बहुराष्ट्रिय कम्पनीलार्इ पछि पार्दै स्वदेशी साबुन उद्योग, नाङगो साबुनको व्यापार किन चम्कियो?

बिजमाण्डू
२०७३ फागुन ७ गते १५:०४ | Feb 18, 2017
बहुराष्ट्रिय कम्पनीलार्इ पछि पार्दै स्वदेशी साबुन उद्योग, नाङगो साबुनको व्यापार किन चम्कियो?
काठमाडौं।एक महिनाअघि संचारमाध्यममा नाङगो (खोल नभएको) साबुनमा जनावरको बोसो मिसाइएको भन्दै वेनामी विज्ञापनले बजार ततायो।

Tata
GBIME
Nepal Life

वेनामी (कुनै कम्पनी वा संस्थाको नाम नभएको) विज्ञापन विरुद्ध स्वदेशी उद्योगीहरु एकजुट भएर नेपाल गुणस्तर तथा नापतौल विभागमा नाङगो साबुन परीक्षण गर्न नमूना दिए। नमूना परीक्षणमा नाङगो साबुनमा जनावरको बोसो नभएको प्रमाणित गर्दै विभागले अमूक कम्पनीबाट भ्रम सिर्जना गर्न विज्ञापन गरिएको निष्कर्ष निकाल्यो।

विभागले भ्रम सिर्जना गर्ने कम्पनीलार्इ उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार कारवाहीका लागि आपूर्ति व्यवस्थापन विभागमा समेत पत्र लेख्यो।नाङगो साबुन विरुद्ध भ्रमपूर्ण विज्ञापनको एउटै कारण थियो, यसको लोकप्रियता।

नाङगो साबुनको बिक्रीले खोल भएको बहुराष्ट्रिय कम्पनीसम्मको टाउँको दुखार्इ भएको छ।विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नाङगो साबुनमा जनावरको बोसो नरहेको जनाउँदै नाङगो साबुनको लोकप्रियता देखेर अमूक कम्पनीले भ्रमपूर्ण विज्ञापन गरेको बताए।उनका अनुसार नाङगो साबुन कडा(ट्युवेल,बोरिङ)पानीमा समेत फिँज आउने भएकोले लोकप्रियता बढ्दो क्रममा रहेको छ।
 

बजारमा अहिले लुगा धुने साबुन खोज्नु भयो भने एउटै मात्र खोल भएको साबुन पाईन्छ 'ह्वील ओके'।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले 'ह्वील ओके' साबुन उत्पादन गर्दै आएको छ।कुनै समयमा खोलमा सुसज्जित भएर आउने पूजा साबुन पनि अब ९० प्रतिशत नाङ्गो आउँछ। पूजा साबुनका बिक्री प्रमुख ध्रुब श्रेष्ठ भन्छन् 'समय अनुसार प्रतिस्पर्धा गर्न हामीले पनि नाङगो साबुनको उत्पादन बढायौँ। पहिले ९० प्रतिशत खोल भएको साबुन बेच्थ्यौँ। अब ९० प्रतिशत खोल नभएको साबुन बेच्छौँ।'
 
पहिलो साबुन उद्योग पूजा
नेपालको पहिलो साबुन उद्योग पूजा हो। २०३२ सालमा उद्योग स्थापना हुँदा तत्कालिन राजा विरेन्द्रले साबुन आयातमा रोक लगाएर स्वदेशी उत्पादनलाई सहयोग गरेको श्रेष्ठले बताए।

सुरुवाती दिनमा लुगा धुने साबुन लठ्ठी आकारमा आउँथ्यो। पसलेले त्यसलाई काटेर बेच्थे। त्यसो गर्दा आफ्नो मानिसलाई धेरै र कसैलाई थोरै पनि दिन्थे। त्यो बेला खोल भएको साबुननै ग्राहकलाई सजिलो लाग्यो र ९० प्रतिशत साबुन खोलमै बिक्री भयो। 
 

२०६४ पछि खोल विनाको साबुन
हिमगिरी साबुन उद्योगका बिक्री विभाग प्रमुख आनन्द परावरा भन्छन् 'समयको माग सधै एकै हुँदैन, हामीले २०६४सालमा नाङगो साबुनको योजना अघि सार्यौ। सुरुवातको दुर्इ वर्ष खोल भएकै साबुन निकालेको यो उद्योगले खोल सहित प्याक गर्दा सरदर पाँच रुपैयाँ प्रति केजी लागत बढी आउँथ्यो। त्यो प्याकेजिङमा लाग्ने खर्चले गुणस्तर बृद्धि गर्ने योजना ल्याउँदा सफल भएको परावरा बताउँछन्।
 
ओके साबुनले के गर्छ त?
बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालका लागि नेशनल सोपले  'ह्वील ओके' खोल भएको साबुन उत्पादन गर्छ।यही उद्योगका निर्देशक रविभक्त श्रेष्ठले ह्वील ओके साबुन उपभोक्ताको पहिलो रोजार्इ भएको बताउँछन्। 


 उनले समय अनुसार नियमित गुणस्तरमा एकरुपता ल्याएर उत्पादन बजारमा ल्याईरहेकोले खोल हुनु र नहुनुमा फरक नपर्ने दाबी गरे। ओके साबुनको बजार हिस्सा हिजो र आज पनि उस्तै रहेको श्रेष्ठको दाबी छ।
 

नेपालमा प्रति माहिना ३५ सय टन लुगा धुने साबुन खपत हुने गरेको छ। त्यो मध्ये ८ सय टन साबुन पूजाको बिक्री हुने गरेको बिक्री विभाग प्रमुख श्रेष्ठ दाबी गर्छन्। साबुन उद्योग धेरै भए पनि ३/४ उद्योगले मात्रै बजारको ९० प्रतिशत हिस्सा ओगट्ने गरेका छन्।
 
लुगा धुने साबुनमा आत्मनिर्भर 
लुगा धुने साबुन पहिला स्वदेश भन्दा बढी विदेशमा निर्यात हुन्थ्यो। भारत, भुटान र बंगलादेश सम्म पूजा साबुन निर्यात गरेको श्रेष्ठले बताए। उनका अनुसार निर्यात रोकिए पनि लुगाधुने साबुनमा नेपाल आत्मनिर्भर छ।