मेघौली सराइ लज विश्वका उत्कृष्ट होटलको सूचीमा, विश्वका ३१ देशका ४४ होटल छनौंट

बिजमाण्डू
२०७३ फागुन ७ गते १७:२८ | Feb 18, 2017
काठमाडौं। अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लजलाई विश्वको उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ ।

Tata
GBIME
Nepal Life

पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनको रुपमा रहेको सो पत्रिकाले हरेक वर्ष प्रकाशन गर्ने सूचीको यसपालिको संस्करण ‘२०१७ इट लिष्ट’ मा मेघौली सराइलाई समावेश गरेको हो । 


चौधरी ग्रुपद्वारा सञ्चालित मेघौली सराइको व्यवस्थापन विश्वस्तरीय ताज होटल्स समूहले गरिरहेको छ ।विश्वका ६ महाद्वीपका ३१ देशबाट ४४ होटललाई छनौट गरिएकोमा नेपालबाट एकमात्र होटल मेघौली सराइ पनि परेको हो ।


‘यो वर्षको प्रतिस्पर्धा विगतको भन्दा वास्तवमै उच्चस्तरको रहेको थियो ।’ पत्रिकाले भनेको छ — ‘यी ४४ होटलहरुले विभिन्न क्षेत्रमा विशिष्टता प्रदर्शन गरेका छन् । कसैको डिजाइन उत्कृष्ट छ भने कसैले खानाको उत्कृष्टतामा बाजी मारेका छन् ।’चौधरी समूका कार्यकारी निर्देशक राहुल चौधरीले सम्मानले विश्वमानचित्रमा नेपाललाई चिनाउन सहयोग पुर्याएको बताए।


‘हाम्रो लागि यो महत्वपूर्ण सम्मान हो, जसका लागि हामी कृतज्ञ छौं । यसले सिजी र नेपाललाई उत्कृष्ट हस्पिट्यालिटी सेवामार्फत विश्व मानचित्रमा स्थापित गराउन सहयोग गरेको छ ।’ चौधरीले भने,  ‘सिजी होटल्स एण्ड रिसोट्र्स विशिष्ट होटलहरु माल्दिभ्स, श्रीलंका, दुवई, फिलिपिन्स, चीन, इन्डोनेशिया, न्यूयोर्कलगायतका स्थानहरुमा रहेका छन् । ताजसँगको साझेदारी हाम्रा लागि विशेष महत्वको छ र मेघौली सराइसहित नेपाल तथा भारतमा हाम्रा पाँच ताज सफारी लजहरु रहेका छन् ।’ 


मेघौली सराइ युनेस्को विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको छ । यहाँ आउने पाहुनाले अनुपम जैविक र वनस्पतीय विविधताको आनन्द लिन पाउँछन् । दुर्लभ एकसिँगे गैंडा, बंगाल टाइगर र घडियाल गोहीको संरक्षणका लागि यो निकुञ्ज परिचित छ । निकुञ्जभित्र ६८ प्रजातिका स्तनधारी जन्तु, ५४४ प्रजातिका चरा, १२६ प्रजातिका माछा लगायतको जैविक विविधता रहेको छ ।