हराए ‘प्लटिङ’व्यवसायी, ऋण लिएर कारोबार गर्नेहरु मूल्य घटाएर बेच्दै

बिजमाण्डू
२०७३ फागुन ८ गते १५:१२ | Feb 19, 2017
हराए ‘प्लटिङ’व्यवसायी, ऋण लिएर कारोबार गर्नेहरु मूल्य घटाएर बेच्दै
काठमाडौं। माघ १५ सम्म चक्रपथ बाहिर जाँदा डाँडाको छेउछाउ जताततै डोजर चलेको देखिन्थ्यो। 
 
दुई लाख रुपैयाँ प्रति आनामा किनेको जग्गा डोजर लगाएपछि छ लाख रुपैयाँ पुग्छ भन्दै प्लटिङ गर्न व्यवसायीको होडनै चलेको थियो।
 
एक महिनामै दृश्य पुरै बदलिएको छ। डोजर लगाएर प्लटिङ थालेका व्यवसायी मध्ये अहिले धेरैजसो सम्पर्कबिहिन छन्। न कतै डोजर नै चलेका छन्। आधा खनेको जमिन समेत त्यत्तिकै छोडेर प्लटिङवाला हिँडेका छन्।

Tata
GBIME
Nepal Life


 

आलापोट काठमाडौंका दीनानाथ फुँयालको मोवाईलमा व्यवसायीको फोन नआएको महिना दिन नाघेको छ। प्लटिङ गरेको जग्गा मुनी आफ्नै बारीमा भेटिएका फुँयालले भने- 'यो जग्गा पनि प्लटिङ गर्न दिनुपर्यो भनेर हैरान पारेका थिए, मैले दिन मानिँन।’ छिमेकी भाईहरुले भने वैना बुझेर डोजर लगाउन दिएको र अहिले बाँकी पैसा नतिरेर हैरान परेका उनले बताए। ‘बाँकी पैसा देउ र जग्गा पास गर भन्दा पलटिङ गर्नेहरु भाका राखेर पन्छीरहेका छन्, उनले भने- एक महिना देखि भेटै गरेका छैनन्।'
 

BIZMANDU ARCHIVE: जीवन-गुजारा लगानी, आली-शहर र अर्को संकटको सँघारमा घर-जग्गा बजार, रामेश्वर खनालको विश्लेषण

बर्मखेल काठमाडौंका राजाराम श्रेष्ठको पसल अगाडी पनि प्लटिङ गरेका घडेरी छन्। 'प्लटिङ गर्नेहरुलाई बैंकले पैसा नदिने कुरा थाहा थियोकी के हो, उनले भने- फटाफट एक महिनामा काम सकेर जग्गा बेचे।’ त्यहाँको जग्गा नाफा कमाउने हेतुले जोरपाटी तिरका मान्छेले किनेको र अहिले बेच्नलाई छटपटाउन थालेका उनी बताउँछन्। ‘उनीहरु जति छटपटाए पनि किन्ने मान्छे नै छैनन्, उनले भने।
 
अहिले आफ्नो मोवाइलमा जग्गा किन्नेको फोन आउन छोडेर र बेच्नेको मात्र आउने  गरेको उनी बताउँछन्। 
 
२०७३ को सुरु देखि काठमाडौँमा तिब्र बनेको जग्गा प्लटिङ र वैना कारोबार अन्ततः बैंकिङ क्षेत्रको पछिल्लो ‘क्रेडिट क्रन्च’सँगै ठप्प बनेको छ। पछिल्लो समय उपत्यकामा जग्गाको बर्षेनी एक लाख वटाभन्दा धेरै कारोबार भइ रहेको थियो। त्यसमा एउटै जग्गा ५/६ पटकसम्म पनि किनबेच भएको थियो।
बैंकले कडाई गरेसँगै पहिलो मार तिनै व्यवसायीलाई पर्यो, जसले चक्रपथ भित्र बसेर बाहिर डाँडाकाँडाको जग्गा किनेर प्लटिङ गर्न थाले। यति बेला प्राय सबै घरजग्गा व्यवसायीको एउटै ध्याउन्न छ- लगानी कसरी निकाल्ने होला ?
 
बैंकबाट ओभरड्राफ्ट लिएर प्लटिङ गर्नेहरुलाई अहिले सबैभन्दा धेरै तनाव भएको छ। बैंकले ऋण तीर्न ताकेता गरिरहेको छ भने वैना दिएर डोजर लगाउन थालेको जग्गाधनीले पैसा तीर्न आउन भनि रहेका छन्। वैनामा जग्गा कारोबार गर्दै आएका व्यवसायी यो ‘चक्रब्युह’बाट निस्कने उपाय खोजि रहे पनि फेला पारेका छैनन्।

 
बिक्नै छाड्यो जग्गा
कीर्तिपुरका श्याम थापाले भत्केपाटीमा जग्गा प्लटिङ गरेका छन्। नौ वटा घडेरी  प्लटिङ गरेकोमा उनले चार वटाको मात्र वैना पाएका छन्। र, अहिले उनी जग्गा धनी र घडेरी किन्नेको दोहोरो दवावले हैरान छन्।
 
जग्गाधनीलाई वैना दिएर प्लटिङ थालेका उनले सबै घडेरी बिक्छन् र कमाउँला भन्ने सोचेका थिए। तर, चार जना मात्र क्रेता आएपछि उनलाई जग्गा पास गर्न हम्मे हम्मे परेको छ। 
वैना दिएर घडेरी वुकिङ गर्नेले दिनहुँ जग्गा आफ्नो नाममा गरि दिनु पर्यो भनि रहेका छन्। जग्गाधनी पनि छिटो पैसा चुक्ता गरेर पास गर्न भन्दैछन्। तर, उनीसँग पैसा छैन। पास गर्दा चार वटा घडेरीको मात्र पैसा पाउने तर जग्गाधनीलाई नौ वटै घडेरीको रकम चुक्ता गर्नु पर्ने अवस्था आएको उनले बताए।
 
दुईथरीको चेपुवामा परेका थापाले सबैलाई 'केहि दिनमा हुन्छ ढुक्क हुनुस' भन्दै पठाउने गरेका छन्।
 
उनले घडेरी खोजिदिने भनेर दुई जनाबाट दुई वर्ष अगाडी नै पैसा लिएका थिए। यतिन्जेल त्यत्तिकै झुलाएका थापाले दुई महिना अघि अर्काको जग्गालाई वैना दिएर प्लटिङ सुरु गरे। जसको परिणाम न त अहिले उनले प्लटिङ नै पुरा गर्न सके न त जग्गाधनी र क्रेतालाई दिएको बचन नै।
 
साथीसँग मिलेर काम गरेको हुँदा आफुलाई अझै पनि बैंकको डर भने नरहेको उनको दावी छ।  'घडेरी बिक्री नभएर लामो समय सम्म कुर्नु पर्दा भने समस्या होला' उनले भने। 
 
कीर्तिपुर भत्केपाटीका हरि केसी एक महिना अघि जाँदा जग्गा प्लटिङ गराईरहेका थिए। अहिले भने उनको जग्गा सुनसान भइसकेको छ। केसीले भने- 'मैले सबै जग्गा अर्को प्लटिङ कर्तालाई बेचीसके, उसले किन काम अगाडी बढाएन थाहा भएन।'


 

कतिपय व्यवसायी भने बैंक ऋण तिर्न जग्गाको मूल्य घटाएर समेत बेच्न थालेका छन्। भक्तपुर चाँगुनारायणका फुर्साङ लामा ५ रोपनी भन्दा बढी जमिन एकमुस्ट बेच्न खोज्दैछन्। उनले जग्गा बेच्नुको कारण अरु नभएर बैंकले ऋण तीर्न ताकेता गर्नु नै हो।
 
'जग्गा लिलाम हुनु भन्दा बेचेर अलिकति आफुलाई पनि व्यापार गर्ने पैसा बचोस भन्ने चाहेको हो, लामा भन्छन्- त्यसैले सस्तोमा भए पनि बेच्न खोजेको छु।' वरी परि चलेको मूल्य भन्दा आधामै बेचेर भए पनि बैंक ऋणबाट मुक्ति चाहेको उनले बताए। कारोबार उच्च हुँदा आनाको चार लाखमा नदिएको जग्गा अहिले साढे दुई लाखसम्म आए नामसारी गरिदिने उनी बताउँछन्।
 
कारोबार निकै सुस्त
पुष देखिनै ओरालो लागेको जग्गा कारोबार माघमा सुस्त भइ सकेको थियो।  उपत्यकाका सबै जसो मालपोत कार्यलयले लक्ष्य भन्दा थोरै राजश्व उठाएका छन्। यहि गतिमा कारोबार भए फागुन महिनामा अझ धेरै राजश्व गुम्ने मालपोत कार्यलय शाँखुका प्रमुख किरणकुमार भट्टराई बताउँछन्।
 
सबै भन्दा धेरै राजश्व उठाउनेमा डिल्लीबजार मालपोत कार्यलय पर्छ। उसको पनि राजश्व एकै महिनामा ८ करोड रुपैयाँले घटेको छ। यस्तै ललितपुर मालपोत कार्यालयको राजश्व पनि पुषको तुलनामा माघमा ४ करोड रुपैयाँले घटेको छ।