि बढाउन सकिन्छ।