टेलिकमको फोरजी एप्पलका सबै सेटमा चल्न थाल्यो, कसरी प्रयोग गर्ने? तरिका सहित

बिजमाण्डू
२०७३ माघ २५ गते १८:२९ | Feb 7, 2017

काठमाडौं। नेपाल टेलिकमले आइफोनमा पनि फोरजी चल्ने बनाएको छ। मंगलबारदेखि सबै सिरिजका आइफोन सेटमा फोरजी चलाउन मिल्ने भएको टेलिकमले जनाएको छ।

Tata
GBIME
Nepal Life

यसअघि आइफोन ५ सिरिजका सेटहरुमा मात्र फोरजी प्रयोग गर्न सकिन्थ्यो भने मंगलबारदेखि आइफोन ६, ६ प्लस, सेभेन र सेभेन प्लस सिरिजका सेटहरुमा पनि फोरजी एलटिई सेवा प्रयोग गर्न सकिने भएको हो।

टेलिकमले फोरजी सेवा सुचारु हुनुभन्दा अगाडि नै एप्पलका मोवाइलहरुमा चल्ने व्यवस्था गर्न आग्रह गरेपनि मार्च महिनादेखिमात्र चल्ने जानकारी दिएको थियो। तर टेलिकमको निरन्तर प्रयासमा चाँडैनै प्रयोगमा अाउन सकेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्।

एप्पलले टेलिकम प्रयोगकर्ताकालागि वेटा भर्सन रिलिज गरेर फोरजी एलटिई प्रयोग गर्ने व्यवस्था गरिदिएको टेलिकमले जनाएको छ।

टेलिकमले गत पुष १७ गतेदेखि नेपालमा पहिलोपटक फोरजी सेवा सुचारु गरेको थियो। सुरुमा पोष्टपेड ग्राहककालागि उपलब्ध यो सेवा माघ २२ गतेदेखि प्रिपेड ग्राहकका लागि पनि खुलिसकेको छ। हाल यो सेवा काठमाडौं र पोखराका ग्राहकले मात्र प्रयोग गर्न सक्छन्।

आइफोनमा कसरी चलाउने फोरजी
आइफोन ६, ६ प्लस, सेभेन र सेभेन प्लस तथा एसई प्रयोगकर्ताले मोबाइल सेटमा फोरजी चलाउनका लागि एप्पलको वेवसाइटमा (https://beta.apple.com/)  गएर एप्पल आइडि 'साइन-इन' गर्नुपर्छ। त्यसपछि फोनको व्याकअप लिएर प्रोफाइल 'डाउनलोड' गर्नुपर्छ। त्यसपछि मोबाइलको जेनेरलमा जाने – सेटिङमा जाने –  सफ्टवेयर अपडेटमा गएर वेटा भर्सन डाउनलोड गरेर फोरजी चलाउन सकिने टेलिकमले जनाएको छ। झन्झटिलो प्रक्रिया भएका कारण प्रयोगकर्ताले सजिलै यो सेवा लिनेमा भने शंका रहेको छ।