२० वर्षअघि सार्वजनिक यातायातमा साना सवारी साधन चलाउने निर्णय घातक

बिजमाण्डू
२०७३ फागुन ५ गते १४:५४ | Feb 16, 2017
२० वर्षअघि सार्वजनिक यातायातमा साना सवारी साधन चलाउने निर्णय घातक
काठमाडौं।बीस वर्षअघि सार्वजनिक यातायातमा साना सवारी साधन चलाउने निर्णय घातक भएको निष्कर्ष निकाल्दै सरकारले ठूलो सवारी साधन संचालनमा ल्याउन नीतिगत व्यवस्था गरेको छ।

Tata
GBIME
Nepal Life


साना सवारी साधनका कारण दुर्घटना बढेको, ट्राफिक व्यवस्थापन चुनौती थपिएको र यात्रा समेत कष्टकर भएको निष्कर्ष निकाल्दै साना सवारी साधन हटाउन सरकारले नीतिगत व्यवस्था गरेको हो।


बीस वर्षअघि कुनै योजनाविनानै साना सवारी साधन माइक्रोबस, जीप, टेम्पो र मिनीबस सार्वजनिक यातायातका निर्विकल्प साधन बने।यो व्यवस्थासँगै ठूला सवारी साधनको विकल्पमा उपत्यका लगायतका मुलुकका विभिन्न स्थानमा माइक्रोबस लगायत संचालन भए।तर यो सवारी साधनले उपत्यकामा ट्राफिक व्यवस्थापनमा चुनौती थप्यो भने उपत्यका बाहिर दुर्घटनाका धेरै बढायो।


'सार्वजनिक यातायातमा साना सवारी साधन चलाउनुअघि कुनै अध्ययन भएको थिएन।अध्ययनविना साना सवारी साधन संचालन भयो,यातायात व्यवस्था विभागका प्रवक्ता डा‍‍‍ ‍टोकराज पाण्डेले बिजमाण्डूसँग भने,तर यसले बढ्दो दुर्घटना, ट्राफिक व्यवस्थापनमा कठिनार्इ र यात्रा समेत कष्टकर बन्न थालेपछि साना सवारी साधन विस्थापित गर्ने नीति सरकारले लिएको हो।'

पछिल्लो समयमा सरकारले ठूलो सवारी साधन चलाउनेलार्इ असिमित सुविधा दिएको छ।साना सवारी साधनका लागि कुनै सुविधा छैन।चालु आर्थिक वर्षको बजेटमा कम्पनीको रुपमा आएका ४० सिट भन्दा माथिका सवारी साधनलार्इ ९० प्रतिशतसम्म राजस्व छुट पाउने व्यवस्था गरिएको छ।यो व्यवस्थासँगै उपत्यकामा दुर्इवटा कम्पनीले ठूलो बस संचालनमा ल्याइसकेको छ।

महानगर यातायात र मेट्रो सिटी यातायातले उपत्यकामा ठूला सवारी संचालनमा ल्याएका छन्।साझा यातायातले पनि उपत्यका र वाहिर पनि यही छुटका आधारमा सार्वजनिक यातायात संचालनमा ल्याएको छ।अब महानगरपालिका र विभिन्न नगरपालिकाले समेत यही मोडलभित्र रहेर सार्वजनिक यातायात संचालनमा ल्याउँदैछन्।उनका अनुसार यो नीतिगत व्यवस्थाले साना सवारी साधन विस्थापित गर्ने र ठूला सवारी साधन चल्ने वातावरण बनेको छ।

 
विभागका अनुसार अरु व्यवसायीले समेत कम्पनीमा दर्ता भएर ठूला सवारी साधन चलाउने तयारी गरिरहेका छन्।कम्पनीको रुपमा यातायात संचालन गर्दा अनुगमन र राजस्वमा समेत सहज रुपमा पाउने वातावरण तयार हुनेछ।अहिले व्यक्तिगत रुपमा एउटा दुर्इवटा बस किनेर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गतको व्यवसायिक समितिमार्फत सार्वजनिक यातायात संचालनमा आएको छ।

अझ उपत्यकामा साना सवारी साधनलार्इ २०७१ सालदेखिनै निरुत्साहित गरेको छ।विभागका अनुसार २०७१ सालदेखि रिङरोडभित्र साना सवारी साधन संचालनको अनुमति रोकिएको छ।रिङरोडभित्र साना सवारी साधनको दर्ता बन्द भएको छ।
 

कसरी बन्यो यो माहोल?
साना सवारी साधन सबैको टाउको दुखार्इ भएको बेला एसियाली विकास बैंकले काठमाडौं उपत्यका दिगो शहरी यातायात योजना परियोजनाको प्रस्ताव ल्यायो।यो परियोजनाको उदेश्य थियो, उपत्यकाको सवारी साधनको समस्या हटाउन मास ट्रान्सपोर्टेशनमा ठूला सवारी साधन चलाउनुपर्छ।

यो परियोजनाले सरकारले सहर्ष स्वीकार गर्यो।अहिले यो परियोजना अनुसार पहिलो चरणमा गोंगबुदेखि सिनामंगलसम्म साना सवारी साधन हटाउँदैछ।यही वर्ष साना सवारी साधन हटाइसक्ने योजना पूरा नहुने भएपनि विभागले ताकेता भने गरिरहेको छ।प्रवक्ता पाण्डे व्यवसायीहरु ठूला सवारी साधन चलाउन तयार रहेको बताउँदै उनीहरुले केही सहुलियत मात्रै खोजेको बताए।
 

व्यवसायी पनि तयार
साना सवारी साधन हटाउन यातायात व्यवसायी समेत तयार छन्।तर साना सवारी साधनका व्यवसायी समिति समेत महासंघमा भएकोले वाहिर आएर भन्न सकेका छैनन्।

महासंघका एक केन्द्रीय सदस्यका अनुसार ठूला सवारी साधन चलाउने विषयमा महासंघका सबै पदाधिकारी एकमत छन्।ती सदस्यका अनुसार साना सवारी हटाउँदा सहुलियत दिने विषयमा सरकारलार्इ लबिङ गर्ने निष्कर्षमा पुगेका छन्।

चालु आर्थिक वर्षको बजेटमा आएको कम्पनी मोडललार्इ तत्काललार्इ थाँती राखेर साना सवारी साधन हुने सबै व्यवसायीलार्इ ९० प्रतिशतसम्मको राजस्व छुट दिनुपर्ने महासंघको अडान छ।महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीको लगानीको उचित मूल्यांकन गरेर मात्रै ठूला सवारी साधन चलाउने वातावरण बन्ने बताए।