‘डिग्री होल्डर’ सिकन्दर, जो कपाल काटेरै मासिक एक लाख कमाउँछन्

सविन ढकाल/बिजमाण्डू
२०७३ माघ २९ गते १७:३२ | Feb 11, 2017
‘डिग्री होल्डर’ सिकन्दर, जो कपाल काटेरै मासिक एक लाख कमाउँछन्
काठमाडौं। राजधानीको कालोपुलमा छ एउटा पेट्रोल पम्प। त्यसको भित्रपट्टि छिरेपछि भेटिन्छ सानो सैलुन। जसको बोर्डमा लेखिएको छ- हाम्रो सैलुन।
 

दुई-तीन वटा कुर्सी, कपाल काट्न आवश्यक केही सामग्री बाहेक कुनै झकिझकाउ सजावट देखिन्न। यही सैलुनमा बिहानदेखि बेलुकासम्म कैंची चलाइरहेका हुन्छन्,  सिकन्दरकुमार ठाकुर। आफ्नै लगानीमा खोलिएको सैलुनमा उनले कामदार राखेका छैनन्। आफैंलाई दिनभर भ्याइनभ्याई हुन्छ। कपाल काट्नेको चाप हरेक दिन उस्तै देख्न सकिन्छ।
 

यही सानो व्यवसायबाट उनले कति आम्दानी गर्लान्?
 

सिकन्दर ढुक्कसाथ भन्छन्, 'सबै खर्च कटाएर मासिक एक लाख रुपैयाँ कमाउँछु।'
 
***
नेपालबाट दिनहुँ करिब १६ सय युवा सपनाको पोको बोकेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिन्छन्। देशका काम पाइएन वा चित्तबुझ्दो काम भएन भन्दै राहदानी बनाउनेको लाइन उत्तिकै छ। वैदेशिक रोजगारमा जानुअघि म्यानपावरबाट ठगिएका घटना समाचारमा आइरहेका छन्। शिक्षित वा बेरोजगार युवाहरुको रोजाइ विदेश बनिरहेको छ।
 

पछिल्लो समय नेपाली युवाहरुमा विदेश-मोह बढेको छ। केही पढेपछि 'राम्रो काम' गर्नुपर्छ या अमेरिका, क्यानडा, अस्ट्रेलिया वा युरोपियन देश जानुपर्छ भन्ने सोचले युवाहरु ग्रस्त छन्।
 
तपाईंलाई आश्चर्य लाग्न सक्छ- काठमाडौंकै गल्लीभित्र सैलुन खोलेर दिनभर अरुकै टाउकोमाथि कैंची चलाइरहने सिकन्दर 'डिग्री होल्डर' हुन्। उनले शंकरदेव कलेजबाट  स्नातकोत्तर पूरा गरेको धेरै भएको छैन।
 
श्रमप्रतिको विश्वास र सम्मानकै कारण उनी यही पेसामा रमाइरहेका छन्। उनका लागि यो ठूलो पेसा हो। 'विदेश गएको भए परिवारसँग टाढिनुको पीडा एकातिर हुन्थ्यो,' उनी भन्छन्, 'कमाइ हुन्थ्यो कि हुँदैनथ्यो, अर्काको देशमा कसरी ढुक्क हुन सकिन्थ्यो र।'
 
२०६२ सालमा सिकन्दरले काठमाडौंको बाग्मती बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरे। एसएलसीको समयमा अरु साथी पढ्नमै व्यस्त भइरहेका बेला उनी भने कपाल काट्न पनि भ्याउँथे। 'एसएलसीको बेलादेखि नै म कपाल काट्ने काम गर्थें। तर राम्रै अंक ल्याएर पास गरेँ,' उनी खुसी हुँदै सुनाउँछन्।
 
एएलसीपछि उनले बाग्मती मोर्डन कलेज ज्वाइन गरे। त्यहीँबाट प्लस टु सिध्याए। स्नातक भर्ना हुनुअघि नै साथीभाइमा लहर नै चल्यो- अब सरकारी जागिर खाने। सिकन्दरलाई साथीहरुले नै उक्साए। त्यही लहैलहैमा लागेर बैंकका लागि उनले पनि आवेदन फाराम बुझाए। नाम निस्किएन तर उनी निराश भएनन्। 'मनबाट नै बैंकमा काम गर्ने रहर थिएन। त्यसैले ननिस्किएको होला भनेर मन बुझाएँ,' किनकि उनीसँग आत्मनिर्भर हुने सिप छँदै थियो।
 
त्यसपछि त उनले सरकारी वा निजी कुनै संस्थामा जागिर खाने सोच नै त्यागिदिए। बरु कपाल काट्ने व्यवसायलाई नै विस्तार गर्ने र पढाइलाई पनि सँगसँगै बढाउने अठोट लिए।
 
त्यही अठोट र साहसले नै उनको व्यवसाय चलायमान छ। उनी खुसी र सन्तुष्ट छन्।
 
आफूले जानेको र सिकेको सिप लागू गर्ने हो भने धेरै युवाले नेपालमै काम पाउने बताउँछन् उनी। सामान्य कुनै युवाले मास्टर्स सकेर सैलुनमै काम गरिरहेको हुन्थ्यो होला? यसमा उनको जवाफ छ, 'विदेशमा गएर राम्रो काम मात्रै पाइन्छ भन्ने छैन। अरुको जुठो भाँडा माझ्नुभन्दा स्वदेशमै आफूले जानेको काम गर्न सक्ने थुप्रै ठाउँ छन्।'
 
त्यही थुप्रै ठाउँ र क्षेत्र मध्येको सैलुन व्यवसायमा लागेका सिकन्दर यसकारण पनि खुसी छन् कि उनले घरपरिवारलाई समय दिन पाएका छन्।
 
नेपालमा काम छैन भनेर निराश हुँदै विदेश ताक्ने युवाहरुका लागि प्रेरक बनेका छन् सिकन्दर। 'मैले धेरै पढेको छु सानो काम गर्दिन भन्नेले कहिले प्रगति गर्न सक्दैन,' उनको मूलमन्त्र नै छ, 'काम आफैंमा सानो वा ठूलो हुँदैन। त्यो त मान्छेले सोच्ने तरिका हो। काममा इन्जोय लिने र सम्मानको नजरले हेर्ने हो भने स्वदेशमै काम गरेर मजाले बस्न सकिन्छ।'

Tata
GBIME
Nepal Life