बैंकले ऋण नपत्याउँदा उद्यम गर्न खोज्ने युवाको बाटो के? उपाय यस्तो छ

बिजमाण्डू
२०७३ माघ २५ गते ०९:२३ | Feb 7, 2017
बैंकले ऋण नपत्याउँदा उद्यम गर्न खोज्ने युवाको बाटो के? उपाय यस्तो छ
नेपालले सन् २०२२ भित्र अति कम बिकसित मुलुकको सूचीबाट स्तरोन्नति भई सन् २०३० सम्ममा मध्यम आय भएका मुलुक भित्र सामेल हुने लक्ष्य लिएको छ। उक्त महत्वाकांक्षी लक्ष्य आत्मसात गर्न नेपालले तिव्र आर्थिक बिकासमाजोड दिनु पर्ने हुन्छ। जसका लागी सरकार मात्र होइन, नागरिकतहबाट पनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आवश्यक छ। यसको लागि युवा उद्यमी हरुलाई पूँजी को मुख्य स्रोत बैंकीङ प्रणालीमा सहज पहुँच पुर्याउनु पर्छ |

Tata
GBIME
Nepal Life

तिव्र आर्थिक बिकासको अनुभुती गर्न, नेपालले युवाहरुमा लगानी गर्नुको साथै युवा उद्यमीलाई प्रोत्साहन गर्न आवश्यक छ। किनभने उत्पादनमुलक क्षेत्रमा युवाहरुलाई नसमेटुन्जेल मुलुकले दीगो आर्थिक विकास हासिल गर्न सक्दैन। युवा सहभागिताले कुल ग्राहस्त उत्पादन (जीडीपी)बृद्धि र  बेरोजगारी घटाउन ठूलो मद्दत पुर्याउनेछ।

एक सफल उद्यमीले आफ्नो मात्र उन्नती गर्दैन। अर्थव्यवस्थामा नै व्यवसायीक सफलताको एक श्रृंखला निर्माण गर्न सक्छ। त्यसैले एक सफल उद्यमी उत्पादन हुँदा पृष्ठभूमीमा अन्य धेरै ब्यक्तिको जीवन पनि स्तरोन्नती भइ रहेको हुन्छ। महत्त्वपूर्ण कुरा, उद्यमीले श्रृजनशीलता र बजारमा रोजगारीको अवसर प्रदान गरी मुलुकको अर्थतन्त्रलाई डोहोर्याएको त हुन्छ नै सामाजिक जीवनशैली सुधारमा पनि ठूलो योगदान दिन्छ।

अर्थतन्त्रमा उद्यमीले पार्ने आर्थिक र सामाजिक प्रभाव अनुभव गर्दा अहिले नेपालमा उद्यशीलता बिकासका लागी लगानी गर्ने उपयुक्त समय हो। 

हामीले अक्सर सुन्ने/देख्ने गरेका छौं, धेरै मानिसहरुउद्यमी बन्न चाहन्छन्। यसका दुई कारण छन्- एक मालिक बन्न र अर्को आफ्नो लक्ष्य पछ्याउन।
तर, नेपालमा श्रोत व्यवस्थापनको कठिनाईले मालिक बन्न सहज छैन। किनभने यहाँ उद्यमीका लागी धेरै समस्याहरु छन्। सकारले 'युवा स्व-रोजगार कोष' मार्फत उद्यमशीलताको विकास गर्न एक अर्ब रुपैयाँको फण्ड तयार गरे पनि, तथ्य हेर्दा त्यस अनुरुप उद्यशीलता विकास हुन सकेको छैन। उद्यमी बन्ने चाहनाले व्यवसाय सुरु गरेकाहरु अनेक प्रयासमा पनि सरकारी सहयोग पाउन नसकेको गुनासो सुनाउँछन्।


एसपिभीको प्रस्तावित मोडेल

अध्यनले देखाएको छ- पूँजीसम्म सहज पहुँच नहुनुनै उद्यमशीलताको प्रमुख वाधक हो। नेपालमा व्यवसाय सुरुवात गर्छु भन्ने युवालाई लगानी गर्दा बैंकले कर्जा जोखिम ठान्छन्। नेपालमा बैंकले व्यावसायिक योजना, सम्भावना र व्यवसाय बाटै आर्जन गरेर सावाँ ब्याज तिर्न सक्ने आधार प्रस्तुत गर्दा पनि बिना धितो ऋण लगानी गर्न मान्दैनन्।

धितो नै उनीहरुको पहिलो सर्त हुने गरेको छ। पर्याप्त धितो नभएका कारण राम्रो उद्यमको योजना भए पनि कर्जा पाउन कठिन हुन्छ। यहि कारण धेरै नव उद्यमीहरु व्यवसाय गर्ने आफ्ना योजना थाति राख्न बाध्य छन्।

बिना धितो कर्जा लगानी गर्दा बचतकर्ताको निक्षेप जोखिममा पर्ने बताइँदै आएको छ। परियोजनाको संभाव्यता अध्ययन गरेर ऋण लगानीका लागि विश्वसनीय संयन्त्र र दक्ष जनशक्तिको अभाव छ।

बैंकले कुनै व्यवसाय सुरुवातका लागि लगानी गर्न चाहे पनि व्यवसायिक सम्भाव्यता अध्ययनमा धेरै समय दिन सक्दैनन्। व्यवसायिक सम्भाव्यता र जोखिम बिश्लेषणमा धेरै समय दिँदा आफ्नो मुख्य कारोबारबाट बिमुख हुनसक्ने डर बैंकले पाल्ने गरेका छन्।

एका तर्फ नव उद्यमीहरु कर्जाको खोजीमा हुन्छन् भने अर्को तर्फ वित्तीय संस्थाहरु बचत परिचालन गरी उत्पादनमुलक क्षेत्रमा राम्रो लगानीको अवसर चाहि रहेका हुन्छन। तर, यस्तो अवस्थामा ‘उद्यमीलाई बिना धितो कर्जा लगानी गर्नु बैंकिंग नियम बिरुद्ध हो र उद्यमीको असफलता बचत कर्ताले वहन गर्न सक्दैनन्’ भन्ने मान्यताले प्रधानता पाएको हुन्छ।

यी सबै परिदृश्यका बीच बैंक, वित्तीय संस्था, निजी कम्पनी, भेन्चर क्यापिटल आदीले धितो नभएका तर रचनात्मक उत्पादनमुलक योजनाहरुमा लगानी गर्ने अवसर सिर्जना गर्न सक्छन्। यस्ता अवसरलाई स्पेसल पर्पोज भेईकल (एसपिभी) भनिन्छ।

यस्तो अभ्यास अन्तराष्ट्रिय क्षेत्रमा प्रचलित छ, जसले व्यवसाय बिश्लेषण र विभिन्न स्रोतबाट लगानी जुटाउन सहयोग गर्छन्। हाम्रो जस्तो मुलुकमा यस्तो अभ्यास झनै सान्दर्भिक छ|

नेपालमा एसपिभीले अहिलेसम्म औपचारिक प्रवेश पाएको छैन। यसबारे नीति र कानुन बनाउन सुरुवाती अवस्थामा उद्योग बिभाग, साना तथा मझौला उद्योग बिभाग, नेपाल राष्ट्र बैंक , भेन्चर क्यापिटल सञ्चालक र उद्योगका बिज्ञले संयुक्त रुपमा काम गर्न सक्छन।

बैंङ्किङ क्षेत्रले बिना धितो कर्जा नदिने र सरकारले पनि उद्यमीलाई पर्याप्त अनुदान दिन नसक्ने अवस्थामा उद्यमशीलता विकासको अचुक उपाय एसपिभी बन्नसक्छ। एसपिभीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर आफ्नो जोखिममा उद्यमीलाई लगानी गर्न सक्नेछ। 

एसपिभीले लगानी मात्रै गर्दैन, समय समयमा उद्यमीलाई मार्गदर्शन र परामर्श पनि दिनेछ। एसपिभीसँग उद्योग (क्षेत्रगत बिज्ञ), वित्तीय विश्लेषक, कानुनी र अन्य व्यवसायीक बिज्ञको समूह  हुन्छ। उनीहरुले प्रतिफल जाचँ गर्न उद्यमीको व्यवसायिक स्वरूपलाई सूक्ष्म अध्ययन गर्छन् र भविष्यमा हुने नगद प्रवाह प्रक्षेपण गर्छन्।  उपयुक्त अध्ययन र बिश्लेषणका आधारमा एसपिभीले उद्यमीलाई कर्जा स्वीकृत गर्नेछ।

साधारणतया, एसपिभीले उदियमान व्यवसाय बिस्तार र बिकासमा सहयोग पुर्याउँछ। यसले उद्यमीलाई सावाँ ब्याज सहित फिर्ता गर्ने गरी व्यवसाय विकासका लागी कर्जाको रुपमा पूँजी उपलब्ध गराउँछ। र, एसपिभीले आफुले गरेको मार्गदर्शन र परामर्श वापत उक्त उद्योगमा निश्चित प्रतिशत स्वामित्व लिनेछ| एसपिभीले व्यापारिक मोडल र यसका बिभिन्न आयामबारे मूल्यांकन गरी बजारमा राम्रो व्यवसायिक सम्भावना र प्रतिफल सुनिश्चित भएका योजना स्वीकृत गर्नेछ। व्यवसायिक मोडलको सम्भाव्यता, सम्पती, दायित्व र लगानीको आधारमा उद्यमीको मुल्यांकन हुनेछ।

यसका अतिरिक्त, एसपिभीले व्यवसायिक मेट्रिक्सको प्रयोग गरि बिक्रि-मुनाफा आँकडा, ग्राहक अधिग्रहण, लागत लगायतको कोशेढुंगा तय गर्छ। उद्यमीले लक्ष्य अनुरुप कार्यसम्पादन गरेमा थप आवश्यक पूँजी प्राप्त गर्न सक्छन्। यदि व्यवसाय असफल भए एसपिभीले कम्पनीको चल-अचल सम्पतीमा अधिकार जमाउन पाउँछ। सबैभन्दा महत्वपुर्ण चाहिँ लगानी गरेको पैसा सदुपयोग भए/नभएको एसपिभीले नजिकबाट निगरानी गरि रहेको हुन्छ। यस्तोमा व्यवसाय असफल हुने डर तुलनात्मक रुपमा न्युन रहन्छ।

एसपिभीको सुशासनका लागी नेपाल राष्ट्र बैंक, उद्योग बिभाग र अन्य सरोकारवाला निकायको समन्वयमा कार्यसञ्चालन नियमावली निर्माण गर्नु पर्छ।
यस्तो संयन्त्रले बैंकको बचतलाई राम्रो प्रतिफल दिने र लगानीको नयाँ क्षेत्र खोज्ने दुबै काम गर्नेछ। बिकसित व्यवसायिक क्षेत्रमा लगानीगर्दा यसले जोखिम घटाउन समेत सहयोग पुर्याउनेछ।

जब उद्यमी एसपिभीमा आउँछन् उनीहरु बैंकिंग नीति, नियम र ढाँचा अनुरुप औपचारिक अर्थतन्त्रमा संचालन हुन थाल्छन्। यसले अनौपचारिक अर्थतन्त्रको न्युनिकरणलाई समेत सहयोग पुर्याउँछ।

नेपालमा साना उद्यमीले अहिलेसम्म सरल कर्जा पाउन सकेका छैनन्। लघुवित्तबाट कर्जा लिएका उद्यमीहरु सिमित पूँजी उपलब्धता कारण आफ्नो व्यवसाय विस्तार गर्न नसकि रहेको हाम्रै समाजमा देखिएको छ। सानो श्रोतले गरेको व्यवसाय जीवननिर्वाहमुखी मात्रै हुन्छ। अहिले लघुवित्तबाट कर्जा लिईरहेका उद्यमीको व्यवसायीक संभावना जाँच गरि एसपिभी मार्फत ऋण उपलब्ध गराउने हो भने उनीहरुले सानो निर्वाहमुखी व्यवसाय पनि बिस्तार गर्न सक्छन् ।

एसपिभीले नव उद्यमीलाई प्रदान गरेको सम्पूर्ण ऋणको निक्षेप तथा कर्जा सुरक्षण कोषमा बिमा गर्नु पर्छ | यसले कर्जामा रहेको जोखिम हस्तान्तरण गर्न सहयोग पुर्याउँछ|

एसपिभी मोडलमा उद्यमीले पूँजी मात्रै प्राप्त नगरेर बिज्ञका सल्लाह सुझाव र हौसला पनि पाउँछन्। आर्थिक बिकासका लागी उद्यमी राष्ट्रका सम्पत्ति हुन्। अन्तर्राष्ट्रिय अभ्यासबाट पनि थाहा हुन्छ उद्यमीमा लगानी गर्नु सार्थक छ र यसैबाट आर्थिक सम्वृद्धि हासिल हुनसक्छ। अहिले सानो आकारमा रहेका र प्रचुर संभावना भएका उद्योगहरुबाट नै यो सपना झनै छिटो साकार पार्न सकिन्छ। तसर्थ नेपालमा गरिबीको चक्र टुटाउन र सन् २०२२ मा नेपालले लिएको लक्ष्य प्राप्त गर्न नयाँ उद्यमीमा लगानी गर्न अब ढिला गर्नु हुँदैन।

(चार्टर्ड एकाउन्टेन्ट पौडेल रियान्डाबिज सर्भका संस्थापक हुन्। उनलाई [email protected] मा सम्पर्क गर्न सकिन्छ।)