‘लगानीका कारण केही बैंक समस्यामा’ गभर्नर नेपालले भने- हामी काँध थापेर जोगाउने पक्षमा छैनौं

बिजमाण्डू
२०७३ फागुन ४ गते १८:२० | Feb 15, 2017
‘लगानीका कारण केही बैंक समस्यामा’ गभर्नर नेपालले भने- हामी काँध थापेर जोगाउने पक्षमा छैनौं


काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले 'बिजिनेस प्लान' भन्दा फरक गएर लगानी गर्दा अहिले बैंकिङ क्षेत्रमा समस्या देखिएको बताएका छन्। बैंकहरुले उच्च नाफाका लागि योजनाभन्दा फरक ढंगले चल्दा समस्या आएकाले तत्काल त्यसलाई सुधार्न निर्देशनसमेत दिए।

Tata
GBIME
Nepal Life

'तत्काल गल्तिहरु सुधार्नुस्। सीमाभित्र बसेर लगानी गर्नुस्' डा. नेपालले भने, 'तपाईहरु सुध्रिनु हुन्न भने राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुने छ। तपाईहरुसँग सुध्रिनका लागि समय धेरै कम छ।'

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यलय उद्घाटन गर्दै डा. नेपालले बैंकहरुले गर्ने दैनिक लगानी र ब्याज दर निर्धारणलाई राष्ट्र बैंकले नजिकबाट हेरिरहेको बताउँदै सक्दो घटाउन निर्देशन दिए।

'ब्याज दर निर्धारण र लगानी नीतिमा हामी कठोर हुनु नपरोस् भन्ने चाहिरहेका छौं' उनले भने, 'तपाईहरुलाई अब धेरै कुरा के भनौं, सबै बुझ्नु भएकै छ। चाँडो आफूलाई सुधार्नुहोस्।'

गभर्नर नेपालले आक्रमक लगानीका कारण केही बैंकहरुमा समस्या देखिएको भन्दै लगानीकै कारण समस्यामा गए राष्ट्र बैंकले काँध नथाप्नेसमेत बताए। भने- अप्ठेरोमा पर्नु भयो भने हामी जोगाउन सक्दैनौं।

गभर्नर नेपालले देशको आर्थिक अवस्था एकदमै सुदृढ देखिए पनि बैंकिङ तर्फको लगानीका कारण केही समस्याहरु आएको बताए। उनले  आर्थिक वृद्धि दर साढे ६ प्रतिशतकै हाराहारीमा हुने, मूल्य बृद्धि दर पनि साढे सात प्रतिशतको लक्ष्यभित्रै समेटिने र शोधनान्तर बचत पनि ४६ अर्ब रुपैयाँ हाराहारी रहने भन्दै विदेशी मुद्रा सञ्चिति १०४८ अर्ब रुपैयाँमा रहने बताए।

'देशको आर्थिक अवस्था सवल छ' उनले भने, 'बैंकहरु लगानीमा केही आक्रमक हुँदा समस्या देखिएको छ।' उनले माघ १३ देखि २७ को बीचमा बैंकहरुले ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बताए।